माछापुच्छ्रे बैंकबाट सम्मरीमाईका एक हजार बढी स्थानीयको करोडौं रुपैयाँ गायब


भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, रोइनिहवाका जोगेन्द्रप्रसाद तेली उमेरले ५५ वर्ष नजिक छन् । खेतीकिसानीसँगै ३५ वर्षदेखि उनले नजिकै रहेको एक इँटा उद्योगमा काम गर्छन् । करिब पाँच वर्ष अघि उनको गाउँ नजिकै सम्मरीमाई–५ स्थित रोइनिहवामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा कार्यालय खुल्यो । त्यसपछि उनले इँटा उद्योगमा काम गरेर कमाएको केही पैसा त्यसैमा जम्मा गर्न थाले ।
त्यतिमात्रै होइन उनका ज्वाइँले विदेशमा कमाएको पैसा पनि आफ्नै खातामा जम्मा गर्दै गए । गएको असार महिनामा उनी केही पैसा चाहिए पछि बैंकको लुम्बिनी शाखामा पैसा निकाल्न गए । त्यतिञ्जेल उनको खातामा १२ लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेका थिए । पैसा निकाल्न बैंकमा जाँदा खातामा एक रुपैयाँ पनि नभएको बैंकका कर्मचारीले बताए ।
त्यसपछि उनले आफ्नो पैसा कहाँ गयो भनेर प्रश्न गरे । तर, कर्मचारीले थाहा नभएको सजिलो जवाफ दिए । उनले पैसा जम्मा गरेको भौचर देखाए । कर्मचारीले फेरि पनि पैसा नभएको जवाफ दिए । बैंकमा जम्मा गरेको पैसाबाट कान्छी छोरीको विबाह गरिदिने र बचेको रकमबाट घर मर्मत गर्ने उनले योजना बनाएका थिए । तर, बैंकबाटै रकम गायब भएपछि उनी निराश भए । ‘मेरा सबै सपना चकनाचुर भए, बैंक र बैंकका स्थानीय एजेन्टले मलाई बर्वाद पारे’, उनले भने, ‘अब, ज्वाइँको पैसा कसरी फिर्ता गर्ने ? छोरीको बिबाह के पैसाले गर्ने ? घर कसरी बनाउने ?’
सम्मरीमाई–७ का ५० वर्षीया रामदास लोधका दुई छोरा रोजगारीका लागि कतारमा छन् । महिनापिच्छे कतारमा कमाएको रकम आफ्ना बाबु रामदासका नाममा पठाउँछन् । छोराले पठाएको रकम जम्मा गरेर घर बनाउने उनीहरुको योजना थियो । त्यहीअनुसार विदेशबाट छोराले पठाएको रकम रामदासले माछापुच्छ्रे बैंकको सम्मरीमाईमा खुलेको शाखारहित कार्यालयमार्फत बैंकमा जम्मा गर्दै आएका थिए । ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले यहाँ स्थानीय एजेन्ट निरंजन पाठकसँग सम्झौत गरेर शाखारहित बैंकिङसेवा दिइरहेको थियो ।
निरंजनले यहाँ पैसा बैंकमा जम्मा गर्न, स्थानीयहरुको खाता खोलिदिनका लागि स्थानीय सिकेन्दर ठाकुरलाई व्यवस्थापक बनाएका थिए । रामदासले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएवापतको डिपोजिट भौचर ल्याउने गर्थे । गएको साउनमा उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न आए । यो अवधिमा उनले बैंकमा ४ लाख रुपैयाँ जम्मा गरिसकेका थिए । तर, बैंकमा आउँदा आफ्नो खातामा ९० हजार रुपैयाँ मात्र भएको बैंकका कर्मचारीबाट जवाफ पाए ।

उनको घर बनाउने सपनामा ठेस लाग्यो । बैंकमा सोधे, मेरो अरु पैसा खोइ ? तर, उनले बैंकबाट थाहा भएन भन्ने जवाफ पाए । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको भन्दै न्यायको खोजीमा भौतारिरहेका छन् । सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि रामदासले जस्तै गरी माछापुच्छ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ बैंकमा जम्मा गरे । तर, उनको पनि खातामा उक्त पैसा छैन । खातामा पैसा नभएपछि उनले बैंकमा निवेदन दिन गए तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिएन् ।
‘पहिला मेरो पैसा खोजिदिन पर्यो भनेर बैंकको भैरहवा शाखामा निवेदनसहित आएँ तर भैरहवाबाट लुम्बिनी शाखामा जानु भन्ने जवाफ आयो’, उनले भने, ‘लुम्बिनी शाखामा जाँदा मेरो निवेदन पनि लिइएन र पैसा पनि खोज्ने काम बैंक र कर्मचारीले गरेनन् । अब म कहाँ जाऔं, यति धेरै रकम डुबिसक्यो ।’ अहिले सम्मरीमाईका जोगेन्द्रप्रसाद, रामदास र दयाराम जस्ता एक हजार बढी स्थानीयले माछापुच्छ्रे बैंकमा जम्मा गरेको पैसा गायब भएपछि चिन्तित छन् । उनीहरु न्यायका लागि हारगुहार गरिरहेका छन् ।
बैंकमा निक्षेप संकलन गर्नेहरु सबै किसान हुन् । कतिका छोराछोरी र श्रीमान् विदेश गएर पठाएको पैसा जम्मा गरेका छन् भने कतिले खसीबोका, कुखुरा, भैंसी, दुध, धान, तरकारी बेचेर जति सकिन्छ, त्यती जम्मा गरेका छन् । यसरी किसानबाट जम्मा गरिएको पैसा गायब हुँदा समेत बैंकले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ । बैंकका एजेन्ट पाठक र व्यवस्थापक ठाकुर खुलेयाम गाउँमा डुलिरहेका छन् । एजेन्ट पाठकले भने व्यवस्थापक ठाकुरले बद्मासी गरेको भन्दै पन्छिने गरेका छन् । ‘मैले ठाकुरलाई सबै जिम्मा दिएको थिएँ तर उनले केही बद्मासी गरेको भन्ने सुनेको छु, उनी नजिकैका गाउँका हुन्, स्थानीयको पैसा उठाउन म सहयोग गर्छु’, उनले भने । तर, स्थानीयले भने ४–५ महिना हुँदा समेत पाठकले पनि आफूहरुको निक्षेप संकलनको रकम फिर्ता दिलाउन पाठकले सहयोग नगरेको बताएका छन् ।
करिब पाँच वर्ष अघि बैंकले स्थानीय पाठकसँग सम्झौता गरी एजेन्ट तोकेको थियो । त्यसपछि पाठकले ठाकुरलाई व्यवस्थापक बनाएर स्थानीयको खाता खोल्ने, एटीएम कार्ड र चेक दिनुका साथै उनीहरुको निक्षेप संकलन गरी बैंकमा जम्मा गर्ने काम गर्दै आएका थिए । तर, अहिले उनै ठाकुर, पाठक र केही बैंकका कर्मचारीको मिलेमतोमा आफूहरुको रकम हिनामिना पारिएको स्थानीयको आरोप छ ।
बैंकमा स्थानीयले आफ्नो गक्ष अनुसार ५ हजारदेखि १६ लाखसम्म जम्मा गरेका थिए । यसरी जम्मा गरेको सबै स्थानीयको गरी करिब ३ करोड बढी रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको छ । पैसा जम्मा गर्ने स्थानीयहरुका थरिथरिका सपना थिए । कतिले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैंसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका थिए । तर, एकएक रुपैयाँ गरेर गरिब किसानले जोडेर जम्मा गरेको रकम बैंक र बैंकले राखेका एजेन्टकै मिलिभगतमा गायब पारिएपछि स्थानीयको सपना चकानाचुर भएका छन् । उनीहरु बद्मासी गर्ने बैंक र त्यसका एजेन्टलाई कडा कारबाहीको माग गरेका छन् ।

यतिसम्म बद्मासी गरिएको छ की बैंकले शाखारहित सेवा दिँदा भौचर भर्न पाउँदैन । तर, स्थानीय एजेन्टले भने धमाधम भौचर भर्दै रकम जम्मा गरेको देखाइँदै पैसा गायब पारिएको छ । स्थानीयले निक्षेप संकलन गर्न गएमा अनलाइन इन्ट्री गरेर स्थानीयलाई अनलाइन रकम जम्मा भएको बिल दिनुपर्छ । तर, यहाँ स्थानीयलाई बैंक भौचर भरेर दिइएको छ भने अनलाइन इन्ट्री नै गरिएको छैन । यसैमा एजेन्टले बद्मासी गरेको देखिन्छ । कतिपय स्थानीयलाई भौचरसमेत दिइएको छैन ।
एजेन्टले स्थानीयसँग भएको एटीएमकार्ड, चेक र भौचर आफै लिएका छन् । यस्ता स्थानीयसँग कुनै प्रमाण छैन । अर्कातर्फ एजेन्ट पाठक र ठाकुरले भौचरमा खातावालाको खाता नम्बर नलेखेर एटीएमकार्डमो सिरियल नम्बर लेखेर रकम जम्मा भएको भौचर छाप लगाएर दिएका छन् । ‘हामीलाई थाहै भएन, खाता नम्बर लेख्नुपर्ने ठाउँमा एटीएमको सिरियल नम्बर लेखिएको रहेछ’, जोगेन्द्रप्रसादले भने, ‘यसरी ठगिरहेका छौं भन्ने थाहा पाएको भए पक्कै बद्मास एजेन्टलाई पैसा दिने थिएनौं र यस्ता अविश्वासिलो बैंकमा खाता पनि खोल्ने थिएनौं ।’
बैंकमा कारोबार गरेका यहाँका अधिकांश स्थानीय अशिक्षित छन् । उनीहरुले खाता नम्बर र एटीएमको सिरियल नम्बरसमेत छुट्याउन सक्दैनन् । सोझासाझा स्थानीयको सोझोपनको फाइदा उठाउँदै बैंक, एजेन्ट र व्यवस्थापकले निरन्तर फाइदा उठाउँदै रकम हिनामिना गरेको देखिन्छ । स्थानीयको निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै स्थानीयलाई ढाटछल गरिरहेको छ ।
बैंकले स्थानीयको करोडौं रकम गायब हुँदासमेत अहिलेसम्म एजेन्टविरुद्ध कुनै उजुरी गरेको छैन भने स्थानीयको मर्का बुझ्ने प्रयास समेत गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ । बैंकले गएको जेठ महिनामा नै यहाँ रहेको शाखारहित बैंकिङ सेवा बन्द गरेको हो । सेवा बन्द गर्दा स्थानीयको कुरा सुन्ने प्रयास समेत बैंकले गरेको देखिँदैन । यसबाट स्थानीय आफ्नो पैसा अब फिर्ता हुँदैन की भनेर झनै सशंकित भएका छन् ।
माछापुच्छ्रे बैंक, केन्द्रिय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले अहिलेसम्म कुनै स्थानीयले आफूहरुको पैसा हिनामिना भएको भनेर उजुरी नदिएको बताए । उनले यस्तो दावी गरिरहँदा स्थानीयले भने बैंकको भैरहवा र लुम्बिनी शाखामा निवेदन दिँदा बैंकले निवेदन नै बुझ्न नमानेको स्थानीय बताउँछन् । खतिवडाले स्थानीयको रकम हिनामिनाबारे बल्ल जानकारी आएकाले बैंकले भने अब अनुसन्धान गरेर गल्ती भेटिए एजेन्टलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘हामीले अनुसन्धान गर्ने टिम नै बनाएर फिल्डमा पुग्छौं र सत्यतथ्य बाहिर ल्याउँछौं’, उनले भने, ‘अनुसन्धानपछि बास्तविकता बाहिर आउला । स्थानीयको पैसा यसरी हिनामिना हुनुहुँदैन भन्नेमा हामी पनि सचेत छौं ।’

उनले एजेन्टले पैसा हिनामिना पारेको भए उनैले स्थानीयलाई तिर्नुपर्ने र यसमा बैंक जिम्मेवारी नहुने बताए । ‘यदि बैंकका कुनै कर्मचारीको बद्मासी भेटिएमा भने बैंक जिम्मेवर हुने उनको भनाई छ । यहाँका एक हजार बढी स्थानीयले बैंकमा जम्मा गरेको करोडौं रुपैयाँ स्थानीयको बैंक खातामै जम्मा छैन । सम्मरीमाई वडा नम्बर ५, ७ र अन्य वडाका स्थानीयले बैंकमा जम्मा गरेको पैसा यसरी हिनामिना भएको हो । बैंकमा रकम जम्मा गरेको भौचर अधिकांश स्थानीयसँग छ । तर, माछापुच्छ्रे बैंकमा रहेको उनीहरुको खातामा भने रकम छैन । खातामा रहेको रकम कहाँ गयो ? भन्ने स्थानीयको प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आइरहेको छ ।











लेखकको सम्वन्धमा