‘गठबन्धन हुँदैमा जनताले मत दिँदैनन्, म निर्वाचित हुन्छु’


युवा व्यवसायी गोपाल भण्डारी भैरहवाका लागि परिचित नाम हो । विभिन्न सामाजिक संघसंस्थामा रहेर लामो समय काम गरेका कारण पनि उनलाई सबैले चिन्छन् । सरल स्वभाव, मिजासिलो बोली, मुसुक्क हाँस्ने बानी, धैर्यता र सहयोगी मनका धनी भएकाले पनि उनीप्रति धेरैको सद्भाव र सहानुभूति देखिन्छ । उनै भण्डारी अहिले हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवार बनेका छन् । मुलुकको वर्तमान अवस्थाले आफूलाई चिन्तित बनाए पछि व्यवसाय गर्दागर्दै राजनीतिमा होमिएको बताउने भण्डारी निर्वाचन जित्नेमा ढुक्क छन् । प्रस्तुत छ यिनै युवा राजनीतिकर्मी भण्डारीसँग पब्लिक कुराले गरेको कुराकानीको सम्पादित अंशः
चुनाव प्रचार–प्रसारको काम कसरी अगाडि बढाइरहनुभएको छ ?
विभिन्न ठाउँमा पुग्ने, सल्लाह–सुझाव लिने, आफ्ना एजेन्डा बताउने काम गरिरहेको छु । साथै संघसंस्था, अगुवाहरु, समाजसेवीहरुसँग भेटेर सहयोग गर्न आग्रह गरिरहेको छु । सकभर सबै मतदाताको घरघरमा जाने प्रयास गरेको छु तर प्रचारप्रसार समयवधि निकै कम भएकाले त्यो सम्भव भइरहेको छैन । यद्यपि मेरा एजेण्डा, राष्ट्र र राष्ट्रियताप्रतिको लगाव देखेर धेरैले सहानुभूति दिइरहनुभएको छ । सामाजिक संजालको प्रयोग गरेर पनि प्रचारका काम गरिरहेको छु ।
तपाईंको उम्मेदवारी किन ?
क्षेत्र र प्रदेशको विकासमा मेरा अनुभवहरुलाई प्रयोग गर्न, विकास र जनजीविकाका सवालमा काम गर्न नै मेरो उम्मेदवारी हो । हालका राजनीति दल, तिनका नेताहरु र उम्मेदवारहरुको संस्कार, सिद्धान्त केही छैनन् । अहिले देख्न सक्नुहुन्छ पार्टीको सिद्धान्त, बिचार विपरीत, कार्यकर्ताको मनोभावनाबिरुद्ध गठबन्धन भइरहेका छन् । गठबन्धनहरुबाट रुष्ट भएकाहरु मप्रति आकर्षित हुनुहुन्छ । अर्कातर्फ देशको हालको परिवेशका कारण मेरो उम्मेदवारी हो । आर्थिक संकटमा परिरहेको मुलुकलाई सही दिशामा ल्याउन मैले भूमिका खेल्ने छु । जनभावनामा कुनै ठेस नपुग्ने गरी काम गर्ने छु । म हाल प्रदेशसभा सदस्यमा उठ्दै गर्दा बिगतका दिनमा समाजमा मैले गरेका काम, अहिले देखिएको समस्याहरु हल गर्न मेरो उम्मेदवारी हो । म निजी क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले समग्र निजी क्षेत्रको समस्या समाधान गर्न पनि म उम्मेदवार भएको हुँ । म पहाडको छोरा र मधेशको हिरो भएकाले पनि धेरैको आशा र अपेक्षा मप्रति छ ।
तपाईंलाइ नै मतदाताले किन चुन्ने ?
नेताहले देश विगारे, यसलाई सही मार्गमा ल्याउनु छ । अर्कातर्फ बिगतका दिनमा यस क्षेत्रमा मैले गरेका सामाजिक तथा अन्य कामहरु हुन् । मलाई लाग्छ यहाँका मतदाताले मेरा कामको सही मूल्यांकन गर्नुहुनेछ । मेरा एजेण्डाको अध्ययन गर्नुहुनेछ । मेरा स्पष्ट नीति र योजनाहरु छन् । यहाँको समस्यासँग परिचित छु, फगत मतदाता भुलाउने मात्रै होइन्, गर्न सकिने योजना ल्याएर म अघि बढिरहेको छु । यसै कारण पनि आम प्रदेशसभा ३ (क) का मतदाताले मलाई मतदान गरेर अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।
तपाईंविरुद्ध सत्ता र विपक्षी गरि दुई–दुईवटा गठबन्धनका उम्मेदवार छन् । यस्तो परिस्थितिमा तपाईं विजयी हुनुहुन्छ त ?
गठबन्धन हुँदैमा जनताले मतदान गर्छन्, नेताको हुकुमी शासन मान्छन् भन्ने छैन । अहिलेको आवश्यकता राष्ट्रको हो, देश बनाउने, आमनागरिकको जीवनस्तर परिवर्तन गर्ने हो । यसमा म दृढ छु । धेरै मतदाताले अहिले काम गर्नसक्ने, योग्य र युवा उम्मेदवार खोजिरहनुभएको छ, यसमा म पर्छु । म यहाँका सबै नागरिकसँग घुलमिल छु, सुखदुःखमा साथसाथै रहँदै काम गर्दै आएको छु । मलाई गठबन्धनले फरक पार्छ जस्तो लाग्दैन । नेता मिल्दैमा जनता मिल्छन् भन्ने छैन । अर्कातर्फ नेताहरुले मुलुकका लागि राम्रो काम गरेको भए पो मतदाताले पनि उनीहरुको गठबन्धनलाई पत्याउने । हामी देख्न सक्छौं, अहिले नेताहरुकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको छ । निजी क्षेत्र हत्तोसाहित छ । मतदातामा नैराश्यता छ । म निजी क्षेत्र र आम मतदाताको अनुहारमा खुशीयाली ल्याउन चाहन्छु । मेरा एजेन्डा सबैले मन पराइदिनुहुन्छ भन्ने विश्वास लिएको छु । र, गठबन्धनको पछि लागेर मुलुकलाई अझै वर्वादीतर्फ नलैजानुस्, योग्य यहाँको समस्या बुझेको म तपाईंहरुकै छोरा, भाइ, दाई उम्मेदवार बनेको छु, लौरोमा मतदान गरी अत्यधिक मतले विजयी गराउनुस् भनेर आग्रह गर्न चाहन्छु ।

यहाँले आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ?
एजेण्डा, राष्ट्र र राष्ट्रियताको सवालमा मेरो कोही प्रतिस्पर्धी नै छैन । यद्यपि निर्वाचन हो, प्रतिस्पर्धा त भइहाल्छ । तपाईं र आम मतदातालाई थाहा भएको कुरा हो, मेरा प्रतिस्पर्धी कस्ता छन् भन्ने । उहाँहरुको विगत कस्तो छ, यसमा सबै जानाकार छौं । उहाँहरुले विगतमा यस क्षेत्रमा गरेका गैरराजनीतिक क्रियाकलापले यहाँका आम मतदाता आजित हुनुहुन्छ । विभिन्न आन्दोलनका नाममा जनताका घर तोडफोड गरेका, कुटपिट गरेका घटना अझै ताजै छन् । त्यस्तालाई जिताएर मुलुक र जनताको जीवनस्तर बदलिँदैन भन्नेमा सबै मतदाता सचेत रहेको पाएको छु । यस हिसावले पनि मेरो कोही प्रतिस्पर्धी छैन ।
यहाँ व्यवसायी मान्छे, राजनीतिमा लाग्दा मतदाताले कस्तो प्रतिक्रिया दिइराखेका छन् ?
महत्वपूर्ण कुरा गर्नुभयो, हो म ब्यवसायी मान्छे हुँ । लामो समयदेखि व्यवसायीको राजनीति गर्दै आएको छु । तर, हाल राजनीति गर्नेले राजनीतिलाई ब्यापार बनाए । निजी क्षेत्र, मजÞदूर, किसानको समस्यालाई जर्जर अवस्थामा पुर्याए । यही काराण म राजनीतिमा आएको हुँ । म नेताले विगारेको अहिलेको अवस्थालाई बदल्न चाहन्छु । म उम्मेदवार बन्दा उद्योगी–व्यवसायी मात्रै होइन्, सबै क्षेत्र र वर्गका नागरिकहरु खुशी हुनुहुन्छ । तपाईंप्रति हाम्रो विश्वास छ भन्नुभएको छ । उहाँहरुको विश्वासलाई म टुट्न दिँदैन । सबैले तपाईं जत्तिको योग्यलाई चुन्नुपर्छ भन्नुभएको छ । कोही खुलेर त कोही भित्रभित्रै मलाई जिताउन लाग्नुभएको छ । विश्वास छ अहिले पाइरहेको सकारात्मक प्रतिक्रिया आगामी मंसिर ४ मा मतदानामा पनि देखिने छ । मैले भाती मतले जित्ने छु ।
मंसिर ४ पछिको परिदृश्य कस्तो देख्नुहुन्छ ?
मतदाताले मलाई विजयी बनाउनुहुनेछ । देशभर स्वतन्त्र र लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेकाहरुले जित निकाल्नुहुनेछ । स्वतन्त्र र लौरो अभियानमा संलग्न साथीहरु मिलेर सरकार बनाउनुहुनेछ । र, मुलुक र जनताको अवस्था परिवर्तनमा काम गर्नुहुनेछ ।
यसपटक दलीय आधारमा मतदाताले मतदान गर्लान की एजेण्डा र विगतको कामलाई मूल्यांकन गरेर ?
ढुक्क हुनुस्, दलीय भन्दा एजेण्डाका आधारमा मतदाताले मतदान गर्नुहुनेछ । देशभर स्वतन्त्र र लौरो अभियानका साथीहरुलाई जिताउनुहुनेछ । अझ भन्ने हो भने म जस्ता युवाहरुलाई मतदाताले रोज्नुहुनेछ ।
यहाँ व्यवसायी मान्छे, यदि निर्वाचित हुनुभयो भने उद्योगी व्यवसायीको क्षेत्रमा के काम गर्नुहुन्छ ?
सबैभन्दा पहिला त अहिलेको विग्रिएको आर्थिक अवस्था सुधार गर्न पहल गर्नेछु । उद्योगी, ब्यवसायी, किसान, मजÞदूर र आमनागरिक र यस क्षेत्रको समृद्धि र बिकासका निम्ति सधै लाग्ने छु । म विगतदेखि लागिरहेकÞो पनि छु । उद्योगीबाट उठाएको कर उनीहरुकै उत्थान र विकास अभिबृद्धिमा खर्च गर्ने वातावरण सिर्जना गर्ने छु । सुलभ कर्जा र राहतका प्याकेजहरु ल्याउने छु । सबै क्षेत्र, वर्गलाई समेटेर विकासमा लाग्ने छु । त्यसैले एकपटक मलाई अवसर दिन समग्र मतदातालाई हार्दिक अनुरोध गर्दछु ।








लेखकको सम्वन्धमा