काँग्रेस उम्मेदवार चुन्नप्रसाद, जसले दिएका छन् ५ हजार बढीलाई रोजगारी


बुटवल– धेरै उम्मेदवारले रोेजगारीलाई प्राथमिकतामा राखेका छन् । आउँदो फागुन २१ मा हुने निर्वाचनमा युवा पलायन रोक्ने भन्दै दल र उम्मेदवारले घोषणा पत्रमा रोजगारी सिर्जना गर्ने भनेका छन् । तर, नेपाली काँग्रेस रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले भने व्यवहारमै ठूलो संख्यामा रोजगारी सिर्जना गरेका छन् । सफल उद्यमी समेत रहेका राजनीतिकर्मी चुन्नप्रसादले आफूले स्थापना गरेका उद्योग ब्यवसायमा ५ हजार भन्दा बढीलाई रोजगारी दिएका छन् ।
‘अहिले नेपालमा युवा राख्न नसक्नुको मूख्य कारण नै बेरोजगारी हो । तर यो भनिरहँदा यहाँका केही सामाजिक ब्यत्तित्वहरुले हजारौँ नागरिकलाई प्रत्यक्ष रोजगारी दिनेगरि आफ्ना प्रतिष्ठानहरु सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘यसमध्ये म पनि एक हुँ । मैले रोजगारी दिएर आश्रित भएका परिवार ५० हजार बढी छन् ।’
आफ्ना करिव आधा दर्जन ठुला व्यवसायिक प्रतिष्ठानबाट ५ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको पौडेलको भनाई छ । उनले व्यवसायिक प्रष्ठिानका साथै बजारीकरण (मार्केटिङ) लगायतका क्षेत्रमा पनि थप धेरैले रोजगारी पाएको उनी बताउँछन् । यही व्यावहारिक अनुभवलाई आधार बनाउँदै पौडेलले आफ्नो चुनावी घोषणापत्रमा ‘एक घर–एक रोजगारी’ अभियानलाई विशेष प्राथमिकतामा राखेका छन् ।
पौडेलका उद्योगहरू रुपन्देही र कपिलवस्तुमा फैलिएका छन् । यशोदा फुट्समा सबैभन्दा धेरै कर्मचारीहरु कार्यरत छन् । रुपन्देहीको बुटवल र कपिलबस्तुमा रहेका दुई युनिटमा २ हजार बढि कर्मचारीहरु कार्यरत रहेको पौडेलले बताए । उनले दुई सिफ्टमा काम गर्ने कर्मचारीहरु रहेको बताउँदै स्थानीयहरुलाई पहिलो प्राथमिकतामा राखेर अवसर दिएको पनि जनाए ।
बुटवलको औद्योगिक क्षेत्रमा रहेको त्रिमूर्ति इन्डस्ट्रिजले मसला उत्पादन गर्दै आएको छ । यहाँ उद्योगममा काम गर्ने तथा अफिस संरचनामार्फत व्यवस्थापन र मार्केटिङमा समेत १ हजार सेरोफेरोमा कर्मचारीहरू रहेको उनी बताउँछन् ।
रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको सोना प्याकेजिङले चाउचाउका र्यापर उत्पादन गर्छ भने सोना मल्टिलेयरबाट प्लास्टिकको दाना उत्पादन हुँदै आएको छ । यी दुई क्षेत्रमा पनि ८ सय बढि कर्मचारीहरु कार्यरत रहेको रुपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका चुन्नप्रसाद बताउँछन् ।
यस्तै बुटवलको नयाँगाउँस्थित करेन्ट मसलाले पनि स्थानीय रोजगारीलाई टेवा पुर्याएको छ । यसमा ३ सय बढिले रोजगारी पाएका छन् । यी उद्योगमध्ये प्याकेजिङ र चाउचाउसम्बन्धी उद्योगहरूमा दिउँसो र राती गरी दुई सिफ्ट सञ्चालन हुने भएकाले रोजगारीको अवसर झन् फराकिलो बनेको छ ।
बुटवल अस्पताल मार्फत विपन्नलाई छुट
उनले उद्योग मात्रै नभई स्वास्थ्य तथा पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन् । बुटवलमा नीजि क्षेत्रको सबैभन्दा ठुलो १ सय शैया क्षमताको बुटवल हस्पिटल प्रालि सञ्चालनमा रहेको छ । यहाँ ६ सय सेरोफेरोमा कर्मचारीहरु कार्यरत छन् । विशेषज्ञ चिकित्सकहरु, मेडिकल अफिसर, नर्स, प्राविधिक, सहायक, सुरक्षाकर्मी लगायत रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा गरिब, बिपन्न लगायतलाई स्वास्थ्य सेवामा अत्याधिक छुट समेत प्रदान गर्दै आएको बताउँदै अवस्था हेरेर निशुल्क उपचारको समेत प्रवन्ध गर्दै आएको छ । अस्पतालका अध्यक्ष समेत रहेका उम्मेदवार चुन्नप्रसादको निर्देशनमा यस क्षेत्रका गरिव बिपन्नलाई उपचारमा सहुलियत समेत प्रदान गरिएको छ ।
यस्तै बुटवलको पहिलो पाँचतारे होटल ह्यात प्यालेसमा पनि पौडेलको लगानी रहेको छ । यहाँ ३ सय बढि स्थानीयलाई रोजगारी दिएका छन् भने केही प्राविधिकहरु भने बाहिरबाट ल्याएर समेत काम भइरहेको छ । उद्योग बाहेक अफिस, मार्केटिङ, बिक्री–वितरण र व्यवस्थापनमा छुट्टै कर्मचारी संरचना रहेकोले प्रत्यक्ष मात्र नभई अप्रत्यक्ष रोजगारीसमेत सिर्जना भएको छ ।
घोषणापत्र रोजगारी सिर्जनामा केन्द्रित
पौडेलको घोषणापत्रमा युवालाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगारयुक्त बनाउने स्पष्ट खाका प्रस्तुत गरिएको छ । उद्योग, व्यापार र व्यवसायिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण बनाउने, पारदर्शी कर प्रणाली र विश्वासिलो कानुनी प्रबन्धमार्फत रोजगारी सिर्जनालाई दिगो बनाउने उनको प्रतिबद्धता छ ।
कृषिलाई प्राथमिकतामा राख्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने नीति पनि घोषणापत्रको प्रमुख अंश हो। कृषि तथा पशुपन्छी व्यवसाय केन्द्र स्थापना, बाली पकेट क्षेत्र निर्धारण, अनुदान, सरल कृषि ऋण, उत्पादन बिक्री केन्द्र, उपकरण, बिउ–मल र औषधिको सहज उपलब्धता तथा कृषि–पशु बीमाको समुचित प्रबन्धमार्फत किसानलाई प्रोत्साहन गर्ने योजना उनले अघि सारेका छन् । यसले पुराना कृषकलाई थप हौसला दिने र नयाँ पुस्तालाई कृषितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।







प्रतिकृया दिनुहोस्