June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

आजदेखि विश्वकप फुटबलः भव्य हुँदैछ उद्घाटन समारोह

Advertisement

विश्व खेलकुदमै सर्वाधिक हेरिने फुटबलको महाकुम्भ ‘विश्वकप-२०२६’ आज सुरु हुँदैछ। नेपाली समयअनुसार राति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबिच विश्वकपको पहिलो खेल सुरु हुनेछ।

Advertisement

यसपटकको विश्वकप केवल खेलकुद प्रतियोगितामा मात्र सीमित नभएर उत्तर अमेरिकाभरि फैलिने एउटा विशाल सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गरिँदैछ। फिफाका आधिकारिक घोषणा तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएकोजानकारी अनुसार यसपटकको उद्घाटन समारोहमा पाँचवटा विशेष र ऐतिहासिक पक्षहरू समेटिएका छन्।

इतिहासमै पहिलो पटक तीनवटा उद्घाटन समारोह
विश्वकपको इतिहासमा यसअघि एउटा मात्र उद्घाटन समारोह हुने परम्परा थियो। तर, सन् २०२६ को यो संस्करणमा तीनवटै आयोजक राष्ट्रहरू मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले आ-आफ्नै देशभित्र छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गर्दैछन्। फिफाले यसलाई ‘तीन देश, एउटै विश्वकप’ अवधारणाको जीवन्त सांस्कृतिक प्रदर्शनका रूपमा अघि सारेको छ। यसअन्तर्गत पहिलो समारोह मेक्सिको सिटीमा, दोस्रो टोरन्टोमा र तेस्रो लस एन्जलसमा आयोजना गरिनेछ।

उद्घाटन खेल हुने रंगशालाको ऐतिहासिक कीर्तिमान
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ। यो ऐतिहासिक खेल मेक्सिको सिटीस्थित प्रसिद्ध ‘इस्टाडियो एस्टेका’ (फिफाको आधिकारिक नाम: मेक्सिको सिटी स्टेडियम) मा हुनेछ।

सन् १९७० र १९८६ को विश्वकप उद्घाटन समारोहको साक्षी बनिसकेको यो रंगशालाले तेस्रो पटक पनि उद्घाटन खेल आयोजना गर्दै छ। यससँगै एस्टेका रंगशाला विश्वकप इतिहासमै तीनवटा उद्घाटन खेल सञ्चालन गर्ने विश्वकै पहिलो रंगशाला बन्ने छ।

विश्वव्यापी सांगितिक स्टारहरूको जमघट
फिफाले यसपटक विश्वकपलाई खेल र मनोरञ्जनको एउटा संयुक्त महाउत्सव बनाउने प्रयास गरेको छ। तीनवटै देशका उद्घाटन समारोहमा संसारभरका ख्यातिप्राप्त संगीतकार तथा कलाकारहरूले आफ्नो प्रस्तुति दिँदैछन्।

मेक्सिकोको समारोहमा साकिरा, बर्न ब्वाय, माना, अलेहान्ड्रो फर्नान्डेज र बेलिन्डा जस्ता स्टारहरूले स्टेज सम्हाल्नेछन्। क्यानडाको समारोहमा माइकल बुबले, एलानिस मोरिसिट र एलेसिया कारा देखिनेछन् भने अमेरिकी समारोहमा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टायला जस्ता विश्वप्रसिद्ध कलाकारहरूले दर्शकलाई झुमाउने छन्।

सांस्कृतिक रुपमासमेत विशेष
यसपटकको विश्वकप कतार २०२२ को जस्तो एउटै देशको संस्कृतिमा मात्र केन्द्रित हुने छैन। विशेषगरी मेक्सिकोको समारोहमा त्यहाँका स्थानीय आदिवासी परम्परा, लोकसंस्कृति, ‘पापेल पिकाडो’ सजावट र मेक्सिकन पहिचान झल्काउने कार्यक्रमहरू समाविष्ट छन्। अर्कोतर्फ, क्यानडाले आफ्नो बहुसांस्कृतिक पहिचानलाई प्रतिविम्बित गर्न ‘मोजाइक’ अवधारणा प्रयोग गर्ने घोषणा गरेको छ। यसले गर्दा उत्तर अमेरिकाको विविधतायुक्त सांस्कृतिक रूपलाई विश्वले नजिकबाट नियाल्न पाउने छ।

विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण
उद्घाटन समारोहको भव्यता र चर्चा चुलिनुको मुख्य कारण प्रतियोगिताको विशाल स्वरूप पनि हो। यो विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण हो, जहाँ ४८ वटा राष्ट्रहरूले सहभागिता जनाउँदैछन्। कुल १६ वटा सहरका अत्याधुनिक रंगशालाहरूमा १०४ वटा खेलहरू सञ्चालन हुने छन्। तीनवटा देश मिलेर आयोजना गर्न लागेको यो पहिलो वृहत् प्रतियोगिता हो।