कृष्णनगर नाकाबाट बियरको कच्चापदार्थ आयात बृद्धि


कपिलवस्तु— लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुको कृष्णनगर नाका हुँदै वियरका कच्चा पदार्थको आयात बृद्धि भएको छ । उक्त नाका हुँदै प्रत्येक वर्ष बियरका कच्चा पदार्थको आयात बढिरहेको हो । कृष्णनगर भन्सारका अनुसार नाकाबाट बियर बनाउने कच्चा पदार्थ र त्यसलाई राखिने काँचको सिसी, बोतल आयात बढेको हो ।
नेपालका प्रमुख तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै बियर बनाउने कच्चा पदार्थ र सिसाको बोतलको आयात बर्सेनि बढाउँदै लगेका छन् । उद्योगहरूले बियरको बोतलमा लगाउने बिर्को पनि भारतबाटै आयात गर्दै आएका छन् । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाका हुँदै चार वर्षयता बियरको कच्चा पदार्थ र बोतलको आयात बढ्दै गएको छ ।
गत आव ०८२–८३ मा मात्र ३ अर्ब ४७ करोड २५ लाख मूल्य बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फरमेन्टेड जौँ), बियरको सिसाको बोतल र बियरमा लगाउने बिर्को आयात भएको छ ।
गत आवमा एक अर्ब ९५ करोड बराबरको ७ लाख २९ हजार ४ सय ८३ ग्रुस काँचको बोतल आयात भएको छ । एक ग्रुसमा एक सय ४४ बोतल हुन्छ । त्यसबापत ५० करोड ६२ लाख भन्सार राजस्व प्राप्त भएको छ । आव ०८१–८२ को तुलनामा ०८२–८३ मा आयात दोब्बर पुगेको हो । ०८१–८२ मा ९७ करोड २५ लाख ७५ हजार मूल्य बराबरको ३ लाख ३४ हजार ४ सय ६३ ग्रुस बोतल आयात भएको थियो ।
त्यसबापत २१ करोड ४१ लाख ८१ हजार भन्सार राजस्व प्राप्त भएको थियो । गत आवमा ३७ करोड ९९ लाख बराबरको एक करोड ६५ लाख ग्रुस बिर्को आयात हुँदा १३ करोड ५३ लाख राजस्व संकलन भएको थियो ।
बर्सेनि बियरका लागि काँचको सिसी बोतल आयात बढ्दै गएर कृष्णनगर नाकाबाट मूल्यका आधारमा आयात हुने मालवस्तुमा चौथो र बढी राजस्व संकलन हुने मालवस्तुमा तेस्रो नम्बरमा रहेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत मयंक कर्णले बताए । त्यस्तै मूल्यका आधारमा बढी आयात हुने बियरको कच्चा पदार्थ माल्ट पाँचौँ नम्बर र राजस्व संकलन बढी हुने मालवस्तुमा चौथो नम्बरमा रहेको उनले बताए ।
आव ०८२–८३ मा एक अर्ब १४ करोड मूल्य बराबरको बियरको कच्चा पदार्थ माल्ट १५ हजार ४ सय ९ मेट्रिक टन आयात भएको छ । त्यसबापत ३४ करोड २० लाख राजस्व संकलन भएको छ । त्यस्तै आव ०८१–८२ मा एक अर्ब ९५ लाख २३ हजार बराबरको १४ हजार एक सय २३ मेट्रिक टन माल्ट आयात भएको थियो । त्यसबापत ३१ करोड ८३ लाख राजस्व संकलन भएको छ । माल्ट आयात पनि बर्सेनि बढ्दै गएको छ ।
नेपालमा बियरको उपभोग बढेसँगै त्यसका लागि चाहिने कच्चा पदार्थ र बोतलको आयात बढ्दै गएको कपिलवस्तु नगरपालिका चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । भारतको फिरोजावाद सहरबाट काँचका सिसी बोतल र माल्ट आउने गर्छ । भारतको उत्तर प्रदेश राज्यको आगरानजिकको फिरोजावाद सहर सिसाका भाँडाकुँडा र चुरा बनाउने भारतको प्रमुख केन्द्र हो ।
त्यहाँ उत्पादित सिसा भाँडाकुँडाको राम्रो गुणस्तरका लागि परिचित हुँदा नेपाली उद्योगले त्यहीँबाट सिसाका बोतल अर्डरमा बनाएर ल्याउने प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले बताए । उद्योगहरूले बोतलमा नाम लेखेर तयारी अवस्थामा ल्याउने गर्छन् ।
त्यहाँबाट टुबोर्ग, काल्सवर्ग र सनमिगियल बियरको ब्रान्ड उत्पादन गर्ने नवलपुरको गोर्खा ब्रुअरी, अर्ना बियर ब्रान्ड उत्पादन गर्ने चितवनको यति ब्रुअरी र वर्डवाइजर ब्रान्ड उत्पादन गर्ने नवलपरासीको राज ब्रुअरी उद्योगले कच्चा पदार्थ र सिसाको बोतल आयात गरिरहेको उनले बताए ।
नेपालको बियर उद्योगमा सबैभन्दा बढी बजार हिस्सा गोर्खा ब्रुअरीको रहेको छ । त्यसपछि दोस्रोमा सिजी र यति ब्रुअरी छन् । कृष्णनगर नाकाबाट फिरोजावाद सहर नजिक पर्ने र सडक सञ्जाल पनि राम्रो हुँदा यहीँबाट आयात बढेको हो । भन्सार कार्यालयमा पनि अन्यत्र जस्तो भीड नभई जुन दिन आयो उही दिन जाँच पास भएर लैजान सकिने हुँदा कृष्णनगर नाका बढी प्रयोग हुने गरेको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाह बताउँछन् ।








प्रतिकृया दिनुहोस्