August 14, 2026, Friday
२०८३ श्रावण ३० शनिबार

पहिरोमा सम्पर्कविहीनको खोजी र उद्धारलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

Advertisement

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घटनाप्रति दुःख व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको खोजीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, प्रशासन, स्थानीय समुदाय तथा स्वयंसेवकलाई समन्वय गरेर उद्धारमा परिचालन गर्न आग्रह गरेका छन् ।

Advertisement

रोल्पाको थबाङ गाउँपालिका–५ स्थित बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।

अविरल वर्षापछि बुधवार गएको पहिरोमा दुई जनाको मृत्यु भएको र १० जना सम्पर्कविहीन रहेको घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाएका हुन् ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू समेत घटनास्थलमै पुगेर खोज तथा उद्धार कार्यको समन्वय गरिरहेका छन्।

मुख्यमन्त्री आचार्यले विपद्का बेला सम्पर्कविहीनको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले खोजी अभियानमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य स्रोतसाधन तत्काल उपलब्ध गराउन प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको उनले जनाएका छन् ।

पहिरो प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम हुनसक्ने भएकाले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकलाई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ। यसैगरी, पहिरोमा परी घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको मुख्यमन्त्री आचार्यले बताउका छन् ।

घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। प्रभावित परिवारलाई तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।

खोज तथा उद्धार अभियान सकिएपछि प्रभावित परिवारको पुनःस्थापना र आवश्यक राहतका कार्यक्रम अघि बढाइने प्रदेश सरकारले जनाएको छ ।

वर्षायाममा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र विपद्को संकेत वा सूचना प्राप्त भए सुरक्षित स्थानमा सर्न पनि मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् ।