August 3, 2026, Monday
२०८३ श्रावण १९ मंगलवार

लुम्बिनीमा पहिला मुख्यमन्त्रीले विश्वासको मत लिने, त्यसपछि बल्ल मन्त्रालय बाँडफाँड

Advertisement

भैरहवा– सत्ता समिकरण बदलिएपछि लुम्बिनीमा कुन पार्टीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने र मन्त्री छनोट गर्नेबारे तिव्र तयारी भइरहेको छ । यसअघि लुम्बिनी कांग्रेस–एमाले र अन्य साना दल मिलेर सरकार बनाएका थिए । तर, अहिले सत्ता समिकरण बदलिएर एमाले–नेकपा मिलेका छन् । जसअनुसार मन्त्रालय बाँडफाँड गर्नुपर्ने छ । तर, काँग्रेसले सरकार छाडेकाले मुख्यमन्त्री विश्वासको मत दिनुपर्छ ।

Advertisement

नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय बाँडफाँड र सरकारमा सहभागी दलहरूको जिम्मेवारी टुंग्याउने विषयमा छलफल जारी छ । छलहरुबीच भएको छलफल पछि पहिले मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँड टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यलाई नै निरन्तरता दिइन‍े भएको छ। सोहीअनुसार मुख्यमन्त्री आचार्यले नयाँ सत्ता समीकरणमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँड तथा सरकार विस्तारका विषयमा छलफल अघि बढाएका हुन्।

छलफलमा यसै हप्ता प्रदेश सरकारले विश्वासको मत लिने र त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दिने मन्त्रालयको टुंगो लगाएर सरकार विस्तार गर्ने सहमति भएको बताइएको छ। नेकपा एमालेका तर्फबाट कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीले सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे निरन्तर छलफल भइरहेको जनाए ।

उनका अनुसार नयाँ सत्ता समीकरणमा नेकपा र जसपा नेपाललाई समेटेर सरकारलाई पूर्णता दिने विषयमा दलहरूबीच सकारात्मक छलफल भइरहेको छ। नेकपाका प्रमुख सचेतक इन्द्रजित थारूले पनि प्रदेश सरकारलाई विश्वासको मत दिएपछि मन्त्रिपरिषद् विस्तारका विषयमा अघि बढ्ने सहमति भएको बताए।

ुहाल लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपाका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, जसपा नेपालका तीन, जनमत पार्टीका तीन, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका एक तथा एक स्वतन्त्र सांसद छन् ।

पछिल्लो पटक भएको छलफलमा नेकपाका तर्फबाट संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, नेकपा लुम्बिनी प्रदेशका पूर्वसंयोजक तथा पूर्वमन्त्री सुदर्शन बराल र प्रमुख सचेतक इन्द्रजित थारू सहभागी थिए। यसअघि शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा विभिन्न दलका नेताहरूसँग छलफल भएको थियो। उक्त छलफलमा नेकपाका संसदीय दलका नेता महरा, प्रमुख सचेतक थारू तथा पूर्वमन्त्री दीपेन्द्र पुन सहभागी थिए।

यस्तै, जसपा नेपालका तर्फबाट युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर सहभागी भएका थिए। मुख्यमन्त्री आचार्यले सरकारमा सहभागी हुने दलका अन्य आवश्यक नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिरहेका छन्। विश्वासको मत प्राप्त गरेलगत्तै मन्त्रालय बाँडफाँट टुंग्याएर सरकार विस्तार गर्ने गरी आन्तरिक तयारी भइरहेको एक मन्त्रीले बताए।

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय कायम गरिएको छ। नयाँ मन्त्रालय संरचनाअनुसार सरकारमा सहभागी दलहरूलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

हाल लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित पाँच जना मन्त्री र जसपा नेपालका दुई जना मन्त्री छन्। नयाँ सत्ता समीकरणमा एमाले, नेकपा र जसपा नेपालसहितका दललाई समेट्ने तयारी गरिएको छ। स्रोतका अनुसार नेकपालाई अर्थ मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालय दिने गरी एमालेले आन्तरिक रणनीति बनाएको छ। यद्यपि मन्त्रालयको संख्या तथा कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा औपचारिक सहमति भइसकेको छैन।