महासंघका पूर्वअध्यक्ष पोखरेल काँग्रेस लुम्बिनीको महामन्त्रीमा लड्ने



भैरहवा– नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष बिपुल पोखरेलले आगामी कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी दाङमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका थिए । यसैक्रममा पत्रकार महासंघको केन्द्रीय अध्यक्ष भएका थिए ।
यसपटक दाङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनले आगामी पुस दोस्रो सातामा प्रदेश अधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने सार्वजनिक गरेका हुन् । पालिका र क्षेत्रीय अधिवेशनपछि संघीय महाधिवेश पूरा गरिसकेको काँग्रेस संस्थापनको जिल्ला र प्रदेश अधिवेशन बाँकी छ ।
महाधिवेशन प्रतिनिधि पोखरेलले कांग्रेस कमजोर हुँदा देशका साथै लोकतन्त्रका अवयव पनि कमजोर हुने हुँदा वैचारिक तथा सशक्त कांग्रेस निर्माण गर्ने अभियानका लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । आफू प्रदेश महामन्त्रीमा निर्वाचित भएमा पार्टीको सांगठिनक तथा वैचारिक जग प्रदेशमा मजबुत पार्ने योजना रहेको उनले बताए ।
‘म अग्रज अनुज सबैसँग राय सल्लाह गरी महामन्त्री पदमा उम्मेदवार बन्ने निधो गरेको हुँ,’ उनले भने, ‘त्यसका लागि मैले प्रदेशका विभिन्न बाह्र वटै जिल्लामा क्रमिक रूपमा पुग्ने र त्यहाँका साथीहरूको भावना बुझ्ने काम गर्दै आएको पनि छु ।’








प्रतिकृया दिनुहोस्