माछापुच्छ्रे बैंकको भरोसमा मर्चवारमा सर्वसाधरणको लाखौं ठगी


भैरहवा– माछापुच्छ्रे बैंकको व्यावसायिक प्रतिनिधि बनेका रुपन्देहीको मर्चवारी गाउँपालिका–३, का रमेश चौहानले सर्वसाधरणबाट बचत गरिदिने भन्दैं लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार गाउँमा शाखारहित बैंकिङ सेवा पुर्याउन उक्त बैंकले चौहानलाई व्यावसायिक प्रतिनिधि तोकेको थियो । तर, चौहानले आफूलाई बैंकको कर्मचारी बताउँदैं सर्वसाधरणबाट संकलित रकम हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अनुसन्धान थालेपछि सर्वसाधरणले दैनिक चौहानबिरुद्ध उजुरी गरिरहेका छन् । स्थानीय बासिन्दाले क्ष्तिपूर्ति, अनाज, बाख्रापाठा बिक्री, ज्यालामजदूरी गरेर जम्मा गरेको रकम चौहानले हिनामिना गरेका हुन् । माछापुच्छ्रे बैंकले मर्चवारी–३, मा राष्ट्र बैंकको निर्देशन अनुसार शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको थियो । त्यसका लागि बैंकले प्रदान गरेको शर्तमा रही सेवा पुर्याउन चौहानलाई व्यवसायिक प्रतिनिधि तोकेको थियो ।
तिनै चौहानले बैंक भन्दैं गाउँमा काउण्टर सञ्चालन गरेका थिए । उक्त काउण्टरमा बस्ने बैंकका व्यवसायिक प्रतिनिधि चौहानले बिदेशबाट क्षतिपूर्ति वापत प्राप्त रकम समेत बैंकमा जम्मा गरिदिने नाममा हिनामिना गरेका छन् । स्थानीय बासिन्दाले प्रहरीमा रकम हराएको निवेदन दिएपछि चौहानले पीडितलाई शरिर टुक्राटुक्रा पारिदिने धम्कि दिएको एक पीडितले बताइन ।
‘अहिले पुलिसमा निवेदन दिएर के हुन्छ, पछि मेरो खुट्टामा ढोग्नुपर्छ भन्यो,’ उनले भनिन्, ‘पुलिसमा किन निवेदन दिएको भनेर धम्कायो ।’ तीन महिनाअघि बैंकमा रकम झिक्न गएपछि खातामा पैसा नरहेको उनले जानकारी पाइन् । गाउँका धेरै महिलाले चौंहानको भरोसामा परेर रकम जिम्मा लगाएको स्थानीय जैनव खातुनले बताइन् । चौहान भागेको गाउँमा हल्ला भएपछि स्थानीय शुभावती बरईले पहिलोपटक इलाका प्रहरीमा पुगेर रकम फिर्ता गराइदिन निवेदन दिइन् । उनको ५ लाख ६५ हजार रुपैयाँ गायव पारिएको छ ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले माछापुच्छ्रे बैंकले ग्रामीण क्षेत्रमा सेवा पुर्याउन सञ्चालन गरेको शाखारहित बैंकिङ सेवाका प्रतिनिधि बनेका चौहानले सर्वसाधरणबाट रकम ठगी गरेको देखिएको बताए । ‘सर्वसाधरणले काउण्टरमा रकम जम्मा गर्थे,’ उनले भने, ‘चौहान आफैले काठमाडौं–भैरहवा लगेर खाता खोल्ने भन्दै सबै डकुमेन्ट आफैले राख्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’
कतिपय पीडितको बिदेशबाट आएको क्षतिपूर्ति रकमले सम्बन्धित व्यक्तिलाई जानकारी नदिई बीमा गरेको पाइएको उनले बताए । ‘बीमा भएको कागजात छ,’ उनले भने, ‘बीमा भएको देखिन्छ, तर, खातामा पैसा छैन ।’ इप्रकामा बुधबारसम्म ७२ जना पीडितले निवेदन दिएका छन् । अहिलेसम्म प्राप्त उजुरीका आधारमा १ करोड ४० लाख रुपैयाँ हिनामिना भएको देखिएको प्रहरी निरीक्षक आचार्यले बताए ।
माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनील खतिवडाले प्रारम्भिक अध्ययनमा बैंकले नभई व्यावसायिक प्रतिनिधि तोकिएका चौहान र सर्वसाधरणबीच आर्थिक लेनदेनको समस्या देखिएको जनाए । ‘यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘यस विषयमा प्रहरीले गर्ने अनुसन्धानमा सघाउन हामी तत्पर छौं ।’
रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार प्रहरीले गत जेठ २८ गते चौहानबिरुद्ध ठगी मुद्दा दर्ता गराएको थियो । लगत्तै असार ३१ गते चौहानलाई पक्राउ गरेर रकम हिनामिनाको अनुन्धान गरिरहेको उनले जानकारी दिए । ‘अहिले चौहान इप्रका मर्चवारको हिरासतमा छन्,’ उनले भने, ‘उनीबिरुद्ध साढे २ महिनाअघि नै रोजगार बिभागबाट पक्राउ पूर्जि जारी भएको थियो । त्यसपछि प्रहरीले पक्राउ गरेर काठमाडौं पठाएको थियो ।’ त्यहाँबाट १५ हजार धरौंटी बुझाएर रिहा भएका थिए । त्यसपछि रकम हिनामिना गरेको उजुरी परेको थियो । प्रहरीले अदालतबाट म्याद थप गराएर संगठित अपराध मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
माछापुच्छ्रे बैंकबाट सम्मरीमाईका एक हजार बढी स्थानीयको करोडौं रुपैयाँ गायब
शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही सुरु भयोः माछापुच्छ्रे बैंक
प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत सुरक्षित छः माछापुच्छ्रे बैंक








प्रतिकृया दिनुहोस्