बिहीबारदेखि रूपन्देहीमा पहिलोपटक एकेडमी क्रिकेट लिग हुँदै



भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लामा पहिलो पटक ‘एकेडमी क्रिकेट लिग–२०८३’ हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । बिहीबारदेखि सुरु हुने प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने छ ।
संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार स्थानीय स्तरमा रहेका क्रिकेट एकेडमीका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरूलाई व्यावसायिक प्रतिस्पर्धाको अनुभव दिलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा जिल्लाका विभिन्न आठवटा क्रिकेट एकेडमीका टिमहरूको सहभागिता रहनेछ । लिगका सम्पूर्ण खेलहरू ३० ओभरको फर्म्याटमा खेलाइने आयोजकले जनाएका छन् । खेलाडीहरूमा लामो फर्म्याटको क्रिकेट खेल्ने बानी बसाल्न र प्राविधिक पक्षमा निखार ल्याउन प्रत्येक खेल रातो बलले खेलाइने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आयोजकले पुरस्कारको समेत व्यवस्था गरेको छ । अध्यक्ष थापाका अनुसार प्रतियोगिताको विजेता र उप–विजेता दुवैलाई आकर्षक धनराशिसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
रुपन्देहीलाई नेपाली क्रिकेटको उर्वर भूमि मानिँदै आएको सन्दर्भमा संघले पहिलो पटक सुरु गर्न लागेको यस एकेडमी लिगले ग्रासरुट तहबाटै नयाँ र सक्षम खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको खेल संयोजक भुवन पाण्डेले बताए । उनले ११ देखि १५ वर्षसम्म खेलाडी सहभागी हुन पाउने जनाए ।
नेपाल क्रिकेट संघका पूर्वसचिव प्रशान्त विक्रम मल्लले खेलाडी उत्पादन गर्न प्रतियोगिता फलदायी हुने बताए । क्रिकेट विकास गर्ने भनेकै ग्रासरुटबाट भएको बताउँदै निर्वाचनका बेला अध्यक्ष थापाले गरेको प्रतिबद्धता अनुसार खेल आयोजना गरिएको जनाए । प्रतियोगिता सुद्धार्थ रंगशाला र देवदहमा संचालन हुनेछ ।
प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, गुरुकुल क्रिकेट एकेडेमी, देवदह क्रिकेट युनिट एकेडेमी, बुटवल क्रिकेट एकेडेमी, वेष्टर्न क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट एकेडेमी र जेआर क्रिकेट एकेडेमीको सहभागिता रहेको संघका सचिव उदयकुमार मल्लिकले जनाए ।








प्रतिकृया दिनुहोस्