August 14, 2026, Friday
२०८३ श्रावण ३० शनिबार

रोल्पामा फेरि पहिरो, सुनछहरीमा दुई घर पुरिए

Advertisement

रोल्पा– रोल्पामा फेरि पहिरोले घर पुरेको छ । जिल्लाको सुनछहरी गाउँपालिका–२ मा गएराति दुई घर पहिराले पुर्दा चार जना बेपत्ता भएको प्रहरी आशंका छ ।

Advertisement

सुनछहरी – २ का वडाध्यक्ष कृष्णबहादुर बुढाले वडाको विर्छमा पहिरोले अन्दाजी ६५ वर्षीया लामी घर्ती मगर घर भित्रै पुरिएको बताए । लामीको अवस्था अज्ञात रहेको पनि वडाध्यक्ष बुढाले जानकारी दिए। ‘राति पहिरो झर्दै गर्दा घरका अरु सदस्यले भागेर ज्यान जोगाएको भन्ने छ,’ वडाध्यक्ष बुढाले भने।

रोल्पा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पहिरोले दुई घर पुरेको भन्ने सूचना आएको र स्थानीय प्रहरी घटनास्थल पुगे पनि फोन सम्पर्क हुन नसकेका कारण यकीन विवरण प्राप्त हुन नसकेको बताए । उनका अनुसार वडाको फालावाङमा अर्को एउटा घर पहिरोले पुर्दा दुई महिला र एक पुरुष बेपत्ता रहेको भन्ने सूचना पनि प्राप्त भएको छ।

‘घटनास्थलमा कसैसंग फोन सम्पर्क भएको छ,’ उनले भने, ‘घटनास्थल विकट र टाढा छ। म केही बेरमा त्यता जाने तयारीमा छु।’

स्थानीयले दुई घर पहिरोले पुर्दा चार जना बेपत्ता रहेको भन्ने सूचना दिएको भए पनि केही बेरमा पहिरोले पुर्‍याएको क्षतिको यकीन विवरण प्राप्त हुने प्रहरी निरीक्षक श्रेष्ठले बताए।

रोल्पाको थवाङमा बुधबार बेलुकी झरेको पहिराले १० जनाको मृत्यु भएको थियो। पहिरोमा परेका मध्य तीन जना अझै फेला पर्न सकेका छैनन् । थप दुई जना घाइतेको भने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ।