August 3, 2026, Monday
२०८३ श्रावण १९ मंगलवार

वनको आम्दानीबाट गाउँको मुहार फेरिँदैं

Advertisement

अर्घाखाँची—जिल्लास्थित शितगंगा नगरपालिका–१२ डोहोटे सामुदायिक वन उपभोक्ता समूहमा ६५ घरधुरी आवद्ध छन् । डोहोटेमा अझै नेपाल टेलिकम सेवा उपलब्ध छैन । स्थानीय पिरापानी, भंगला र ढुंगेशेरा बस्तीमा मोबाइल फोन समेत टिप्दैन् । त्यस्तो विकट ठाउँमा वनमा उत्पादन भएका काठदाउरा बेचेर उपभोक्ताले गाउँमा मोटरबाटो निर्माण, खानेपानी, सिँचाइ, स्कुल भवन, सामुदायिक भवन निर्माण गरेका छन् ।

Advertisement

वनको आम्दानीबाट पूर्वाधार निर्माण र उपभोक्ताको जीवनस्तर उठाउन आयआर्जनका कार्यक्रममार्फत गाउँको मुहार फेर्न थालिएको छ । डोहोटे गाउँका स्थानीय मिलेर ०६१ भदौ ५ गते वनलाई सामुदायिक बनाएका थिए । २ सय ८८ हेक्टर क्षेत्रफल मध्ये ४९ दशमलव ३३ हेक्टर क्षेत्रफल सम्बद्र्धन प्रणालीमा आधारिक सामुदायिक वन कार्यक्रम लागु भएको छ । जहाँ उपभोक्ताले वन संरक्षण र व्यवस्थापन गर्छन् । उत्पादन भएको काठ बिक्रीबाट गाउँको विकासका लागि वार्षिक बजेट विनियोजनदेखि उपभोक्ताले रोजगारी पनि पाएका छन् ।

गत आर्थिक वर्ष ०८२०८३ मा ६६ लाख रुपैयाँको बजेट विनियोजन भएको थियो । जसमध्ये ९० प्रतिशत खर्च भएको छ । गाउँको विकास, आयआर्यजन लगायतका काममा खर्च गरिएको वन समूहका अध्यक्ष रेशमराज बञ्जाडेले बताए । वनको आम्दानीले गाउँको अवस्था फेरिँदै गएको उनले बताए । गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्ता, सरकारी कार्यालय, संघसंस्था गरी ७५ वटा बायुपंखे चुलो वितरण गरिएको छ । चुलोलाई २ हजार ५ सय रुपैयाँ मूल्य पर्छ । वनले २ हजार रुपैयाँ लगानी गर्यो । गाउँमा बेसार खेती विस्तारको १ लाख रुपैयाँको लगानीमा १० क्विन्टल बेसारको बिउ वितरण गरियो । ३ लाख १० हजार रुपैयाँको बजेट लगानीमा १० वटा हाते ट्याक्टर वितरण भए । वन समूहको ५० प्रतिशत अनुदानमा १० जना किसानलाई टयाक्टर बाँडिएको हो ।

वनले शिक्षातर्फ पनि लगानी गरेको छ । यहाँको कन्या आधारभूत विद्यालयमा शिक्षकको लागि वनले वार्षिक २ लाख ५० हजार रुपैयाँ बजेट हरेक वर्ष दिँदै आएको छ । सो स्कुलमा पढ्ने ३५ जना विद्यार्थीलाई ४० हजार रुपैयाँ खर्च गरेर स्कुल ड्रेस, झोला वितरण गरेको अध्यक्ष बञ्जाडेले बताए । स्कुलको भवन रंगरोगनमा १ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । गाउँको त्रिशक्ति युवा क्लबको लागि ६१ हजार रुपैयाँको खेलकुदका सामग्री उपलब्ध गराएको छ । ब्याडमिन्टन कोर्ड निर्माण गर्न २४ हजार खर्च वनले गरेको छ । ११ लाख ९० हजार रुपैयाँ बजेटमा सामुदायिक भवन मर्मत तथा स्तरोन्नति भएको छ । यसमा वडा कार्यालयको ५ लाख रुपैयाँ बजेट लगानी भएको छ । जहाँ अस्थायी प्रहरी पोष्ट बसेको छ । गाउँमा ल्याइएको खानेपानी योजनाको मर्मत, पाइप खरिद र सिँचाइको कुलो निर्माण गर्न ५० हजार रुपैयाँ खर्च भएको छ ।

गरिब तथा विपन्न परिवारका लागि १० घरमा शौचालयका निर्माणका लागि सामग्री उपलब्ध गराएको छ । डोहोटेमा १५ लाख रुपैयाँको लगानीमा अमितावान वन वाटिका पनि निर्माण भएको छ । विकास निर्माणसँगै वन समूहले किसानको आयआर्जनलाई पनि प्राथमिकता दिएको छ । गतवर्ष ११ घरमा ३३ वटा बाख्रा वितरण गरिएको थियो । तरकारी, अन्नबाली, मसलाबालीको बिउपल पनि वनले नै हरेक वर्ष वितरण गर्दै आएको छ । वनले सामाजिक उत्तरदायित्व अन्तरगत अन्य गाउँमा बाँदर हेरालुको लागि गतवर्ष ६० हजार रुपैयाँ डिभिजन वन कार्यालयले उपलब्ध गराएको थियो । यो वर्ष पनि सो रकम भन्दा बढी नै दिइने उनले बताए । समूहले गाउँमा प्राकृतिक विपद् तथा विपन्न परिवारलाई पनि आर्थिक सहयोग गरेको छ ।

वडा र अन्य सरकारी कार्यालयबाट विकास निर्माणका काममा छिटफुट बजेट परेको छ भने धेरैजसो वनकै आम्दानीले गाउँको विकास निर्माण र पूर्वाधारका काम भैरहेका छन् । यो सँगै उपभोक्ताले वनमै काम गरेर रोजगारी पाएका छन् । बाह्रै महिना उपभोक्ताले वनमा काम गर्छन् । हरेक वर्ष पुस देखि जेठसम्म झाडी सफा गर्ने, विरुवाका बोटमा मल राख्ने, अग्नि नियन्त्रणका लागि पाँच मिटरसम्म भूइँ बढार्ने, गोडमेल गर्नेलगायतका काम उपभोक्ताले गर्छन्। धेरै काममा महिला सक्रिय छन् । काठ काट्ने, बोक्रा छुट्टाउने, लोड गर्ने, घाटगद्दीसम्म ल्याउने काम गर्छन् । त्यसवापत दैनिक ८ सय रुपैयाँ ज्याला पाउँछन् । साना विरुवा हुर्केको दसवर्ष पछि बांगो हाँगाबिगाँ हटाउने, रोग लागेको रुख र हाँगो हटाइदिएपछि छिटै रुख हर्लक्क भएर काठमा परिणत हुने गर्छ ।

वनमा समुदाय सक्रिय भएपछि आम्दानीसँगै रोजगारी र वन संरक्षणमा नमूना नै भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । ‘समुदायले वन जोगाउने, संरक्षण गर्ने, काठ दाउराको आम्दानीबाट गाउँको विकास र स्थानीयले रोजगारी बनाउने काम सम्बद्र्धन प्रणालीमा आधारित सामुदायिक वन कार्यक्रमले हो,’ उनले भने, ‘यसको छुट्टै नियम छ । जो सुकैले मनलाग्दी काठ काट्न नि पाउँदैन । विधि र नियम अनुसार काम गर्दा वन नमूना नै हुन्छ ।’ वनलाई सम्बद्र्धन, संरक्षण र व्यवस्थापनले गर्दा भावी पुस्तालाई राम्रो वन हुने उनले बताए ।

वन समूहमा अहिले ५० लाख रुपैयाँ कोष छ । गाउँमा मलामी विश्रामस्थल बनाउने, घाटसम्म जाने बाटो निर्माण र तारिके खोलामा काठेपुल निर्माण गर्ने आगामी वन समूहको लक्ष्य रहेको छ । कोन्द्रे खोलामा यात्रु प्रतिक्षालय बनाउने, वन संरक्षण, व्यवस्थापन र घाटगद्दीमा गेट निर्माण गरिने वन समूहले जनाएको छ । समूहबाट गतवर्ष विष्णु भुसालले बाख्रा पाएका थिए । आयआर्जन र गाउँको विकासमा ठूलो टेवा पुगेको उनले बताए । वनमै काम, रोजगारी र काठ बेचेको पैसाले धमाधम वर्षेनी विकासका काम भएका छन् ।