August 14, 2026, Friday
२०८३ श्रावण ३० शनिबार

७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा ब्युँताउन एमालेमा कार्यदलको सुझाव

Advertisement

नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीले हटाएको दुई कार्यकालको प्रावधान र उमेर हद पुनः लागू गर्न सुझाव दिएको छ।

Advertisement

कार्यदलका सदस्यसचिव समेत रहेका महासचिव शंकर पोखरेलले अन्तिम रूप दिइको प्रतिवेदन मसौदामा पार्टीका कार्यकारी कमिटीका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा लगातार दुई कार्यकालसम्म मात्र रहन पाउने सीमा पुनर्स्थापना गर्नुपर्ने उल्लेख छ। गत भदौ २२  गते विधान महाधिवेशनबाट एमालेले यी दुई वटै प्रावधान हटाएको थियो।

केपी शर्मा ओलीलाई तेस्रो कार्यकालको अध्यक्ष बनाउन एमालेले २०८२ साउन ३ गते पार्टीको पोलिटब्युरो बैठकबाट पार्टी विधान संशोधन गर्ने निर्णय गरेको थियो। जसलाई दोस्रो विधान महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गरेको थियो।

प्रतिवेदनको खण्ड ख मा नेतृत्व सम्बन्धी सुझावहरूको तेस्रो  बुँदामा पोखरेलले पार्टी कमिटीहरूमा उमेर हद र कार्यकालको व्यवस्था तत्काल पुनर्स्थापना गर्न तल्लो तहले सुझाव दिएको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गर्दै ११ औँ महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ। साथै पार्टी विधान संशोधनको गम्भीर असर पार्टीमा देखिन थालेको उल्लेख छ।

जेठ १० गते वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बनेको १५ सदस्यीय कार्यदलले असार २३ गतेसम्ममा सबै प्रदेशमा भेला र छलफल गरी सुझाव संकलन सकेको थियो।

त्यसपछि थापाले महासचिव पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिएका थिए। प्रतिवेदनको मसौदा संयोजक थापा र अध्यक्ष ओलीलाई बुझाएका पोखरेलले बिहीबार कार्यदलका सदस्यलाई पनि अध्ययन गर्न दिएका छन्। प्रतिवेदनमा आफूले राजीनामा दिनुपर्ने विषय राखेको भन्दै ओली क्रुद्ध भएका थिए।

यद्यपि, पार्टी सचिव एवं कार्यदल सदस्य भानुभक्त ढकालले प्रतिवेदन नपाएको र कार्यदलको बैठकबारे अझै कुनै जानकारी नपाएको बताए।

पोखरेलले तयार पारेको प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तारण आवश्यक रहेको उल्लेख गरेका छन्। साथै पार्टी कमिटी चुस्त बनाउन पनि सुझाव दिइएको छ।