July 23, 2026, Thursday
२०८३ श्रावण ८ शुक्रबार

गौतमबुद्ध विमानस्थललाई खर्च धान्न आन्तरिक उडानको भर

Advertisement

भैरहवा– लामो समयदेखि दबाब र माग गर्दा समेत भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । सरकारले पार्किङ, नेभिगेशन, इन्धन र ग्राउण्ड ह्याण्डलिङमा छुट व्यवस्था गरेपनि अन्तर्राष्ट्रिय उडानमा चासो छैन ।

Advertisement

यसले विमानस्थल सञ्चालनका लागि आर्थिक भार थपिन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि यहाँ आवश्यक जनशक्तिले दैनिक काम कारबाही गरिरहेका छन् । यसले सञ्चालन खर्च बढिरहेको छ । तर, अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा आम्दानी शून्य छ । त्यसैले आन्तरिक उडानबाट हुने आम्दानीले अन्तर्राष्ट्रिय तर्फको खर्च भरथेग गरिरहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता कुमार सुजाखूले आन्तरिक उडानका कारण सञ्चालन खर्च धानिएको छ । तर, विमानस्थल सञ्चालन गरेर लगानी उठ्ने सम्भावना कम छ । उनका अनुसार गत आर्थिक वर्षको असार १० गतेसम्म १९ करोड ४२ लाख रुपैयाँ आम्दानी भएको छ । उक्त अवधिको सञ्चालन खर्च १५ करोड १४ लाख रुपैयाँ छ । ‘यो पनि कर्मचारीको सेवा सुविधा बाहेकको खर्च हो,’ उनले भने, ‘कर्मचारीको सेवा सुविधासहितको खर्च जोड्दा विमानस्थल घाटामा देखिन्छ ।’

विमानस्थल निर्माणमा गरिएको अर्बौं लगानीको तुलनामा अहिले भइरहेको आम्दानी नगन्य रहेको उनले बताए । गत चैत ११ गतेसम्म एयर एसियाले व्यावसायिक उडान गरेको थियो । त्यसयता अन्तर्राष्ट्रिय उडान भएको छैन । यसपाली समर सेड्युल नबनाएकाले अन्तर्राष्ट्रिय उडान ठप्प रहने देखिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२२ मे ७ मा जजिरा एयरलाइन्सले पहिलो उडान गरेको थियो । विमानस्थलको उद्घाटन २०७९ जेठ २ गते भएको थियो । चार वर्ष अवधिमा ५ सय ७५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यस अवधिमा विभिन्न मुलुकबाट ३८ वटा चार्टर्ड उडान अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन् ।

लगानी र पूर्वाधारका हिसाबले उडान संख्या न्यून भएको विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले बताए । यसअघि जजिरा एयरलाइन्स, एयर एसिया, थाई एयरवेज, नेपाल एयरलाइन्स, फ्लाई दुबई र हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान भरेका थिए । ती एयरलाइन्स कम्पनी मौसम लगायत खराबी देखाउँदै काठमाडौं फर्किए । ‘पछिल्लो समय यात्रु संख्या कम भएकाले एयरलाइन्स भैरहवाप्रति आकर्षित हुन नसकेको भन्ने चर्चा छ,’ निमित्त महाप्रबन्धक शाहले भने, ‘अधिकांश वायुसेवा कम्पनीका नेपालस्थित जनरल सेल्स एजेन्ट, म्यानपावर कम्पनी र ठुला ट्राभल्स एजेन्सीहरू काठमाडौं केन्द्रित रहेको र उनीहरूको दबाब प्रभावका कारण यात्रुको अभाव देखिएको छ ।’

त्यसो त विमानस्थल सञ्चालनको चार वर्ष बितिसक्दा पनि कतिपय सेवासुविधा भैरहवामा उपलब्ध छैनन् । स्वास्थ्य परीक्षणका लागि मेडिकल गर्न कतिपय अवस्थामा काठमाडौं नै जानुपर्छ। बिमा र म्यानपावर कम्पनी अहिलेसम्म भैरहवा आएका छैनन् । भिसा सेन्टरहरू स्थापनाका लागि पहल हुनुपर्ने देखिन्छ । नेपाल–भारत सीमा नाकानजिकको यो विमानस्थलका लागि भारतले सहज रूट नदिएको र आइएलएस प्रविधिको प्रयोगमा पनि समस्या रहेको अधिकारीहरू बताउँछन् । यसबारे बेलैमा भारत सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवाला जोड दिन्छन् ।

निर्माणका क्रममा बनाइएको अध्ययन प्रतिवेदनमा बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सीधा जोड्दै पर्यटन प्रवद्र्धन र समृद्धि ल्याउने भनिएको थियो । अहिलेसम्म पर्यटक आकर्षित गर्ने ठोस योजना न सरकारसँग छ न निजी क्षेत्रसँग, न लुम्बिनी विकास कोषसँग नै। पर्यटनविद्हरू बुद्ध जन्मस्थल लुम्बिनीसँगै यो क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई समेटेर आकर्षित टुर प्याकेज बनाउन सके पर्यटकीय चहलपहल बढ्ने बताउँछन् । निजी क्षेत्र भने सरकारको नीतिगत कमजोरीकै कारण यो विमानस्थलले गति लिन नसकेको बताउँछन् ।