कांग्रेस उम्मेदवार पौडेलका शिक्षा र स्वास्थ्यमा ‘रुपान्तरणकारी’ योजना


भैरहवा–रुपन्देही क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् । ‘गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा’ को नारासहित उनले सार्वजनिक गरेका योजनाहरू मतदाताबीच चर्चाको विषय बनेका छन् ।
पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न र दक्ष जनशक्ति उत्पादन गर्न विशेष योजना अघि सारेका छन् । उनका मुख्य शैक्षिक एजेण्डामा सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार गरी सर्वसुलभ र उत्कृष्ट शिक्षा सुनिश्चित गर्ने र शिक्षकका पेशागत संघ–संस्थासँग भएका सम्झौता अक्षरस पालना गर्ने रहेका छन् ।
बुटवलमा ’अटो इन्जिनियरिङ कलेज’ स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्ने र ’बुटवल टेक्निकल इन्स्टिच्युट’ लाई इन्जिनियरिङ कलेजका रूपमा स्तरोन्नति गर्ने जनाएका छन् । लुम्बिनी वाणिज्य क्याम्पसलाई ‘मानित विश्वविद्यालय’ का रूपमा विकसित गरी उच्च शिक्षाको हब बनाउने योजना सार्वजनिक गरेका छन् ।
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउन पौडेलले ठूला पूर्वाधार र सेवा विस्तारका योजना अघि सारेका छन् । ‘स्वास्थ्य र शिक्षा नै समृद्धिको आधार हुन्,’ उनले भने, ‘मेरो पहलमा सिद्धार्थ बाल तथा महिला अस्पताललाई मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरी सर्वसुलभ उपचारको व्यवस्था गरिनेछ ।’
सिद्धार्थ बाल तथा महिला अस्पताललाई पूर्ण क्षमताको मेडिकल कलेजका रूपमा विकास गर्ने बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरी विशेषज्ञ सेवा उपलब्ध गराउने जनाएका छन् । पौडेलका यस्ता योजनाहरूले युवा र गुणस्तरीय स्वास्थ्य सेवाको खोजीमा रहेका स्थानीय मतदातालाई आकर्षित गर्ने देखिन्छ ।








प्रतिकृया दिनुहोस्