मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड


भैरहवा– मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्रमा सुधार जरुरी रहेको नेपाली काँग्रेस रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले बताएका छन् । कृषि क्रान्तिबाट मात्रै पलायन भइरहेको पुँजी रोक्न सकिने उनले बताए । मुलुकमा कृषि क्रान्तिका लागि आफूले सुरुवात गरेको उनको भनाई थियो । ‘तर निजी क्षेत्रबाट भएको सानो प्रयासले मात्रै नपुग्ने रहेछ’, उनले भने, ‘सरकारले नै त्यसका लागि वातावरण बनाउनु पर्ने र लगानी आकर्षण र सुरक्षाको व्यवस्था गर्नुपर्छ ।’
आफू सञ्चालक रहेको यशोदा फूड्सको उत्पादन करेन्ट चाउचाउले नेपाली किसानले उत्पादन गरेको वार्षिक १ अर्ब बढीको अकवरे खुर्सानी खपत गरिरहेको पनि उनले जानकारी गराए। नेपाली किसानले उत्पादन गरेको अकवरे खुर्सानी सहितको करेन्ट चाउचाउ २५ भन्दा बढी देशमा निर्यात भइरहेको उनले जनाए । यसबाट स्वदेशी बस्तु उत्पादनमा किसानलाई प्रोत्साहन भइरहेको र उत्पादित बस्तुको विदेश निर्यातले एकातिर एकातिर पुँजी पलायन रोकिएको र अर्कोतिर विदेशी पुँजी भित्र्याएको पौ्रडेलले उल्लेख गरे। किसानलाई प्रोत्साहन गर्नका लागि कृषक समूह बनाएर लगानी गरिएको र उत्पादित खुर्सानी पूर्वनिर्धारित मूल्यमा खरिद गर्ने गरिएको जानकारी गराए ।
नेपाल किसान महासंघले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूहरुको यो सानो प्रयास भएको र नेपालमा यस्ता उद्योगहरु धेरै खुल्न आवश्यक रहेको जनाए । त्यसका लागि नीतिगत सुधार, औद्योगिक तथा व्यवसायिक वातावरण निर्माण, लगानी आकर्षण र लगानीको सुरक्षा गर्ने नीति बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट्याए ।
उम्मेदवार पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापनामा जोड दिँदै ती उद्योगहरुबाट उत्पादित बस्तुलाई विदेश निर्यात गर्ने नीति लिनुपर्ने समेत उल्लेख गरे । कृषिलाई आधुनिक र प्रविधियुक्त गरी वैज्ञानिक विकास गर्नुपर्ने बताउँदै कृषिसहित यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक तथा औद्योगिक विकास आफ्नो प्राथमिकताको विषय भएको जानकारी गराए ।
आफूले लिएका संकल्प पूरा गर्नको लागि नेपाली काँग्रेस नेतृत्वका सरकार बन्नुपर्ने र त्यसका लागि काँग्रेसले अगाडि सारेका उम्मेदवारले जित्नुपर्ने भएकाले भोट हालेर जिताउन पनि आग्रह गरे । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले काँग्रेस देशको मियो भएको बताउँदै देशको विकास र समृद्धिको लागि काँग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए । बदलिएर आएको काँग्रेसले देशलाई पनि बदल्ने शाहस राख्ने भएकाले काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले देशलाई अफ्ठ्यारो परेका बेला काँग्रेसले नै निकास दिँदै आएको र मुलुकका हरेक परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको स्मरण गर्दै मुलुकको पुरानो विरासतलाई जोगाउने र जेन–जी आन्दोलनको मर्मअनुसार देश सम्हाल्ने तागत काँग्रेससँग मात्रै रहेको दावी गरे । नेपाल किसान महासंघकी प्रदेश अध्यक्ष रिता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आसन्न निर्वाचनमा काँग्रेसका तर्फबाट प्रतिनीधि सभाकी समानुपातिक उम्मेदवार रिता सेन, लक्ष्मण घिमिरे लगायतले भनाई राखेका थिए ।
बुटवललाई स्वास्थ्य हव बनाउने योजना
काँग्रेस उम्मेदवार पौडेलले बुटवललाई स्वास्थ्य हव बनाउने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लाका अस्पताल सञ्चालक, औषधि व्यवसायी तथा फर्मासिष्टहरुलाई सम्बोधन गर्दै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई मेडिकल कलेजको रुपमा विकास गर्ने तथा नीजि क्षेत्रबाट सञ्चालित अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय र सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
बुटवललाई स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाए । बुटवलमा पूर्वपश्चिम, उत्तरदक्षिणबाट उपचारका लागि आउने सेवाग्राहीको भिड रहेको बताउँदै उनीहरुलाई प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय, विश्वसनीय बनाएर उपचारका लागि बुटवल बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने प्रतिवद्धता व्यक्त गरे ।








प्रतिकृया दिनुहोस्