लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिम फिल्म प्रदर्शनी


लुम्बिनी– लुम्बिनी बौद्ध विश्वविद्यालयमा आइतबार २०२५ को प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी गरिएको छ । आठ दिनसम्म चलेको यस सांस्कृतिक आदान–प्रदान कार्यक्रममा चिनियाँ एनिमेटेड फिल्मलाई माध्यम बनाएर नेपालका तीन विश्वविद्यालयमा सभ्यताबीच आपसी सिकाइ र संवादलाई प्रवद्र्धन गरिएको थियो । लुम्बिनीमा सम्पन्न अन्तिम कार्यक्रमले प्रदर्शनीलाई अर्थपूर्ण र आत्मीय निष्कर्षमा पुर्याएको आयोजकले जनाएको छ ।
प्रदर्शनीको उद्घाटन त्रिभुवन विश्वविद्यालयमा गरिएको थियो । कार्यक्रममा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका चर्चित कलाकारहरू प्रदीप खड्का, कविता शाही, बुद्धि तामाङ, केपी पाठक, विजय बराल लगायतको उपस्थिति थियो । उनीहरूले चीन–नेपाल फिल्म तथा सांस्कृतिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।
प्रदर्शनीअन्तर्गत चिनियाँ एनिमेशनका चर्चित फिचर फिल्महरू न्यु गड्सः याङ जियान, ह्वाइट स्नेक र लेजन्ड्स अफ हेइ २ प्रदर्शन गरिनुका साथै एआईजीसी एनिमेटेड शृंखला द स्पिरिट अफ द माउन्टेन्स प्रस्तुत गरिएको थियो । यी कृतिहरूले चिनियाँ परम्परागत संस्कृति र आधुनिक एनिमेशन प्रविधिको संयोजनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई “प्रदर्शन र अन्तरक्रिया” मोडेलमा सञ्चालन गरिएको थियो । प्रदर्शनअघि परिचयात्मक सत्र र प्रदर्शनपछि सर्जकहरूसँग गरिएको प्रत्यक्ष अनलाइन संवादमार्फत नेपाली प्राध्यापक र विद्यार्थीहरूले फिल्मको सृजनात्मक पृष्ठभूमिबारे जानकारी लिएका थिए । निर्माता याङ बिचेनलगायत उद्योग प्रतिनिधिसँग भएको छलफलले कार्यक्रमलाई थप व्यावसायिक र अन्तरक्रियात्मक बनाएको जनाइएको छ ।
आयोजकका अनुसार यस प्रदर्शनीले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानको नयाँ अध्याय सुरु गर्दै भविष्यमा हिमालयन रिम क्षेत्रका फिल्म समुदायबीच सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ ।








प्रतिकृया दिनुहोस्