July 9, 2026, Thursday
२०८३ असार २५ बिहीबार

सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

Advertisement

भैरहवा–सिद्धार्थनगर नगरपालिका भित्रका साना–ठूला सडकका दायाँबायाँ नाला सफा नगरिएपछि वर्षातसँगैं डुवानको चिन्ता सुरु भएको छ । नगरभरिका नाला फोहोर, घाँस, लहरा र माटोले पुरिएका छन् । बुधबार रातिबाट वर्षा सुरु भएपछि बिहान अधिकांश स्थानमा नाला भरिएका छन् ।

Advertisement

एसियाली विकास बैंक (एडीबी) को सहायतामा सिद्धार्थनगरका मुख्य बजार र भित्री क्षेत्रमा पक्कि सडक निर्माण गरिएका छन् । सडकसँगैं निर्माण गरिएका नाली कतै पूर्ण र कतैं अधुरा छन् । नालीमाथि फुटपाथ निर्माण गरिएका छन् । धेरै ठाउँमा घाँसले ढाकेर फुटपाथ देखिदैंनन । केही स्थानमा नाला छोपिएका ढकन फुटेका छन् । जसले गर्दा यात्रुलाई ओहोरदोहोरमा समस्या छ ।

‘भैरहवा वरिपरिका सम्पूर्ण नाला जाम छन्,’ सिद्धार्थनगर–७ का बासिन्दा तथा उद्योगी अरुण गोयन्काले गुनासो पोखेका छन्, ‘निर्माण भएदेखि आजसम्म सफा गरिएको छैन ।’ मुख्य राजमार्गका नाला ६ इन्च पनि खाली नरहेको उनले बताएका छन् । ‘वर्षा भन्दा पहिल्यैं सफा गरिनु पर्ने हो,’ उनले उल्लेख गरे, ‘ठूलो वर्षा हुनासाथ डुवानको समस्या भइहाल्छ ।’ पहिलेदेखि समस्या भएपनि समयमा समाधान नगर्ने रोग अहिलेका जनप्रतिनिधिमा पनि देखिएको छ ।

सिद्धार्थनगर–८, का वडाध्यक्ष राजनजंग राणाको निवास रहेको गंगालाल पथका नाला पनि घाँसले भरिएका छन् । आसपास खाली जमिनमा मौलाएका अतिक्रमणकारी झार नालाभरि फैलिएका छन् । वडाध्यक्ष राणा दैनिक गंगालाल पथ भएर कार्यालय आउजाउ गर्छन् । नाला सफा गर्नेबारे उनले ध्यान दिएका छैनन । ‘बुधबार राति हल्का वर्षा हुँदा समेत नाला टम्म भरिएका छन,’सिद्धार्थनगर–८, का एक बासिन्दाले भने, ‘झरी नै पर्यो भने नालाको पानी घरभित्र पस्छ ।’

रास्वपा नेता नारायण भण्डारीले पनि नगरपालिकाको अव्यवस्थापनप्रति बिहीबार बिहान प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा रहेको आफ्नो एकाउण्टमा स्टाटस लेख्दैं उनले भनेका छन्, ‘नगरपालिकाले विभिन्न शिर्षकमा कार्यकर्ता पोस्ने तर, आफूलाई भोट नदिएको निउमा सम्बन्धित टोल विकास निषेध गर्ने काम भएको छ ।’ नगरका अधिकांश क्षेत्रमा अहिले नाला हेर्न लायक छैनन ।

पछिल्लो समय फोहोर संकलन प्रभावकारी नभएपछि फुटपाथ र नालामा फोहोर फयाँक्न थालिएको छ । यस्तो फोहोर बगेर घरमा पुग्ने खतरा भएपछि रोगब्याधीको जोखिम पनि बढ्न थालेको छ । ‘नाला माथिबाट फुटपाथ हुनुहुँदैन,’ भैरहवाका स्थानीय इम्दाद खानले भने, ‘नाला र फुटपाथ अलग्गै बनाउनु पर्छ ।’ तर, सिद्धार्थनगरमा नाला माथि ढकन लगाएर फुटपाथ बनाइएको छ । अहिले धेरै ठाउँमा ढकन भत्किएर दुर्घटनाको जोखिम पनि बढेको छ ।