August 14, 2026, Friday
२०८३ श्रावण ३० शनिबार

मसाज सेन्टर, क्यासिनो र खाजानास्ता पसलसँगै बढ्दो सामाजिक बिकृति

Advertisement

भैरहवा—केही वर्षयता भैरहवा तथा आसपासका क्षेत्रमा होटल, रेष्टुरेन्ट, खाजानास्ता पसल, क्यासिनो र मसाज सेन्टर खुल्ने क्रम तीव्र छ । पर्यटन व्यवसायसँग लक्षित गरेर खुलेका यी व्यसायसँगै यसले निम्त्याएको सामाजिक विकृति र सुरक्षा चुनौतीको बिषयपनि गम्भीर बन्दै जान थालेको छ । पर्यटन व्यवसायको नाममा सञ्चालित केही व्यवसायले समाजलाई नकारात्मक असर पार्न थालेपछि स्थानीयस्तरमा चर्को आक्रोश र चिन्ता व्यक्त हुन थालेको छन् ।

Advertisement

भारतीय नागरिकलाई आकर्षण गरी विदेशी मुद्रा भित्राएर रोजगारी र पर्यटन व्यवसायमा योगदान पुर्याइरहेको भए पनि यस्ता व्यवसाय स्पष्ट मापदण्ड र प्रभावकारी नियमनबिना सञ्चालन हुँदा गम्भीर सामाजिक समस्या निम्तिन थालेका छन् । सामाजिक विकृति, महिला तथा बालबालिकामाथिको र्दुव्यवहार र मानव बेचबिखनको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।

माइती नेपाल, आवधिक गृह भैरहवाले हालै आयोजना गरेको एक समीक्षा कार्यक्रममा सहभागीहरूले भैरहवामा सञ्चालित क्यासिनो, मसाज सेन्टर तथा खाजानास्ता पसलका कारण उत्पन्न सामाजिक विकृति र मानव बेचबिखनको जोखिमबारे गम्भीर चिन्ता व्यक्त गरे ।

माइती नेपाल, आवधिक गृह भैरहवाकी प्रमुख माया क्षेत्रीले केही क्यासिनो, मसाज सेन्टर र खाजानास्ता पसलमा युवती तथा किशोरीहरू बेचबिखनको जोखिममा पर्ने र उनीहरूलाई इच्छाविपरीतका गतिविधिमा लगाइएको गुनासो आउने गरेको बताइन् । ‘स्थानीय धेरै महिला जनप्रतिनिधिले समेत यस विषयमा कुरा उठाउने गर्नुभएको छ । मैले पनि मानव बेचबिखन नियन्त्रण जिल्ला समितिमार्फत समस्या पटक–पटक उठाउँदै आएकी छु’ क्षेत्रीले भनिन्, ‘पेशा–व्यवसाय गर्ने हो भने मर्यादित र सुरक्षित हुनुपर्छ । नियमनकारी निकायको भूमिका प्रभावकारी हुनुपर्छ ।’

स्थानीयका अनुसार, स्थानीय युवती, छात्रा तथा महिलामाथि दुव्र्यवहार गर्ने, जिस्क्याउने, अश्लील व्यवहार गर्ने तथा शारीरिक सम्पर्कका लागि प्रस्ताव राख्ने गरेका घटना सुनिन थालेका छन् । यस्तो व्यवहारका कारण विद्यालय तथा कलेज जाने छात्रा र स्थानीय महिलालाई सडकमा निर्धक्क हिँडडुल गर्नसमेत कठिनाइ हुन थालेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तह र प्रशासनिक निकायबाट हुने अनुगमन प्रभावकारी नभएको गुनासोसमेत गरे । कतिपय स्थानमा अनुगमनका नाममा औपचारिकता पूरा गर्ने मात्र काम हुने गरेको उनीहरूको आरोप थियो ।

सिद्धार्थनगर नगरपालिका–१ की महिला जनप्रतिनिधि हरिमाया गुरुङले सिद्धार्थनगरमा सञ्चालनमा रहेका केही स्पा तथा मसाज सेन्टरमा विकृति बढ्दै गएको बताइन् । ‘क्यासीनो, स्पा र खाजानास्ता पसलको व्यवसायको नाममा धेरै सामाजिक विकृति मौलाएको छ । स्थानीय छोरीचेली सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्था छैन’ गुरुङले भनिन्, ‘नियमनकारी निकायहरुबाट त्यस्ता स्थानमा प्रभावकारी अनुगमन हुन सकेको छैन । अनुगमनका नाममा झारा टार्ने काम मात्र हुने गरेको छ ।

चितवनबाट भैरहवा ल्याइएकी १५ वर्षीया एक बालिकालाई सञ्चालकले जर्जवस्ती यौनधन्दामा लगाएको र ती बालिकालाई दैनिक ७ देखि १० जनासम्म पुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिएको घटना उक्त कार्यक्रममा खुलासा गराइएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ती बालिकालाई भीम अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।

स्थानिय प्रशासन, प्रहरी र स्थानीय तहले प्रभावकारी अनुगमन र कडा कारबाही नगर्दा कतिपय मसाज सेन्टर र खाजानास्ता पसलहरूमा सिधै यौनधन्दा सञ्चालन भइरहेको स्थानीयहरूको आरोप छ ।

सिद्धार्थनगर नगरपालिका–३ का वडाध्यक्ष नारायण उपाध्यायले कार्यपालिका बैठकमा पटक–पटक कुरा उठाए पनि अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधिहरूलाई बेवास्ता गरिने गरेको दुखेसो पोखे । कतिपय मसाज सेन्टर ३–४ तलामाथि सञ्चालन हुने भएकाले अनुगमन टोली पुग्नुअघि नै सूचना चुहावट हुने गरेको उनको भनाइ छ । ‘नगरपालिकाको अनुगमन समितिको संयोजक उपप्रमुख अनुगमनमा जाँदा हामीलाई कुनै जानकारी हुँदैन’ उपाध्यायले भने, ‘अनुगमनमा के कारबाही भयो ? त्यो पनि थाहा हुँदैन ।’

पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको नाममा सञ्चालन हुने यस्ता व्यवसायहरू मर्यादित, व्यवस्थित र सुरक्षित हुनुपर्नेमा कार्यक्रममा सहभागीले जोड दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएपी तथा प्रबक्ता कृष्णकुमार चन्दले केही मसाज सेन्टरमा अवैध गतिविधि हुने जानकारी प्राप्त भएको जनाउँदै यस्ता बिकृति नियन्त्रणकालागि स्पष्ट मापदण्ड बनाएर सवै नियमनकारी निकायले प्रभावकारी भूमिका निभाउनु पर्ने बताए । बिशेष गरि स्थानिय निकाय नै यसप्रति बढि जिम्मेवार हुनु पर्ने भनाइ उनको छ ।