July 23, 2026, Thursday
२०८३ श्रावण ८ शुक्रबार

‘कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा गरौं’

Advertisement

बुटवल– नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा, सहकार्य र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताएका छन् । उनीहरूले पुष्पलालको त्याग, समर्पण र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको धारणा राखे ।

Advertisement

बुटवलमा बिहीबार आयोजित ‘पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशा’ विषयक बहस कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल विभाजनका होइन, कम्युनिस्ट एकताका सूत्रधार भएको उल्लेख गर्दै अहिलेका कम्युनिस्ट पार्टीहरूले आफ्ना कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

उनले नेपालका कम्युनिस्ट शक्तिबीच संवाद, सहकार्य र आवश्यकताअनुसार एकताको बहस समयसापेक्ष भएको उल्लेख गर्दै पुष्पलालको योगदानलाई व्यवहारमा उतार्न सके मात्रै कम्युनिस्ट आन्दोलनले नयाँ दिशा पाउने धारणा राखे । देशका विभिन्न स्थानमा रहेका पुष्पलालका प्रतिमामाथि भएका तोडफोडका घटनाप्रति दुःख व्यक्त गर्दै त्यस्ता गतिविधि अस्वीकार्य रहेको पनि उनले बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज खिमलाल भट्टराईले कम्युनिस्ट आन्दोलनको मूल उद्देश्य श्रमजीवी, किसान र विपन्न वर्गको हित भएको स्मरण गराउँदै वर्तमान पुस्ताले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसके आन्दोलन कमजोर हुने बताए । उनले कम्युनिस्ट पार्टीभित्र देखिएका समस्या समाधान गर्दै पुनर्गठन र सहकार्यको दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल कम्युनिस्ट पार्टीका रुपन्देही इन्चार्ज निर्मल जिसीले विगतका कमजोरीको समीक्षा गर्दै देश र जनताको समृद्धिलाई केन्द्रमा राखेर कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकता अघि बढाउनुपर्ने धारणा राखे । त्यसो गर्न सके पुष्पलालप्रति वास्तविक सम्मान हुने उनको भनाइ थियो ।

नेकपा (माओवादी)का नेता वीरेन्द्र विकले सत्ता स्वार्थ, भ्रष्टाचार र अवसरवादजस्ता विकृतिबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्दै नीति र सिद्धान्तमा आधारित राजनीतिक अभ्यास आवश्यक रहेको बताए । उनले जनविश्वास पुनः स्थापित गर्न कम्युनिस्ट शक्तिहरूले आत्मसमीक्षासहित नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्येता माधव पौडेलले ‘पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी) लगायत विभिन्न वामपन्थी दलका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।