August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

पुष्पलालले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक छः नेपाल

Advertisement

भैरहवा– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Advertisement

एक सन्देश जारी गर्दै नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आजको समयमा पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०३५ साल साउन ७ गते उहाँ भौतिक रूपमा हामीबाट बिदा भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले दिनुभएको योगदान अमूल्य छ । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले प्रारम्भ गर्नुभएको संघर्षको यात्रा निरन्तर अघि बढिरहेको छ र यसले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ।’

नेता नेपालले पुष्पलाललाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक श्रेय दिँदै उनको व्यक्तित्व र संघर्षको चर्चा गरेका छन् । आफ्ना दाजु सहिद गङ्गालाल र १९९७ सालका अन्य सहिदहरूबाट प्रेरित भएर पुष्पलालले आफ्नो सम्पूर्ण जीवन जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि समर्पित गरेको विज्ञप्तिमा उल्लेख छ । निरङ्कुश र दमनकारी पञ्चायती शासनकालमा समेत आफ्नो राजनीतिक आस्था र सिद्धान्तमा अविचलित रहँदै उनले संघर्षलाई निरन्तरता दिएका छन्।

पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको र मार्क्सवादी दृष्टिकोणका आधारमा वर्गीय संरचना तथा राजनीतिक अन्तर्विरोधको पहिचान गरेको कुरालाई नेता नेपालले स्मरण गरेका छन् ।