रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक


भैरहवा– राजनीतिक रुपमा खारिएका, उद्योग ब्यापारसँगै राजनीतिलाई निरन्तरता दिएका र युवा राजनीतिकर्मी उम्मेदवारका कारण रुपन्देही क्षेत्र नम्बर दुई मुलुकमै चर्चामा छ । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल यही क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् । यसैले पनि यो क्षेत्रलाई धेरैले चासोका साथ हेरिरहेका छन् । २०६४ सालदेखि २०७९ सम्मका सबै निर्वाचन यसै क्षेत्रबाट जितेका पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई यसपटक भने चुनाव जित्न फलामका चिउरा चपाए जस्तै कठिन रहेको विश्लेषण गरिएको छ ।
यस क्षेत्रबाट नेपाली काँग्रेसले मुलुकमै सफल उद्योगी कहलिएका र राजनीतिलाई सँगसँगै अघि बढाएका चुन्नप्रसाद शर्मा (पौडेल)लाई उम्मेदवार बनाएको छ । उनी बुटवलमा मात्रै होइन्, मुलुकभर नै सफल उद्योगीका रुपमा चिनिन्छन् । काँग्रेसको बलियो संगठन, उद्योगी–व्यवसायीबीच राम्रो सम्बन्ध र रोजगारी सिर्जनामा योगदान दिएकाले पनि चुन्न बलिया दावेदार हुन् ।
रास्वपाले अधिवक्ता समेत रहेका युवा सुलभ खरेललाई उम्मेदवार बनाएको छ । युवाहरु माझ लोकप्रिय उनी प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुभाष पाण्डे (विश्वदीप)लाई उम्मेदवार बनाएको छ । लामो समयदेखि बुटवलका मतदातासँग भिजेका उनी पनि युवाहरुमाझ राम्रो प्रभाव राख्छन् । नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका चिकित्सक कमल भुसाल (नोकलस) समेत यही क्षेत्रबाट चुनावमा होमिएका छन् । आफूलाई अभियन्ता बताउने उनी पनि युवाहरुमाझ बलियो पकड भएका युवा हुन् ।
बुटवल आर्थिक विकासले महत्वपूर्ण मानिन्छ । यहाँका मतदाता हरेक क्षेत्रमा जागरुक छन् । विष्णु पौडेलले आफूले रुपन्देहीमा गरेको विकासलाई मुख्य एजेण्डा बनाएका छन् । लगातार जित निकाल्दै आएकाले पनि उनी तुलनात्मक रुपमा अन्य उम्मेदवार भन्दा बलिया देखिन्छन् । तर, बदलिँदो परिस्थितिले उनलाई रक्षात्मक बनाएको छ । रुपन्देही छाडेर पाल्पा–२ बाट उम्मेदवार बन्ने तयारी गरेका उनी क्षेत्रका पार्टीका नेताकार्यकर्ताहरुको दवावपछि यहीबाट उम्मेदवार बनेका हुन् ।
विष्णुले २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेललाई हराएका थिए । त्यसबेला रास्वपाका गणेशले २५ हजार ७८१ मत पाएका थिए भने विष्णुले २७ हजार १४७ मत प्राप्त गरेका थिए । लगातार जित्दै आएको क्षेत्रमा करिब १२ सय मत मात्रै अन्तर पर्नु विष्णुका लागि निराशाजनक भएको भन्दै त्यसबेला एमालेमा खैलाबैला नै भएको थियो । २०५६ सालमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका पौडेललाई त्यसबेला नेपाली का्रंग्रेसका नेता सूर्य प्रसाद प्रधानले पराजित गरेका थिए, त्यसपछि २०६४ सालयता भने हरेक निर्वाचनमा उनले जित निकाली रहेका छन् ।
युवा र बुटवलमा राम्रो पकड भएका उम्मेदवारका कारण यसपटक विष्णु केही रक्षात्मक देखिन्छन् । तर, चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘रुपन्देहीको विकासमा मैले के गरेँ भन्ने छर्लङ्ग छ’, उनले भने, ‘चुनावमा प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि परिणाम हाम्रै पक्षमा आउँछ ।’ उनले रुपन्देहीमा विकास निर्माणका अधुरा योजना पूरा गर्ने बाचा गरेका छन् ।
काँग्रेसका चुन्नले परिवर्तित अवस्थालाई क्याच गर्ने पार्टी काँग्रेस भएको, बुटवललाई थप समृद्ध बनाउन, रोजगारी सिर्जनाका गर्न आफ्नो उम्मेदवारी भएको जनाएका छन् । ‘विकसित बुटवल हाम्रो एजेण्डा हो’, उनले भने, ‘यहाँ सुकुम्बासी समस्या समाधान गर्नुछ, समानुपातिक विकास र युवालाई उद्यमसँग जोड्नुछ । यसका लागि मैले काम गर्छु ।’
सुलभ, पाण्डे र भुसाल भने युवाहरुमा आएको जनलहरलाई आफूहरुले क्याच गर्ने योजनामा देखिन्छन् । चुनावी अड्कलबाजी जे जस्तो भए पनि रुपन्देही–२ मा यसपटक चौपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ । एमाले उपाध्यक्ष पौडेल, कांग्रेसबाट चुन्नु पौडेल, नेकपाका पाण्डे र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धी हुन् ।
बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता छन् । सहरी क्षेत्र भएकाले यहाँको मत परिवर्तन हुनसक्ने आँकलन गरिएको छ ।
दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक








लेखकको सम्वन्धमा