साढे ६ दशकपछि मायादेवीका १४८ परिवारको हातमा जग्गाधनी पुर्जा



भैरहवा– साढे ६ दशकदेखि लालपूर्जाबिहीन रहेका १४८ परिवार जग्गाधनी बनेका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का उनीहरु बिहीबारदेखि जग्गाधनी बनेका हुन् । बिहीवार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा प्राप्त गरेपछि जग्गाधनी भएको भन्दै उनीहरु खुसी हुँदै नाचगान गरी धन्यवाद व्यक्त गरेका थिए ।
हजुरबुवाको पालादेखि नै जग्गा भएर पनि पुर्जा नहुँदा अनेक समस्या भोग्दै आएका उनीहरुलाई गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका थिए । लालपुर्जा वितरणका लागि नापी कार्यालय, रुपन्देहीले प्राविधिक काम पूरा गरेको थियो ।
मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले १४८ जनालाई यसपटक लालपूर्जा वितरण गरे पनि बाँकी पुर्जाबिहीनलाई छिट्टै उपलब्ध गराउने बताए । उनले भने, ‘गाउँपालिकाका अन्य वडामा पनि घरधुरी तथा गाउँब्लकको काम भइरहेको छ, काम हुनसाथ फेरि वितरण गर्ने गर्छौं । विगतका दिनमा वर्षौँदेखि जग्गा–जमिन भोगचलन गर्दै आएका थियौँ तर पुर्जा थिएन, जसले गर्दा लाचारीको अवस्था थियो तर अब भने खुसीको अवस्था आएको छ ।’
अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा पालिकाभित्रका भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण कार्यलाई प्राथमिकतामा राखिएको बताए । नागरिकको दैनिक जीवनयापन सहज तुल्याउन र उनीहरुलाई वास्तविक भूमिको मालिक बनाउन पालिकाले सक्रिय भूमिका खेलेको उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले लालपुर्जा एउटा रातो कागजको टुक्रा मात्रै नभएर यो स्थानीयको विगत ६५ वर्षसम्म मेहेनतको किताब रहेको बताए । उनले भने, ‘यो जग्गा भएर पनि स्वामित्व प्राप्त नगर्दा यहाँहरूले बेहोर्नु परेको तिरस्कार, अपमान, दुव्र्यवहार र बहिष्करणको अन्त्यको एउटा सुखद र ऐतिहासिक क्षण हो ।’ अब भने लालपूर्जा प्राप्त गरेका सबैको आत्मासम्मान वृद्धि हुँदै सामाजिक प्रतिष्ठा समेत उच्च हुने र आफ्नो जग्गामा कानुनी स्वामित्व प्राप्त भएको जनाए । ‘तपाईंहरुको पहिचान र समाजमा स्थापित हुनको निम्ति आर्थिक, सामाजिक सुरक्षाको पनि अब प्रत्याभूत भएको छ’, उनले भने ।
मायादेवी–७ का अध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले कुनै पनि विवाद नगरी आपसमै मिलेर वडाको चार टोलका कामहरु सम्पन्न गरेको बताए । बाँकी रहेका टोलमा पनि काम गरिराखेका र चाँडै कामलाई पूर्णता दिएर जग्गाधनीपूर्जा वितरण गर्ने बताए । वडाध्यक्ष पाण्डेयले स्थानीय अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्ने सपना पूरा भएको बताए । लामो समयदेखि पालिका अध्यक्ष र नापी कार्यालयसित समन्वय गरेर विवादरहित ढंगबाट लालपुर्जा वितरण गर्न सफल भएको उनले जनाए ।
लालपुर्जा प्राप्त गरेका मायादेवी–७ का स्थानीय राकेशकुमार पाण्डेय निकै खुसी भए । उनले भने, ‘जग्गाधनी पुर्जाका लागि लामो समयदेखि निकै प्रयास गर्यौं । बाजेले धेरै प्रयास गर्नुभयो, बुवाले त्यस्तै गर्नुभयो । आज बल्ल हातमा परेको छ । म निकै नै उत्साहित र खुशी छु ।’ उनले अब कुनै पनि अप्ठ्याराहरुमा बैंकिङ कारोबार गर्न सकिने जनाए ।
नापी कार्यालयका प्रमुख मणिप्रसाद रेग्मीले ऐतिहासिक काममा सबैको मेहेनत र सहयोगले काम सम्पन्न भएको बताए । उनले भने, ‘यतिले मात्र हुँदैन । अरु पनि पुर्जाबिहीन हुनुहुन्छ । बाँकी रहेको अन्य ठाउँको कामलाई पनि चाँडो भन्दा चाँडो सक्ने गरी काम गर्छौं ।’ आफ्नै जग्गा जमिन भएर पनि लालपुर्जा नहुँदा यहाँका स्थानीयले बैंक धितो राख्न, विक्रीवितरण तथा नामसारी गर्न र अन्य आयआर्जन काम गर्न पाएका थिएनन् । पुर्जा पाएपछि भने यस्ता अप्ठ्याराहरु हट्ने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्