June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

‘रूपन्देहीमा औद्योगिक क्रान्ति मेरो सपना हो’ (अन्तर्वार्ता)

Advertisement

चुन्नप्रसाद शर्मा (पौडेल) नेपाली आर्थिक क्षेत्रमा परिचित नाम हो । सफल उद्यमी उनको परिचय यति मात्रै छैन, उनी समाजसेवी र राजनीतिकर्मीका रुपमा समेत परिचित छन् । नेपाली काँग्रेसको तर्फबाट रुपन्देही–२ मा प्रत्यासी रहेका पौडेलले विकास, सुशासन र समुन्नतिको स्पष्ट योजनासहित अगाडि बढेको बताउँछन् । प्रस्तुत छ उनै पौडेलसँग निर्वाचनका विषयमा आधारित रहेर गरिएको कुराकानीको सम्पादित अंशः

Advertisement

तपाईंले रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने बताइरहनु भएको छ, त्यसका आधार के हुन् ?
रुपन्देही–२ भौगोलिक, व्यापारिक र जनशक्तिको दृष्टिले ऐतिहासिक व्यापारिक केन्द्रसहित अन्य ग्रामीण क्षेत्रहरु समेत समेटिएर बनेको धेरै सम्भावनायुक्त क्षेत्र हो । विशेषगरी बुटवल ऐतिहासिक रूपमा व्यापारिक सहरका रूपमा चिनिन्छ । अब यसलाई परम्परागत व्यापारबाट आधुनिक औद्योगिक र प्रविधि–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ । मुलुकको अर्थतन्त्रको आधार औद्योगिक विकास हो । औद्योगिक विकास विना आर्थिक समृद्धि सम्भव छैन । औद्योगिक क्रान्ति गर्न सकियो भने आयातलाई रोक्न सकिन्छ । निर्यात गर्न पनि सकिन्छ । देशभित्रै रोजगारी सिर्जना हुन्छ । युवाजनशक्ति विदेश पलायन हुनु पर्दैन । औद्योगिक क्रान्ति मेरो सपना हो । त्यसकारण शिक्षण सेवा छाडेर व्यवसायमा प्रवेश गरेको हुँ । आफ्नो बलबुताले सकेसम्म देशमै केही गर्नुपर्छ भनेर नै उद्योगमा हात हालेँ । मेरो आफ्नो र परिवारको मात्रै गुजारा चलाउनको लागि यो सबै गर्नुपर्दैनथ्यो । देशमा केही गरौं, देशका लागि सकेको योगदान गरौं भनेर नै उद्योगमा हात हालेको हो ।

निजी क्षेत्रबाट आफूले सकेको गरेकै छु, तर अब यतीले मात्रै पुग्दैन । उद्योग व्यवसाय गर्नका लागि नीतिगत रुपमा धेरै झण्झट छ । त्यसलाई सुधार नगरेसम्म औद्योगिक विकासको वातावरण बन्नसक्दैन । यस कारण उद्योग गर्दा नीतिगत रुपमा कानुनी रुपमा कस्ता समस्या छन् भन्ने कुरा मैले राम्रोसँग बुझेको छ । समस्या बुझेको व्यक्ति नीति निर्माणको तहमा गयो भने सुधार गर्न पनि सकिन्छ भनेर नै मैले प्रतिनिधि सभामा जाने निर्णय लिएको छु ।

अव म यहाँको कुरा गर्छु । सबैभन्दा पहिले, बुटवल औद्योगिक क्षेत्रको विस्तार अपरिहार्य छ । यस क्षेत्रलाई नयाँ प्रविधि, हरित उद्योग र उत्पादनमूलक उद्यमसँग जोड्न आवश्यक छ । त्यसैगरी, वर्षौंदेखि चर्चामा रहेको मोतिपुर औद्योगिक क्षेत्रलाई शीघ्र सञ्चालनमा ल्याउन म विशेष पहल गर्नेछु । म बुटवललाई ‘आईटी हब’ का रूपमा विकास गर्न चाहन्छु । डिजिटल स्टार्टअप इन्क्युबेसन सेन्टर, टेक्नोलोजी पार्क, फ्री वाइफाइ जोन, सीसी क्यामेरा जडानसहितको सुरक्षित सहर अभियान, र डिजिटल सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिनेछ । युवा जनशक्तिलाई सूचना–प्रविधिमा दक्ष बनाउँदै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो । आईटी, बैंकिङ, बीमा, उद्योग र व्यापारलाई एउटै आर्थिक इकोसिस्टममा जोडेर बुटवललाई पश्चिम नेपालको आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने मेरो लक्ष्य हो ।

स्वास्थ्य क्षेत्रमा तपाईंका धेरै महत्वाकांक्षी योजनाहरू छन् । ती कसरी कार्यान्वयन हुन्छन् ?
स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो । रुपन्देही–२ मा रहेका अस्पतालहरूको स्तरोन्नति पहिलो प्राथमिकता हो । विशेषगरी लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ । यसले विशेषज्ञ चिकित्सक उत्पादन, अनुसन्धान र उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउनेछ । यसबाट लुम्बिनी प्रदेशकै स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार आउनेछ । त्यसैगरी, आम्दा अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने योजना छ । यसले स्थानीय विद्यार्थीलाई चिकित्सा शिक्षा प्राप्त गर्ने अवसर दिनेछ र विशेषज्ञ सेवा उपलब्ध हुनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै पाँच लाख रुपैयाँसम्मको उपचार सुविधा सुनिश्चित गरिनेछ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

शिक्षा क्षेत्र सुधारका लागि तपाईंको प्राथमिकता के हो ?
सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी बनाउनुपर्छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने वातावरण बनाइनेछ । उच्च शिक्षामा, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने योजना छ । साथै बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस र राममणि बहुमुखी क्याम्पस लगायत सामुदायिक क्याम्पसहरूको स्तरोन्नति गरिनेछ । प्राविधिक शिक्षामा जोड दिँदै इन्जिनियरिङ तथा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरिनेछ, जसले दक्ष जनशक्ति उत्पादनमा मद्दत पुर्याउनेछ ।

तिलोत्तमा र सैनामैनालाई व्यवस्थित आधुनिक सहर बनाउने योजना पनि अगाडि सार्नुभएको छ नी ?
तिलोत्तमा र सैनामैनालाई हरित, सुरक्षित र प्रविधिमैत्री सहरका रूपमा विकास गरिनेछ । खानेपानी, ढल व्यवस्थापन, फोहोर प्रशोधन, सुरक्षित पार्किङ, ट्राफिक व्यवस्थापन र नदी किनार कोरिडोर निर्माणमा विशेष ध्यान दिइनेछ । तिनाउ र दानव नदीलाई स्वच्छ र आकर्षक बनाउँदै करिडोर निर्माण गरिनेछ । पुरानो बटौली क्षेत्रलाई हेरिटेज जोन घोषणा गरी पर्यटन प्रवद्र्धन गरिनेछ । यसले सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि दुबै बढाउनेछ ।

बुटवल, तिलोत्तमा र सैनामैनाबाहेकका ग्रामीण क्षेत्रका लागि योजना के छन् ?
ग्रामीण क्षेत्रलाई कृषि हबका रूपमा व्यवस्थित गरिनेछ । कृषिजन्य बस्तुलाई सिधै उद्योगमा जोड्नेगरी काम गर्ने रणनीति मैले बनाएको छु । हामीले अहिले सञ्चालन गरेका उद्योगमा पनि किसानले उत्पादन गरेको अकवरे खुर्सानीको प्रयोग हुँदै आएको छ । विभिन्न २५ बढी देशमा निर्यात भइरहेको करेन्ट चाउचाउमा प्रयोग हुँदै आएको अकवरे खुर्सानी उत्पादनका लागि समुह बनाएर किसानलाई लगानी गरिएको छ । त्यस्तै प्रकारले कृषिमा किसानलाई प्रोत्साहन गर्ने र उत्पादित बस्तुको बजार सुनिश्चित गर्नेगरी व्यवस्थित कृषि तथा पशुपालन प्रणाली अवलम्बन गरिनेछ । सिँचाइ विस्तार, भूमिगत जल रिचार्ज, पकेट क्षेत्र निर्धारण, मल–बीउको सहज उपलब्धता र कृषि बीमा कार्यक्रम प्रभावकारी बनाइनेछ । कृषि उत्पादन बिक्री केन्द्र स्थापना गरिनेछ । कृषि तथा पशुपन्छी व्यवसायी केन्द्र स्थापना गरी किसानलाई प्रविधि र बजारसँग जोडिनेछ ।

‘एक घर–एक रोजगार’ अवधारणाअनुसार कृषि र साना उद्योगमार्फत स्थानीय रोजगारी सिर्जना गरिनेछ । सडक विस्तार, वैकल्पिक मार्ग विकास, अन्तर्राष्ट्रिय बसपार्क निर्माण, पार्किङ व्यवस्थापन र चुरे संरक्षणमा जोड दिइनेछ । सार्वजनिक खरीद ऐन सुधार गरी निर्माण व्यवसायलाई प्रोत्साहन गरिनेछ । पारदर्शी कर प्रणाली, उद्योगमैत्री कानुनी व्यवस्था र एकद्वार प्रणाली लागू गरिनेछ । मजदुरलाई न्यूनतम ज्याला र सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ । सामाजिक रूपमा पछाडि परेका महिला, दलित, जनजाति, थारू, मधेशी, मुस्लिम, फरक क्षमता भएका र तेस्रो लिङ्गी समुदायको अधिकार सुनिश्चित गरिनेछ । प्रतिनिधिसभा सदस्य भएर प्राप्त हुने सेवा–सुविधा रकम स्वास्थ्य सुरक्षा कोषमा खर्च गर्ने मेरो प्रतिवद्धता छ ।

मतदातालाई तपाईंकोसन्देश के छ ?
रुपन्देही–२ लाई उद्योग, आईटी, शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपालिको सन्तुलित र समुन्नत केन्द्र बनाउने स्पष्ट रोडम्यापसहित म चुनावी मैदानमा छु । विकासलाई व्यवहारमा उतार्न इमानदार प्रयास गर्नेछु । मतदाताको अमूल्य मत र विश्वासले यो सम्भव हुनेछ भन्ने विश्वास लिएको छु । म आम मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरि मलाई विजयी गराउनुहुन अनुरोध गर्दछु । मलाई आशा र विश्वास छ, रुख चिन्हमा मत दिएर मलाई विजयी गराउनु हुनेछ ।

कांग्रेस उम्मेदवार पौडेलका शिक्षा र स्वास्थ्यमा ‘रुपान्तरणकारी’ योजना

बुटवलको ‘आर्थिक कमाण्डर’ बन्ने दौडमा कांग्रेस उम्मेदवार पौडेल

मतदाताको समर्थनले चुन्न पौडेललाई बढायो हौसला

काँग्रेस उम्मेदवार चुन्नप्रसाद, जसले दिएका छन् ५ हजार बढीलाई रोजगारी

रूपन्देही–२ मा जेनजी युवाहरूको रोजाईमा काँग्रेस उम्मेदवार चुन्नप्रसाद

रूपन्देही–२ मा चुन्न पौडेलको विकल्प छैनः रूपन्देहीका बुद्धीजीवी

बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्

मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड

चुनाज जित्न चुन्न पौडेलद्वारा ‘नयाँ गेम प्लान’

रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक