August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

लुम्बिनी सरकारको आन्तरिक राजस्व असुली निकै कमजोर, आधा पनि उठेन

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ मा २ अर्ब ३० करोड २७ लाख रुपैयाँ मात्रै राजस्वक सङ्कलन गरेको छ । जुन लक्ष्यको ४९.२ प्रतिशत मात्रै हो । जबकि प्रदेश सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

Advertisement

राजस्व लक्ष्य नै पूरा गर्न नसकेको सरकारले आगामी आर्थिक वर्ष कसरी लक्ष्य पूरा गर्ला भन्ने प्रश्न उठेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ मा लुम्बिनी प्रदेशको कुल ३८ अर्ब ९१ करोड रुपैयाँ बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।

कुल बजेटमध्ये चालुतर्फ विनियोजित १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । यो चालु बजेटको ६७ दशमलव ७६ प्रतिशत हो ।

त्यस्तै, पुँजीगततर्फ विनियोजित २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेट खर्च ६६ दशमलव ८० प्रतिशत रहेको छ । तर प्रदेश सरकारले आफ्नो आन्तरिक राजस्वको लक्ष्यसमेत पूरा गर्न नसकेको अवस्थामा प्रदेशको वित्तीय निर्भरता अझै पनि सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य बाह्य स्रोतमा निर्भर हुनेछ ।