June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्

Advertisement

भैरहवा– निजी क्षेत्रमा स्थापित नाम हो, चुन्नप्रसाद शर्मा (पौडेल) । बुटवल निवासी उनले दर्जन उद्योग–व्यवसाय संचालन गर्दै आएका छन् । उद्यमसँगै राजनीतिलाई पनि अगाडि बढाउँदै आएका चुन्नप्रसाद नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बनेपछि बुटवलको निजी क्षेत्र खुशी छ ।

Advertisement

हजारौंलाई रोजगारी दिएर युवाहरुमाझ समेत लोकप्रिय चुन्नप्रसाद चुनावमा उठेपछि युवाको समेत राम्रो साथ पाइराखेका छन् । ‘मैले मुलुकको अर्थतन्त्र बलियो बनाउन लामो समय योगदान दिएँ, रोजगारी सिर्जना गरेँ’, चुन्नप्रसादले भने, ‘यो बीचमा निजी क्षेत्रका, मजदूरका, युवाका सबै समस्या बुझेको छु । यसलाई सही मार्गमा ल्याउन उम्मेदवार बनेँ ।’

सफल उद्योगी पौडेल मुलुकमै परिचित छन् । सानो लगानीबाट व्यवसायिक जीवनमा प्रवेश गरेका उनी सरल स्वभाव, उच्च व्यवसायिक क्षमता र समयसँगै परिवर्तित अवस्थालाई बुझ्न सकेकै कारण आज स्थापित भएका हुन् । ‘अब, मेरो जीवनको अनुभव, श्रम र सफलतालाई राजनीति मार्फत् समाजसेवामा समर्पित गर्न चाहान्छु’, उनले भने, ‘यही दृढ संकल्पका साथ निर्वाचन होमिएको छु, धेरैको साथसहयोग पाइराखेको छु ।’

उनले आफूले राजनीति, समाज, युवा, बृद्धबृद्धा र निजी क्षेत्र लगायत सबैको प्रतिनिधित्व गर्न सक्ने जनाए । ‘ब्यापार र राजनीतिलाई अगाडि बढाउने क्रममा मैले मजदूरका समस्या बुझेको छु, युवाका कुरा नजिकबाट सुनेको छु, बृद्धबृद्धाको समस्यासँग परिचित छु’, उनले भने, ‘निजी क्षेत्रसँग त सबैभन्दा नजिक भएर काम गरेको छु । यही कारण मलाई चुनावमा होमिँदै गर्दा पार्टी विशेष नेहरी सबै क्षेत्रबाट सहयोग मिलेको छ ।’

६० वर्षीय उनले बुटवललाई शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यम व्यवसायको हव बनाउने जनाए । ‘बुटवल आफैमा धेरै कुरामा विकसित भइराखेको छ’, उनले भने, ‘तर, केही सुधारका काम गर्नुछ । यसमा मैले खाका बनाएर काम गर्नेछु ।’ उनले बुटवलको सबैभन्दा समस्याको रुपमा रहेको सुकुम्बासी तथा भूमिहीन समस्या समाधानलाई प्राथमिकतामा राखेको जनाए ।

‘सुकुम्बासी र भूमिहीनहरुले केही न केही लगानी गरेर जग्गा लिनु भएको छ, घर बनाउनुभएको छ’, उनले भने, ‘तर, लालपुर्जा नहुँदा न बैंकमा राख्न पाउनुभएको छ, न त जग्गाको मालिक हुँ भन्न सक्नुभएको छ । यो समस्या समाधानमा यसअघिका प्रतिनिधिले त्यति राम्रोसँग काम गर्न नसकेका हुन जस्तो लाग्छ । मैले यसका लागि पहल गर्नेछु । पहल मात्रै होइन्, समाधान पनि निकाल्ने छु ।’

सानैदेखि मिहेनत, अनुशासन र इमानदारीतालाई जीवनको मूल मन्त्र बनाउँदै आएका पौडेल आज हजारौँलाई रोजगारी दिने सफल व्यवसायीका रुपमा स्थापित छन् । उनको सफलताको कथा केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, त्यसले धेरै परिवारको जीवनस्तर उकास्न योगदान दिएको छ । यही कारण, रुपन्देहीबासीहरु उनलाई केवल उद्योगीका रुपमा होइन, निष्ठावान् समाजसेवीका रुपमा चिन्छन् र श्रद्धा गर्छन् ।

उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो योगदान दिँदै आएका छन् । गरिब तथा विपन्नलाई मन फुकाएर सहयोग गर्दै आएका पौडेललाई धेरैले समाजसेवी र मनकारी भनेर समेत चिन्छन् । ‘आज राजनीतिमा व्याप्त विकृति, भ्रष्टाचार र निराशा छ, म यो चिर्न चाहान्छु’, उनले भने, ‘जनतालाई सुशासन चाहिएको हो, काम गर्नसक्ने जनप्रतिनिधि चाहिएको हो, यसमा परिवर्तित काँग्रेस र म सक्षम छौं भन्ने लाग्छ ।’

भाषणमा भन्दा काममा विश्वास गर्ने उनी उद्योग सञ्चालनको अनुभव, व्यवस्थापन क्षमता र परिणाममुखी सोंचले संसदमा पुग्दा फरक प्रभाव पार्ने बुटवलका उद्योगी व्यवसायीहरु बताउँछन् । पौडेल उम्मेदवार बनेपछि उद्योगी, व्यवसायी मात्रै होइन्, आमसर्वसाधारण स्वःस्फूर्त रुपमा उनलाई जिताउन खटिएको काँग्रेस क्षेत्र नम्बर २ को दावी छ ।

‘क्षेत्रमा जनताको पीडा बुझ्न, विकासका योजनालाई कागजमा सीमित नराख्न, सुशासनलाई नारामा होइन, व्यवहारमा उतार्न, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर मुलुकको समृद्धि कायम गर्न दत्तचित्त हुने प्रतिनिधि जरुरी छ’, उनले भने, ‘यसमा म दत्तचित्त छु । जनभावनालाई कदर गरेर काम गर्न सक्छु ।’ उनले आफूले समस्याको पहिचान मात्रै होइन्, समाधानको उपाय पनि खोजेर हिंडेको जनाए ।