लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सद्भाव र्याली


भैरहवा—मुलुकमा दिगो शान्तीको कामना गर्दै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शान्ति र सद्भाव र्याली निकालिएको छ । पूर्वी तराईमा दुई समुदायबीच उत्पन्न तनाव साम्य पार्न दबाब दिने र मेलमिलापको संदेश दिन यस्ता र्याली आयोजना गरिएका छन् । लुम्बिनीका रुपन्देही, पाल्पा र बाँके जिल्लामा शनिवार बिहान र्याली निकालिएका हुन् ।
रुपन्देहीको भैरहवामा शनिबार बिहान व्यवसायिक संघ–संस्थाले मुलुकमा शान्ति स्थापनाको कामना सहित सद्भाव र्याली निकालेका थिए । सिद्वार्थ उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श रुपन्देहीको अगुवाइमा सद्भाव र्याली आयोजना गरिएको हो । उक्त र्यालीमा भैरहवा र आसपासका उद्योगी, व्यवसायीका साथै सदरमुकाम भैरहवामा रहेका सामाजिक संघ–संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । उनीहरु राष्ट्रिय झण्डा सहित आएका थिए ।
भैरहवाको लुम्बिनी गेटबाट बिहान सुरु भएको र्याली बर्मेली टोल हुँदै मुख्य बजारको मिलनचोकमा पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीले रुपन्देहीमा सबै समूहबीच एकता कायम रहेको र आगामी दिनमा पनि मिलेर सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्वता जनाएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले मुलुकले कुनैपनि प्रकारका हिंसा थेग्न नसक्ने भएकाले संवाद र सदभावबाटै शान्ति कायम गर्नुपर्ने बताए ।
चेम्बर अफ कमर्शका अध्यक्ष सचिन रोकाले मुलुकमा सबै समुदायले मिलेर शान्ति स्थापना गर्नुपर्छ भनेर संदेश दिन सदभाव ¥याली आयोजना गरिएको जनाए । र्यालीपछि नागरिक र उद्योगी व्यवसायीका अगुवाले संयम र सदभाव मार्फत शान्ति कायम राख्नु पर्नेमा जोड दिए ।
पाल्पाका ६ राजनीतिक दलले शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न प्रतिबद्धता जनाएका छन् । उनिहरूले सामाजिक सद्भाव, संयमता र शान्ति कायम राख्न पनि आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न संयुक्त अपिल गरेका छन् ।
सत्तारुढ दल रास्वपासहित कांग्रेस, एमाले, नेकपा, राप्रपा र जनमोर्चाले संयुक्त विज्ञप्ति निकाल्दै नेपालको विविधताबिचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकलाई आग्रह गरेका छन् । उनीहरूले समस्या समाधानका लागि आवेग र उत्तेजनाभन्दा पनि शान्तिपूर्ण संवाद तथा सहमतिको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन् ।
‘कठिन परिस्थितिमा नागरिकलाई धैर्य, संयम र जिम्मेवारीपूर्वक प्रस्तुत हुन आग्रह गर्छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘अपुष्ट सूचना, अफवाह तथा सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्छौं ।’ राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था र सञ्चारमाध्यमलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा साझा पहल गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

राजनीतिक दलहरूले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै दलहरूले संयुक्त विज्ञप्तीमार्फत नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान भएकोमा जोड दिएका छन् । धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर आपसी सम्मान, सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउनुपर्नेमा उनीहरुको जोड रहेको छ ।
बाँकेको नेपालगन्जमा शनिवार विहान सदभाव र्याली निकालिएको छ । र्यालीमा सयौं नागरिक सहभागी थिए । बाँकेमा शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सरोकारवालाले प्रतिबद्धता जनाएर सदभाव र्याली निकालेका हुन । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको सर्वपक्षीय बैठकमा सरोकारवालाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
जिल्लामा अप्रिय अवस्था सिर्जना हुन नदिन तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले सबै सरोकारवालाको सहभागितामा शनिवार बिहान नेपालगञ्जको वीपी चोकदेखि धम्बोजी (विरेन्द्र चोक)सम्म सद्भाव र्याली आयोजना गरिएको थियो ।








प्रतिकृया दिनुहोस्