बध गर्न ल्याइएको भैंसी बिच्किएपछि उल्टै ४ जना घाइते


दाङ– जिल्लाको घोराहीमा बध गर्न ल्याइएको भैसी बिच्किएपछि चार सर्वसाधरण घाइते भएका छन् । नियन्त्रण बाहिर गएको भैसीले घोराहीमा आतंक सिर्जना गरेको थियो । बिच्किएको भैंसीले जसलाई भेट्यो, उसैलाई आक्रमण गर्न थालेपछि सर्वसाधरण भयभित बनेका थिए । भैसी नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी खटिएका थिए ।
उक्त भैंसीको आक्रमणबाट आइतबार चार जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट दुई दर्जनजति प्रहरी खटिएका थिए । उनीहरुले आइतबार साँझ भैंसी नियन्त्रणमा लिएपछि आतंक कम भएको थियो । स्थानीयले भैंसी नियन्त्रणमा लिन नेपाली सेनालाई पनि आग्रह गरेका थिए ।
प्रहरीका अनुसार सादा पोसाकका सेना पनि घटना अवलोकनका लागि पुगेका थिए । भैंसी पाँच दिनअघि घोराही उपमहानगरपालिका–१८ रझेनास्थित बधशाला अर्थात् भैंसी थुनेर राख्न बनाइएको गोठबाट किनेर लगेका व्यक्तिलाई आक्रमण गरी भागेको थियो । ती व्यक्तिले मासुका लागि भैंसी बध गर्न लगेका थिए । ‘बध गर्ने ठाउँमा धेरै मानिस देखेपछि भैंसी बिच्किएको भन्ने छ,’ एसपी श्रेष्ठले भने,’ बधशालामा भैंसी थुन्ने क्रममा किनेर लैजाने व्यक्तिलाई नै आक्रमण गरी भागेको रहेछ ।’
चार दिनसम्म भैंसी खरिदकर्ता आफैले नियन्त्रणमा लिने प्रयास गरे पनि उनी सफल भएनन् । त्यसबीच भैंसीको आक्रमणबाट चार जना घाइते भए । भैंसी नियन्त्रणमा लिन नसक्ने अवस्था बनेपछि बल्ल प्रहरीलाई भनिएको थियो । जिल्लाका प्रहरी प्रमुख एसपी श्रेष्ठ र जिल्लाका प्रवक्ता डीएसपी डा. हेमबहादुर केसी लगायतका पदाधिकारी पनि घटनास्थल पुगेका थिए । भैंसी मकैबारीभित्र एउटा कुखुराको खोरमा आराम गरिरहेको देखिएपछि अरू चार–पाँच वटा भैंसी बधशालाबाट त्यहाँ लगेर छोडियो। त्यसपछि भागेको भैंसी शान्त बनेको थियो ।
त्यही मौकामा त्यसलाई नियन्त्रणमा लिएर ट्र्याक्टरमा लोड गरी भैंसी किन्ने व्यापारीको जिम्मा लगाइएको स्थानीय बासिन्दा समेत रहेका पत्रकार नरेन्द्र केसीले बताए । उनका अनुसार व्यवसायीले घोराही–१० नारायणपुर क्षेत्रबाट किनेर ल्याएको भैंसी घोराही–१४ रझेनाबाट भागेको थियो । खरिदकर्ताको मासु पसल भने घोराही–१४ नयाँ बजार (गुज्री) बजारमा छ । भागेको भैंसी मकैबारी पस्नुअघि तीन दिन बाँसघारीमा बसेको थियो। शनिबार दुई जनालाई र आइतबार थप दुई जनालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो ।








प्रतिकृया दिनुहोस्