भैरहवा बहुमुखी क्याम्पसमा बीमा प्रवर्द्धनात्मक अन्तरक्रिया



भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीसँग बीमाको व्यावहारिक प्रयोग र यसको आवश्यकताका विषयमा केन्द्रित रही उक्त अन्तरक्रिया गरिएको हो ।
बिहीबार सम्पन्न कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले विद्यार्थीहरूको पाठ्यक्रममै समावेश रहेको बीमा विषयलाई अझ व्यवहारिक र स्पष्ट बनाउन गेस्ट लेक्चरका रूपमा कार्यक्रम गरिएको जनाए । यस्तो अभ्यासले विद्यार्थीहरूको मनोविकासमा सकारात्मक टेवा पुग्ने उल्लेख गर्दै उनले जीवन तथा सम्पत्तिमा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न बीमाको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख जमुना अर्याल आचार्यले मानिसको दैनिक जीवनमा आइपर्ने अनपेक्षित जोखिम तथा चुनौतीहरूको सामना र व्यवस्थापन गर्न बीमा अपरिहार्य रहेको बताइन् । वित्तीय सुरक्षाको बलियो माध्यमका रूपमा बीमा प्रणालीलाई बुझ्न र समाजमा यसको सचेतना फैलाउन युवा तथा व्यवस्थापनका विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने धारणा उनको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थीलाई बीमाको दाबी प्रक्रिया, सचेतना अभिवृद्धि तथा व्यावहारिक उपयोगिताबारे पनि ज्ञान दिइएको थियो । त्यस्तै, सहायक क्याम्पस प्रमुख दिवाकर पाण्डे र बीबीए कार्यक्रमका निर्देशक उज्ज्वल अधिकारीले यस्ता विषयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमले विद्यार्थीहरूमा पढाइप्रति नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनीहरूले क्याम्पसको शैक्षिक क्यालेन्डरअनुसार नै विद्यार्थीको क्षमता अभिवृद्धि र व्यावहारिक ज्ञान विस्तारका लागि यस्ता कार्यक्रमलाई नियमित रूपमा संचालन गर्दै आएको जानकारी दिए ।








प्रतिकृया दिनुहोस्