August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अनिवार्य एमआरपी कार्यान्वयनले भैरहवा नाकामा रोकिए मालबाहक पाँच सय गाडी

Advertisement

भैरहवा– विदेशबाट आयात गरिने तयारी वस्तुमा भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन सुरु पछि रुपन्देहीको भैरहवा नाकाबाट हुँदै आएको आयात प्रभावित भएको छ । सरकारले १५ बैशाखदेखि भन्सार विन्दुमै एमआरपी कार्यान्वयन सुरु गरेको थियो । चैत्र ३० मा बाणिज्य विभागले सूचना जारी गर्दै उक्त नियम लागू गर्ने जनाएको थियो । छोटो अवधि राखेर भन्सार विन्दुमै एमआरपी कार्यान्वयन गरिँदा मुलुकको दोस्रो ठूलो भैरहवा नाकाबाट हुँदै आएको आयात नै प्रभावित भएको हो ।

Advertisement

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानहरु सरकारले सूचना जारी गर्नुपूर्व नै लोड भएर मालबाहक गाडी–सीपहरु (पानी जहाज) नेपालतर्फ हिंडिसकेकाले एमआरपी कार्यान्वयनमा जटिलता देखिएको नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले बताए । ‘जापान, चीन लगायतका मुलुकबाट आयात गरिएका सामान भन्सार नाकामै आउन महिनौं लाग्छ । तर, एमआरपी लागू छोटो सूचनाका आधारमा भयो’, पन्थीले भने, ‘जसले गर्दा टाढाबाट आयात गरिएका सामानहरुमा कार्यान्वयन गर्न जटिलता भयो ।’ उनले भारतका टाढाबाट आउने सामान पनि एमआरपी कार्यान्वयन हुनुअघि नै लोड भएर नेपालतर्फ आएकाले समस्या भएको सुनाए ।

‘यसले गर्दा भन्सार परिसर र भारततर्फ मालबाहक गाडी रोकिएका हुन् । एआरपी लागूपछि बैशाख १६ देखि यता आयात नै प्रभावित भएको छ’, पन्थीले भने । बाणिज्य विभागको पत्रपछि भन्सार कार्यालयले मुख्य विन्दुमै अनिवार्य एमआरपी कार्यान्वयन गर्न खोज्दा पछिल्लो एकसाता पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास न्युन भइरहेको छ ।

नजिकका भारतीय बजारबाट आयात गरिएका तयारी सामानहरु जाँचपास भए पनि तेस्रो मुलुक र भारतकै टाढाबाट आयात गरिएका वस्तुको जाँचपास प्रभावित भएको भन्सारले जनाएको छ । व्यवसायीले छोटो अवधि दिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख सन्तोष न्यौपानेले पछिल्ला दिनमा मालबाहक गाडी आयात घटेको र भन्सारमा आएका गाडी पनि जाँचपास न्युन मात्रामा हुने गरेको जनाए ।

‘दैनिक जाँचपास हुने गाडीको संख्या घटीरहेको छ, यसको मुख्य कारण एमआरपी कार्यान्वयन नै हो भन्ने हाम्रो बुझाई छ’, उनले भने, ‘यद्यपि हामीसँग व्यवसायीले त्यस्तो गुनासो गर्नुभएको छैन । यो जटिलता समाधान गर्न जरुरी छ ।’ उनले भन्सार परिसरमा केही मालबाहक गाडी एमआरपीकै कारण थन्किएको स्वीकारे । ‘भारततर्फ पनि गाडीको लाइन छ भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘हामीले सहजीकरण गर्ने प्रयास गरिरहेका छौं । तर, एमआरपीविना भन्सार जाँचपास गर्ने कुरा भने हुँदैन ।’

व्यवसायीका अनुसार एमआरपी कार्यान्वयन पछि भैरहवा भन्सार परिसर र भारततर्फ करिब ४ देखि ५ सय गाडी रोकिएका छन् । व्यवसायीले एमआरपी कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै जाँचपास गराएका छैनन् । दैनिक अधिकतम ४० करोडसम्म राजस्व संकलन गर्ने भन्सारको राजस्व २० प्रतिशतको हाराहारीले घटेको छ ।

‘राजस्व प्रभावित हुँदै गएको छ । यसमा के गर्न सकिन्छ भनेर हामीले प्रयास जारी राखेका छौं’, न्यौपानेले भने । व्यवसायीले तत्काल एमआरपी कार्यान्वयन स्थगित गरी साउनदेखि मात्रै कार्यान्वयन गर्न माग गरिरहेका छन् । छोटो समयमा कार्यान्वयनमा जाँदा समस्या भएको उनीहरुको भनाई छ ।

हुनतः एमआरपी सम्बन्धी नियम पहिल्यैको हो । यसअघि कार्यान्वयन गर्न खोज्दा व्यवसायीको विरोधले रोकिँदै आएको थियो । तर, यसपटक सरकारले अनिवार्य गरेपछि व्यवसायी असन्तुष्ट बनेका हुन् । ‘नियम कार्यान्वयन गरे पनि तत्कालका लागि केही सोच्नुपर्ने देखिन्छ’, पन्थीले भने, ‘अहिलेलाई सहजीकरण गरेर सरकारले साउनदेखि लागू गरे प्रभावकारी हुने थियो ।’