झोलुङ्गे पुलले बनायो सुगम, फेरियो दैनिकी


गुल्मी – रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको भटकुवा गाउँ वरिपरि खोलाले घेरेको टापु गाउँ हो । जसको माध्यमिक तहको शिक्षा, स्वास्थ्योपचार र किनमेल गर्ने बजार रिडी हो । तर असहज सडक, आधारभूत तहसम्मको मात्रै शिक्षा र सबैजसो पहुँच नहुँदा भटकुवाका नागरिकले सास्ती खेप्दै आएका थिए ।
भटकुवाका स्थानीय अर्को डाँडोमा रहेको सहज सडक र चलिरहेका सवारीसाधन हेरेर चित्त बुझाउनु परेको थियो । तर हालैमात्र बनेको भटकुवा र वडा नम्बर ३ थोर्गा जोड्ने झोलुङ्गृ पुलले यहाँका स्थानीयको दैनिकी फेरिएको छ ।
भटकुवाका स्थानीय कमला ज्ञवालीले राजमार्गबाट धेरै विकटमा रहेको तर पुलले विकट जस्तो नलागेको प्रतिक्रिया दिइन् । ‘हाम्रो गाउँ खोलाले काटेको टापुजस्तो छ, हामी विकासबाट धेरै टाढा भएजस्तो लाग्थ्यो’, उनले भनिन्, ‘पुल बनेपछि उतिबेलै हाइवेमा निस्कन पाउँदा धेरै सुविधा भयो ।’ पुलले बाटोसँग जोड्दा नजिक भएको र उतिबेलै राजमार्गमा आउन पाउँदा पानी परेर बाटो बिग्रिए पनि तम्घास, पाल्पा र बुटवल जान सहज भएको उनले बताइन् ।
अर्का स्थानीय मना भट्टराईले बाटो सजिलो हुँदा दिनभर कुरेर बजार आउजाउ गर्नुपर्ने र बर्खामा हिंड्दै जानआउन पर्ने बाध्यता रहेको बताइन् । ‘नजिकको बजार रिडी हो, जानआउन भरपर्दो सुविधा थिएन’, उनले भनिन्, ‘छोटो बाटो, छिटो र सस्तोसहित एकदमै सुविधा भएको छ ।’ उनले भटकुवामा अब सहजता र सुविधा थपिएको बताइन् ।
स्थानीय सावित्रा थापाले कक्षा ९ देखि माथि पढ्न हिड्दै जानुपर्ने र गतवर्षदेखि गाडी आउन थालेपनि बर्खामा नआउँदा लामो समय हिड्नुपरेको बताइन् । ‘हिड्दै स्कुल जानुपर्ने र बर्खा लागेपछि थप समस्या हुने गर्दथ्यो’, उनले भनिन्, ‘पुलले गाउँ जोडेपछि गाडी सधै राजमार्गमा आउँछ पुल तरेपछि समस्याको समाधान भएको छ ।’ उनले पाँच मिनेटमा पुल तरेर हाइवे पुगेपछि यातायातको सुविधा हुने बताइन् । हिंड्दै आउँदाजाँदा झण्डै डेढ लाग्ने बाटो अहिले १५ मिनेटमा छोट्टएिको छ ।
विद्यार्थी कुशल थापा कक्षा ८ मा पढ्छन् । अर्को वर्षदेखि पढ्न रिडी बजार झर्नुपर्छ । अब सहजता आउने भएपछि उनी खुसी छन् । ‘हिंड्दै स्कुल जानेआउने र गाडी सधै नहुने हुँदा समस्या हुन्थ्यो’, उनले भने, ‘अहिले सुविधा भयो, अब हामीलाई पनि जानआउन समस्या हुँदैन् ।’
पुल निर्माण भएपछि भटकुवाका दुई सय ५० घरधुरीका छ सयभन्दा धेरै स्थानीबासीहरु झोलुङ्गे पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । भटकुवाका स्थानीबासी पाँच मिनेटकै झोलुङ्गे पुल तरेर मदन भण्डारी राजमार्गमा पुग्न सक्छन् । यहाँका स्थानीयबासीहरुले बजार आउजाउ गर्नदेखि लिएर शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहज रुपमा सेवा पाउने भएका छन् । बर्सौैंदेखि विकट मानेको गाउँ अहिले यही पुलकै कारणले सुगम बनेको छ । बजार जान छुट्टै दिन निकाल्नुपर्ने, दिनभर सामान्य काममै बिताउनुपर्ने र घरगोठका काम पहिल्यै गरेर सूरसार गनुपर्ने बाध्यता हटेसँगै यहाँका स्थानीयबासीको दैनिकी फैरिएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलमार्फत कुल आठ करोड ८५ लाख ३४ हजार रुपैयाँमा भिम शिखर हिरा कन्ट्रक्सन प्रालिले झोलुङ्गे पुल निर्माण गरेको इन्जिनियर राजु थापा मगरले जानकारी दिए । उनका अनुसार, झोलुङ्गे पुल ५२५.१ मिटर रहेको छ । जून नेपालको दोस्रो लामो झोलुङ्गे पुल हो । १९ असार २०८२ मा सम्झौता भएको उक्त पुल १० असार २०८४ सम्म निर्माणको म्याद रहेको छ । पुलको ९१ प्रतिशत काम सकिएको छ । आवतजावत गर्न मिल्ने उक्त पुल वारिपारी सडक सुविधा थप लगायत फिनिसिङको काम मात्रै बाँकी छ ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले फलाँटे–भटकुवा झोलुङ्गे पुल पालिकाको एक महत्वपूर्ण भौतिक उपलब्धि रहेको बताए । ‘राजमार्गसँग जोडेर भटकुवाको जनजीवन सहज बनाउन सफल भएका छौं’, उनले भने, ‘सार्वजनिक यातायात चढ्नेका लागि निकै सहजता भएको छ भने राजमार्ग नजिकै लामो पुल रहेकोेले पर्यटकीय हिसाबले पनि फाइदा पुग्ने अपेक्षा गरेका छौं ।’








प्रतिकृया दिनुहोस्