June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

चुनाज जित्न चुन्न पौडेलद्वारा ‘नयाँ गेम प्लान’

Advertisement

भैरहवा – नेपाली काँग्रेसबाट रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल)ले चुनाव जित्न ‘नयाँ गेम प्लान’ सहित प्रचारलाई तिब्रता दिएका छन् । विशेष महाधिवेशनपछि काँग्रेस बदलिएको सन्देशसहित चुनावी अभियान तीव्र बनाएका हुन् । बदलिएको सन्देश र आफ्ना स्पष्ट योजनाका कारण उनको अभियानको प्रभाव देखिन थालेको छ ।

Advertisement

पार्टी मात्र होइन, कार्यशैली पनि रूपान्तरण भएको सन्देश कार्यकर्ता र मतदाता समक्ष पुर्याइरहेका छन् । फागुन ४ बाट चुनावी प्रचारप्रसार औपचारिक रूपमा सुरु हुनुअघि काँग्रेसले रुपन्देही–२ मा संगठनात्मक गतिविधिलाई उच्च प्राथमिकतामा राख्दै आन्तरिक तयारीलाई तीव्र पारेको छ । रुपन्देही–२ मा काँग्रेसका तर्फबाट उद्योगी तथा समाजसेवी पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्रीय सभापति तथा प्रचारप्रसार मूल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि काँग्रेसको जित अनिवार्य रहेको धारणा राख्दै उम्मेदवारलाई जिताउने लक्ष्यसहित ठोस रणनीतिका साथ अभियान अघि बढाइएको जानकारी दिए । उनका अनुसार प्रचारप्रसार कार्यक्रम सुरु हुनु अघि नै क्षेत्रका २३ वटै वडामा वडा स्तरीय प्रचारप्रसार कार्यालय स्थापना अन्तिम चरणमा पुगेको छ ।

यसै क्रममा बुटवल उपमहानगरपालिका–९ र १२ मा वडा स्तरीय प्रचार कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा उम्मेदवार पौडेलले काँग्रेस नेतृत्वको सरकारले मात्र मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सक्ने स्पष्ट धारणा राखे । उनले रुपन्देही–२ को आर्थिक, सामाजिक र औद्योगिक विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि पार्टीका नेता–कार्यकर्ता मात्र होइन, सम्पूर्ण मतदातालाई आफूलाई विजयी गराउन अपिल गरे ।

२००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै पौडेलले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे । जेन–जी पुस्ताको भावना र अपेक्षा अनुसार देशलाई अघि बढाउन अनुभवी र लोकतान्त्रिक नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेन–जी आन्दोलनपछि पार्टीले गहिरो आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताए ।

क्षेत्रीय सभापति गिरीले जेन–जी विद्रोहपछि काँग्रेस नयाँ सोच र नयाँ कार्यदिशासहित अघि बढेको उल्लेख गर्दै चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य नै बद्लिएको काँग्रेसको ठोस संकेत भएको दाबी गरे । प्रोपोगान्डा र निराशाको राजनीतिविरुद्ध काँग्रेस स्पष्ट योजना र ‘दैनिक क्यालेन्डर’ सहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।