January 25, 2025, Saturday
२०८१ माघ १३

महानगरले तीनवटा उद्योगको गेट अगाडि थुपारिदियो फोहोर

भैरहवा– उद्योगबाट निस्किने फोहोर नदीमा नफ्याँक्न बारम्बार गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै वीरगन्ज महानगरपालिकाले सोमवार बिहान तीनवटा उद्योगको मुख्य गेटमा फोहोर थुपारिदिएको छ ।

Advertisement

बीरगञ्जको परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्य गेट अगाडि महानगरपालिकाको सरसफाई टोलीले ट्याक्टरबाट फोहोरमैला लगेर थुपारि दिएका हुन् । सरसफाइको टोलीसँग महानगरपालिकाको नगर प्रहरी पनि साथमा गएका थिए ।

बीरगञ्जको सिर्सीया नदीमा ति उद्योगले फोहोर फ्याँकेर प्रदुषित बनाएको दावी महानगरपालिकाको छ । र, पहिलो चरणमा कारवाही स्वरुप ति उद्योगको मुख्य गेट अगाडि फोहोर थुपारेको बताएको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाही स्वरुप फोहोरमैला थुपारिएको बताए । उनको भनाइमा, उद्योगबाट निस्कने फोहोरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार महानगरपालिकाले आग्रह गर्दा पनि ति उद्योगले नमानेकाले महानगरपालिकाको निर्देशन अनुरुप फोहोर थुपारिएको हो ।

गत वैशाख ९ गते महानगरपालिकाले पछिल्लो पटक नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहोरमैला अन्यत्र व्यवस्थापन गर्न र नगरेमा कारबाही गर्ने चेतावनी दिएको थियो । नदीमा फोहर फ्याँक्ने उद्योगहरुमा मंगलवार पनि यसरी नै फोहोर फ्याँक्ने कार्यलाई निरन्तरता दिइने भुसालले जनाएका छन् ।