मर्चवारमा रकम ठगीः विदेशमा पति गुमाउँदा पाएको क्षतिपूर्ति समेत बचेन


भैरहवा– रुपन्देहीको सिमावर्ती सम्मरीमाई–४ की, जैनव खातुन गद्दी मुसलमानका श्रीमान मोहम्मद इव्राइमको बैदेशिक रोजागारीका क्रममा ४ वर्षअघि कतारमा मृत्यु भयो । मोहम्मद बिरामी थिएनन् । एकदिन साँझपख खाना खाइवरी पति–पत्निबीच फोनमा कुराकानी भयो । त्यसपछि सुतेका श्रीमानको दिमागको नशा फुटेर मृत्यु भएको खबर पाइन् । उनका चार छोरी र एक छोरा छन् ।
उनका अनुसार पतिको निधनपछि उनले क्षतिपूर्ति र राहत स्वरुप रकम पाएकी थिइन् । मोहम्मद कार्यरत कम्पनी, श्रम मन्त्रालय, रोजगार प्रवद्र्धन बोर्ड लगायतबाट गरि उनले ३० लाख रुपैयाँ आफ्नो खातामा आएको दावी गरिन् । नेपालमा आफूले कमाएको ५ लाख, सुली र बाख्रा बेचबिखन गरेको ४ लाख रुपैयाँ माछापुच्छे« बैंकका व्यावसायिक प्रतिनिधि रमेश चौहानलाई बुझाएकी थिइन् । चौहानले उक्त बैंकमा खाता खोलेर जम्मा गरिदिएको बताएका थिए । ‘अहिले खातामा रकम छैन,’ उनले भनिन्, ‘दुई हजार ५ सय रुपैयाँ मात्रै छ ।’
उनीसित युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फाइल छ । फाइलभित्र बीमा गरिएका कागजात छन् । कागजात अनुसार एउटा १२ र दुईवटा ४–४ लाख रुपैयाँको बीमा गरिएको देखिन्छ । ‘कसरी बीमा भयो भन्ने थाहा छैन,’ उनले भनिन्, ‘बीमा कम्पनीमा बुझ्न जाँदा क्यालेण्डर दिएर पठायो ।’ उक्त क्यालेण्डर अन्य कागजातसितै झोलामा राखेकी छन् । प्रहरीमा रकम हराएको निवेदन दिएपछि चौहानले उनलाई शरिर टुक्राटुक्रा पारिदिने धम्की दिएको जैनवले बताइन् ।
तीन महिनाअघि माछापुच्छ«े बैंकमा रकम झिक्न गएपछि खातामा पैसा नरहेको उनले जानकारी पाइन् । छोराछोरी विद्यालय जान्छन् । जैनवले सन्तानका लागि कापीकलम खरिद गर्न र छाक जोहो गर्न मजदुरी गर्दै आएको सुनाइन् । गाउँका धेरै महिलाले चौंहानको भरोसामा परेर रकम जिम्मा लगाएको जैनवले बताइन् । ‘खाता खोलेर पैसा जम्मा गर्दिन्छु भन्थ्यो,’ उनले भनिन्, ‘त्यही भरोसामा धेरैले रकम र कागजात बुझाएर औंठाछाप लगायौं । अहिले सबै स्वाह भयो ।’
प्लाष्टिकको झोलामा कागजपत्र बोकेर लुम्बिनी सांस्कृतिक–२, कि मन्जु लोध दैनिक इलाका प्रहरी कार्यालय (ईप्रका) मर्चवारमा पुग्छिन् । प्रहरी समक्ष आफ्नो रकम फिर्ता गराई दिन अनुरोध गर्छिन् । माइतमा दुई छोरी छाडेर मन्जुले प्रहरीमा धाउन थालेको दुई महिना भइसक्यो । उनी एकल महिला हुन् । तीन वर्षअघि उनका श्रीमानको मृत्यु भयो । ९ वर्ष कतारमा रोजगारी गरेका श्रीमान दिनेश लोध दुबै मृगौंलाले काम गर्न छाडेपछि मुलुक फर्किएका थिए । यहाँ आएपछि उपचारका क्रममा मृत्यु भएको मन्जुले बताइन् । त्यसपछि १४ र ९ वर्षकी छोरीसहित उनी माइतीमा बसिरहेकी छन् ।
पतिको निधनपछि दिनेश कार्यरत कतारस्थित कम्पनीले क्षतिपूर्ति र बीमा वापतको १८ लाख रुपैयाँ पठाएको थियो । उक्त रकम मन्जुको हातमा परेन । मर्चवारी–३, मा माछापुच्छ«े बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको थियो । त्यसका लागि बैंकले प्रदान गरेको शर्तमा रही सेवा पुर्याउन मर्चवारी–३, का चौहानलाई व्यवसायिक प्रतिनिधि तोकेको थियो । तिनै चौहानले बैंक भन्दैं गाउँमा काउण्टर सञ्चालन गरेका थिए ।
उक्त काउण्टरमा बस्ने बैंकका व्यवसायिक प्रतिनिधि चौहानले बिदेशबाट क्षतिपूर्ति वापत मन्जुको नाममा रकम आएको जानकारी पाए । त्यसपछि चौहानले मन्जुलाई भेटेर माछापुच्छ«े बैंकमा खाता खोलिदिने बताए । आवश्यक कागजपत्र बटुलेर खाता सञ्चालन गरिदिएको बताए । चौहानले मन्जुलाई कागजपत्रमा हस्ताक्षर गर्न लगाए । मन्जु पतिको बितेकाले शोकमा थिइन् ।
तीन वर्षअघि आफू पीडामा रहेका बेला चौहानले धेरै कागजातमा हस्ताक्षर गराएको मन्जुले बताइन् । ‘घरमा आएर धेरै कागजातमा हस्ताक्षर गराएँ,’ उनले भनिन्, ‘बैंकमा रकम जम्मा हुन्छ भने, पीडामा रहेकाले धेरै सोधखोज गर्न सकिनँ ।’ चेकबुक समेत चौहानले आफैसित राखेको उनले बताइन् । रकममध्ये ५ लाखको बीमा गरिएको छ । प्राइम शुभलाभ (एकल तथा निश्चि अवधि भुक्तानी सावधिक) जीवन बीमा गरिएको कागजात उनीसित रहेको छ । त्यसबाहेक जानकारी छैन ।
कागजातमा बीमा गराउने अधिकार प्राप्त अधिकारीको स्थानमा प्राइम लाइफका उपशाखा प्रमुख सन्तोष अर्यालको हस्ताक्षर छ । चौहान आफै बीमा कम्पनीको एजेण्ट भएर काम गर्दै आएको पीडितले पछिमात्रै जानकारी पाएको बताए । खर्च आवश्यक भएर माग गर्दा चौहानले आफ्ना सहयोगी चन्द्रभान यादवलाई ५ सय रुपैयाँ दिएर चेक साट्न भैरहवा पठाएका थिए । तर, बीमा गरिएको ५ लाख रुपैयाँ बाहेक १३ लाख रुपैयाँको हिसाब नपाएको मन्जुले बताइन् । खातामा बचत नरहेको जानकारीपछि रकम फिर्ता गराइदिन माग गर्दै एकपटक काठमाडौं, एकपटक जिल्ला प्रशासनकासाथै प्रहरी कार्यालयमा पुगेको मन्जुले बताइन् ।
सम्मरीमाई–२, कै शुभावती बरईले गाउँमै ‘बैंक’ खुलेपछि ज्याला मजदुरी गरेर जुटाएको ५ लाख ६५ हजार रुपैयाँ दुई वर्षअघि उक्त काउण्टरमा लगेर जम्मा गरेकी थिइन् । यसरी रकम जम्मा गरेपछि चौहानले सर्वसाधरणलाई बैंकको भौचरको साटो कागजको ‘स्लीप’ दिने गरेका थिए । शुभावतीका पतिको ६ वर्षअघि भारतमा रहेका बेला मृत्यु भयो । त्यसपछि लालाबालाको रेखदेख र पढाउने जिम्मेवारी आइलागेकी शुभावती बैंकमा रकम बचत रहेको जनाउँदैं अप्ठयारो परेका बेला काम चलाउने भन्थिन । तर, रकम जम्मा गर्ने चौहान गाउँबाट फरार भएको जानकारी पाएपछि उनी झसङ्ग भइन् ।
चौहान भागेको गाउँमा हल्ला भएपछि शुभावतीले इलाका प्रहरीमा पुगेर रकम फिर्ता गराइदिन निवेदन दिइन् । ‘परिवारमा ६–७ जना छौं,’ उनले भनिन्, ‘भएको बचत रकम गायव भयो, अब कसरी परिवार धान्ने चिन्तामा छु ।’ इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले सर्वसाधरणको बिदेशबाट आएको क्षतिपूर्ति रकमदेखि यहाँको जायजेथा बिक्री गरेर जम्मा गरेको रकम चौहानले हिनामिना गरेको बताए । इप्रका मर्चवारमा बुधबारसम्म ७२ जना पीडितले निवेदन दिएका छन् । दैनिक उजुरी लिएर पीडित आउनेक्रम जारी छ । अहिलेसम्म प्राप्त उजुरीका आधारमा १ करोड ४० लाख रुपैयाँ हिनामिना भएको देखिएको प्रहरी निरीक्षक आचार्यले बताए ।
माछापुच्छ्रे बैंकबाट सम्मरीमाईका एक हजार बढी स्थानीयको करोडौं रुपैयाँ गायब
शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही सुरु भयोः माछापुच्छ्रे बैंक
प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत सुरक्षित छः माछापुच्छ्रे बैंक








प्रतिकृया दिनुहोस्