August 3, 2026, Monday
२०८३ श्रावण १९ मंगलवार

पोखरेल भन्छन्– आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर हिंसाको दोष अरूलाई थोपरियो

Advertisement

भैरहवा– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने गरेको आरोप लगाएका छन् ।

Advertisement

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षको पछिल्लो रणनीतिमाथि तिखो व्यङ्ग्य गरेका हुन् ।

उनले आफ्ना कार्यकर्तालाई आन्दोलनकारी बनाउने र फेरि तिनैसँग वार्ता गरेर सम्झौताको नाटक गर्ने गरिएको उल्लेख गरेका छन् । पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त ?’

पछिल्लो समय देशमा भइरहेका विभिन्न आन्दोलन, त्यस क्रममा भएका झडप र सरकारी पक्षसँग भएका सम्झौताहरूलाई लक्षित गर्दै महासचिव पोखरेलको यो भनाइ आएको हो । उनले सत्तासीन शक्तिले योजनाबद्ध रूपमा परिस्थिति भड्काउने र त्यसको राजनीतिक दोष विपक्षी दलहरूलाई दिएर आफू उम्किने प्रयास गरेको आरोप लगाएका छन् ।