June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

माघीमा बिरैलैं हुन्छ ‘ढुम्रा’ नाच

Advertisement

भैरहवा—पश्चिम तराईका थारु समुदायको विशेष पर्व माघीको रौनक सुरु भइसकेको छ । माघी लक्षित मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमको धमाधम तयारी भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले पनि माघ पहिलो साता माघी मनाउने गरेको छ ।

Advertisement

तर, माघीमा नाँचिने परम्परागत नृत्य भने लोप हुन थालेका छन् । एउटा स्थानमा व्यवसायिक ढंगले माघी मनाउने गरिएपछि परम्परागत नाँच नहुँदा थारु बस्ती सुनासान हुने गरेका छन् । पुराना नाँचमा आधुनिकता मिसिएर डिजे र डिस्कोमा परिणत हुने चिन्ता थारु अगुवाले गरिरहेका छन् ।

‘परम्परागत शैलीमै नाँच प्रदर्शन गर्ने चलन हराउँदैं छ,’ लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भने, ‘कति नाँच व्यवस्थापन गर्न सक्ने अवस्था छैन । नाँच जानेका व्यक्ति कम हुँदैं गएका छन् ।’ पुराना थारु नाँच प्रदर्शनकालागि वेषभुषा नै नयाँ तयार गर्नुपर्ने भएकाले खर्चिलो बनेको उनको भनाई छ । तै पनि थारु संस्कृति जोगाउन आफू लागि परेको उनले बताए । थारु समुदायले भुल्न थालेको नृत्य मध्ये माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम रातभर नाचिने ढुम्रा पनि हो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्रा गीत गाउने र नाच्ने गर्थे । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो ।

‘यो हाम्रो संस्कार हो,’ दाङका थारू अगुवा आशाराम चौधरीले भने, ’रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्रा गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो । नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो ।’ महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताउँछन् ।’
पुर्खाहरूले यस्तो चलन अपनाउने गरेको उनले बताए । नयाँ पुस्ताले यो नाँच चटक्कै टाडेको उनले बताए ।

यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको दाङको तुलसीपुर–१८ का फुलाराम चौधरीले बताए । ‘पहिलेपहिले उहाँहरूले यसरी ढुम्रा नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो,’ उनले भने ।

नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरी बताउँछन् । उनका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ । ‘हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागिपरेका छौँ,’ उनले भने ।