August 3, 2026, Monday
२०८३ श्रावण १९ मंगलवार

बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि चिन्ता


भैरहवा–पर्यापर्यटनको मुख्य आकर्षण पाटे बाघको आक्रमणबाट गत आर्थिक वर्ष मा १० जनाको मृत्यु भएको छ । यसले मानव–वन्यजन्तु द्वन्दलाई उत्कर्षमा ल्याएको छ । यसअघि चार वर्षसम्म बाघको आक्रमणबाट मृत्यु हुनेका संख्या घट्दै गएको थियो । तर गत आवमा मृतक बढेका हुन् ।

Advertisement

गत वर्ष सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । बर्दिया निकुञ्ज क्षेत्रमा २ जना, चितवन निकुञ्ज आसपास क्षेत्रमा एक जना र पर्सा निकुञ्ज क्षेत्रमा तीन जनाले बाघको आक्रमणबाट ज्यान गुमाएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । गत वर्ष बर्दियामा चितुवाको आक्रमणबाट ९ जनाको मृत्यु भएको थियो ।

Advertisement

अघिल्लो आवमामा बाघको आक्रमणबाट ७ जनाको मृत्यु भएको थियो । त्यसअघि ०८०–८१ मा १० जना र आव २०७९–८० मा १२ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । आव २०७८–७९ मा २१ जना र आव २०७७–७८ मा १३ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका थिए । आव ०७६–७७ मा आठ र आव ०७५–७६ मा बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको थियो ।

पछिल्लो ८ वर्षमा मुलुकभर बाघको आक्रमणबाट ८५ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । बाघ संरक्षणको महत्त्वबारे सचेतना जगाउन हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

सम्मेलनले बाघ–मानव द्वन्द्वमा मान्छेकै कमजोरी देखाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । ‘हामीले बाघको आनीबानी परिवर्तन गर्न सक्दैनौं,’ उनले भने, ‘तर हामी त परिवर्तन हुन सक्छौं नि ! त्यसैले अबको अभियान स्थानीय समुदायको बानी परिवर्तनसँग सम्बन्धित हुनुपर्छ ।’ आचार्यका अनुसार धेरैले एकोहोरो द्वन्द्वको कुरा गर्छन् । द्वन्द्व त दोहोरै छ । बाघले चौपाया र मान्छे मार्ने र मान्छेले पनि विष हालेर बाघ मार्ने गरेको अवस्था छ । यसका लागि बाघको आनीबानी, ब्यहोरा जान्नु आवश्वक रहेको आचार्यले बताए ।

आचार्यका अनुसार चौपायका लागि घाँसपात गर्न जाने, च्याउ, निउरो खोज्न वनजंगल जाने बाध्यतालाई अन्य वैकल्पिक अवसर सिर्जना गर्न सक्यौं भने द्वन्द्वको अवस्था आउँदैन । बाघको संख्या धेरै हुँदैमा द्वन्द्व बढ्छ भन्ने अध्ययनले देखाउँदैन । समस्यामा आएको बाघलाई समयमै पहिचान गर्न सकियो भने नराम्रो अवस्था नआउने आचार्यको दाबी छ । २०२६ मा भएको राष्ट्रिय बाघ गणनाले बाघको संख्या बढ्ने निश्चित भएको अधिकारी बताउँछन् । करिब ४ सयको हाराहारीमा रहने अनुमान गरिए पनि कति बढ्छ भन्ने कुरा बुधबार विश्व बाघ दिवसमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

अहिलेकै अवस्थामा बाघ धेरै भयो भनिएका बेला बाघको संख्या बढ्ने कुरा थप पेचिलो बन्ने देखिएको छ । यसलाई सरकारी अधिकारी र संरक्षणकर्मीले व्यवस्थापन गर्न गाह्रो हुने देखिन्छ । बलिष्ठ शरीर र अभूतपूर्व रङ संयोजनले गर्दा बाघ ज्यादै आकर्षक देखिन्छ । नेपालमा पाइने अनेक प्राणीमध्ये बाघ एक दुर्लभ र लजालु स्वभावको प्राणी हो । त्यसैले सबैले हेर्न मन पराउँछन् । पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ मा गरिएको गणनामा त्यतिबेला रहेको बाघको संख्या १ सय २१ लाई बढाएर दोब्बर पु¥याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गणना गर्दा झण्डै तेब्बर ३ सय ५५ पुगेको थियो । नेपालले उक्त सम्मेलनमा बाघको संख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी संख्यामा बाघ बढाउन सफल भएको छ । नेपालमा सबैभन्दा धेरै १ सय २८ बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । त्यसपछि बर्दियामा १ सय २५ वटा रहेका छन् । त्यसैगरी पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा रहेका छन् ।

अपेक्षाअनुसार बाघ बढे पनि अवसरसँगै चुनौती पनि थपिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वसदस्य–सचिब डा. नरेश सुवेदीले बताए । अब विदेशी पर्यटकलाई बढीभन्दा बढी बाघ देखाएर फाइदा लिनेतर्फ सोच्नु पर्छ । ‘बाघका लागि धेरै खर्च गर्ने पर्यटक पनि छन्,’ उनले भने, ‘तिनलाई लक्ष्य गरेर योजना र कार्यक्रम बनाएर स्थानीयदेखि मुलुकसम्म फाइदा लिनुपर्छ ।’ बासस्थान संरक्षण र व्यवस्थापन, आहारा प्रजातिका वन्यजन्तुको वृद्धि, चोरी सिकारी नियन्त्रण, राष्ट्रिय निकुञ्जको विस्तार र भारतसँगको वन्यजन्तु करिडोर निर्माणले बाघको संख्या वृद्धिमा सहयोग पुगेको उनले बताए ।

बाघको संख्या बढ्दै जँदा उपलब्ध संरक्षण क्षेत्रले कति बाघको संख्या थेग्न सक्छ भन्ने सवालमा पनि स्पष्ट हुनुपर्ने बेला आएको छ । कतिपयले वातावरणीय क्षमताको हिसाबले बाघको संख्या बढी भएको तर्क गर्छन् भने संरक्षणकर्मीहरू कम्तीमा ४ सय बाघको संख्या धान्ने क्षमता (क्यारिङ क्यापिसिटी) नेपालमा भएको तर्क गर्छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा १ सय ५० बाघ भए पुग्ने बताइरहँदा वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले ४ सयदेखि ५ सयसम्म बाघ पाल्न सकिने बताएका थिए ।

अहिले उपलब्ध आहारा, प्रजाति, राम्रो ग्रासल्यान्ड व्यवस्थापन, निकुञ्ज, मध्यवर्ती क्षेत्र र वनजंगलको अवस्थाले ५ सयसम्म बाघलाई धान्न सक्ने अवस्था रहेको बरालको दाबी छ । एउटा भाले बाघले ५० र बघिनीले ३० वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो टेरिटोरी बनाएर बस्ने गरेको बताइए पनि सिद्धान्ततः उक्त अध्ययन अहिले फरक पाइन थालेको बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताए । तर, बर्दियामा भने एउटा बाघका लागि ७ देखि ८ वर्ग किलोमिटरको बासस्थान छ । बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमटिरमा फैलिएको छ ।

यहाँ १ सय २५ वटा बाघ छन् । एउटा भाले बाघ तीनवटा बघिनीसँग बस्न सक्छ भन्ने कुरा छ । यसरी त ८–१० वर्ग किमिमा एउटा भाले र ३ वटा पोथी बस्ने देखियो । अझ तिनीहरू बच्चा पाए भने त अझ बढ्ने भए । यसरी सिद्धान्ततः पढेको कुरा मिल्ने नदेखिएको उनले बताए । बासस्थानमा अन्य बाघ–बघिनी आएर स्थायी रूपले बस्न खोजे बाघ–बघिनीबीच झगडा पर्छ । पुरानोले आफ्नो क्षेत्र छाड्न चाहँदैन तर लडाइँमा पराजित हुनेले बासस्थान र आहाराका लागि नयाँ ठाउँ खोज्नुपर्छ । यसरी एउटा बाघले आफ्नो क्षेत्रमा तीनवटासम्म बघिनीलाई बस्न दिने तर बघिनीले आफ्नो क्षेत्रमा नयाँ बघिनीलाई आउन नदिने प्रवृत्ति रहेको डा. रामले बताए । त्यस्तो अवस्थामा तीन बघिनीले सीमित क्षेत्रमा सीमा निर्धारण गरी आफ्नो वासस्थान बनाएर बस्ने गरेको उनले बताए ।

सामान्यतया एउटा बघिनीले दुईदेखि चारवटासम्म बच्चा पाउँछ । कहिले ७ वटासम्म पनि पाउँछ । एउटा बाघले दुईवटा डमरु बचाउन सके भने १० वर्ग किलोमिटरमा ६ वटा डमरु, तीनवटा पोथी र एउटा भाले भनेपछि १० वर्ग किलोमिटरमा १० वटा बाघ बसिरहेको अवस्था छ । किन थोरै क्षेत्रमा धेरै बाघ बसिरहेका छन् त ? बाघको आनीबानीमा परिवर्तन भएर हो वा अन्य कुनै कारणले हो, त्यसबारेमा अध्ययन अनुसन्धान हुनु जरुरी रहेको उनी भन्छन् । पहिले बाघ एक्लाएक्लै बस्छन् भन्ने थियो । अहिले त्यो अवस्था रहेन । उनीहरू परिवारमै बसेको अवस्था देखिएको छ । उनीहरूको गर्भ अवधि ९३ देखि १ सय २ दिनसम्मको रहने विज्ञहरू बताउँछन् ।

बाघ भद्र र लजालु स्वभावको प्राणी हो । यसले सितिमिति मानिसलाई आक्रमण गर्दैन । स्वस्थ र तन्दुरुस्त बाघले खोजिखोजी मान्छेको सिकार कहिल्यै गर्दैन, तर बाघ बूढो र घाइते भएको अवस्थामा आफ्नो प्राकृतिक आहारा समात्न असक्षम हुन्छ र सजिलो आहाराका लागि चौपया र मानिसलाई आक्रमण गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।