‘व्यवस्थापन शिक्षाको केन्द्र’ बन्दै भैरहवा बहुमुखी क्याम्पस


भैरहवा– त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशमा व्यवस्थापन शिक्षाको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ । व्यवस्थापन, विज्ञान, शिक्षा र मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तीमध्ये व्यवस्थापन संकायमा मात्रै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । स्नातक तहमा बीबीएस, बीबीएम, बीबीए र बीआईटिएम तथा स्नातकोत्तर तहमा एमबीएस, एमबीएम र एमबीए कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कयाम्पस प्रमुख लक्कीप्रसाद जोशीले परम्परागत व्यवस्थापन शिक्षासँगै बजारको मागअनुसार व्यावसायिक तथा प्रविधिमैत्री कार्यक्रम विस्तारमा आफूहरुले प्राथमिकता दिएको बताउँछन् ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनसम्बन्धी प्रमाणपत्र प्राप्त गरेको यस क्याम्पसले पछिल्ला वर्षहरूमा व्यवस्थापन शिक्षामा नयाँ कार्यक्रम थप्दै आएको छ । ‘बदलिँदो व्यावसायिक वातावरण, बैंकिङ तथा वित्तीय क्षेत्र, उद्योग, पर्यटन र अन्य सेवामूलक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवस्थापन शिक्षालाई समयसापेक्ष बनाउने प्रयास भइरहेको छ’, क्याम्पस प्रमुख जोशीले भने ।
व्यवसायिक कार्यक्रमको क्रमिक विस्तार
क्याम्पसमा व्यवस्थापनतर्फका व्यावसायिक कार्यक्रम विस्तारको क्रम २०७० सालमा बीबीएम कार्यक्रम सञ्चालनसँगै थप फराकिलो बनेको हो । उक्त कार्यक्रमका निर्देशक प्राध्यापक सुदर्शन नेपाल थिए । त्यसपछि २०७२ सालमा बीबीए र बीआईएम कार्यक्रम सञ्चालनमा आएका थिए । त्यस समयमा उपप्राध्यापक अनिलकुमार झा क्याम्पस प्रमुख थिए । यी कार्यक्रम सञ्चालनसँगै क्याम्पसमा व्यवस्थापन र सूचना प्रविधिलाई बजारको आवश्यकतासँग जोड्ने शैक्षिक अभ्यासले थप गति लिएको थियो ।

स्नातक तहका व्यावसायिक कार्यक्रमको सफलतापछि क्याम्पसले स्नातकोत्तर तहमा समेत नयाँ कार्यक्रम विस्तार गरेको छ । क्याम्पसले २०७९ सालमा एमबीएम कार्यक्रम सञ्चालनमा ल्याउन सफलता प्राप्त गरेको थियो । एमबीएम कार्यक्रमका निर्देशक उपप्राध्यापक दिवाकर पाण्डे थिए । त्रिभुवन विश्वविद्यालयले काठमाडौं उपत्यकाबाहिर सञ्चालन अनुमति दिएका सीमित स्थानमध्ये रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसले यो अवसर प्राप्त गर्नु यस क्षेत्रको व्यवस्थापन शिक्षाका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।
एमबीए–फ सञ्चालनसँगै थपियो नयाँ आयाम
क्याम्पसको व्यवस्थापन शिक्षामा पछिल्लो महत्वपूर्ण उपलब्धिका रूपमा एमबीए कार्यक्रम थपिएको छ । २०८२ सालमा क्याम्पस प्रमुख सहप्राध्यापक लक्कीप्रसाद जोशीको नेतृत्वमा एमबीए–फ कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रमको निर्देशक उपप्राध्यापक डा. सहदेव भट्ट छन् ।
लुम्बिनी प्रदेशका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये भैरहवा बहुमुखी क्याम्पसले एमबीए सञ्चालनको अवसर प्राप्त गर्नु व्यवस्थापन शिक्षाको विकासमा महत्वपूर्ण उपलब्धि हो । काठमाडौं उपत्यकाबाहिर त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीए अध्ययनको अवसर सीमित रहेका कारण यस कार्यक्रमले लुम्बिनी प्रदेश तथा आसपासका विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्चस्तरीय व्यवस्थापन शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ ।
क्याम्पसमा एमबीएस कार्यक्रम समेत सञ्चालनमा छ । यसका निर्देशक उपप्राध्यापक प्रकाश भट्टराई छन् । बीबीए कार्यक्रमका निर्देशक उपप्राध्यापक उज्ज्वल अधिकारीले वर्तमान व्यवस्थापन शिक्षालाई बजारको आवश्यकता र रोजगारीसँग जोड्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।
औद्योगिक तथा व्यवसायिक क्षेत्रसँग जोडिएको शिक्षा
रुपन्देही जिल्ला पछिल्लो समय बैंकिङ, उद्योग, कलकारखाना, व्यापार, पर्यटन तथा सेवा क्षेत्रको महत्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको छ । भैरहवा–बुटवल औद्योगिक तथा व्यावसायिक क्षेत्रको विस्तारसँगै दक्ष व्यवस्थापकीय जनशक्तिको मागसमेत बढ्दो छ । ‘यस्तो अवस्थामा क्याम्पसमा सञ्चालित व्यवस्थापन कार्यक्रमले स्थानीय तथा राष्ट्रिय श्रम बजारका लागि आवश्यक जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको’, क्याम्पसका एमबीए कार्यक्रमका निर्देशक सहदेव भट्टले भने ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक क्षेत्र, बैंक तथा वित्तीय संस्था, होटल तथा पर्यटन व्यवसाय र नेपाल–भारत सीमासँग जोडिएको व्यापारिक गतिविधिले व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययनसँगै व्यावहारिक अनुभव र रोजगारीका सम्भावना पनि सिर्जना गरेका छन् ।
‘काठमाडौंमै गएर व्यवस्थापनका व्यावसायिक कार्यक्रम अध्ययन गर्नुपर्ने बाध्यता क्रमशः कम हुँदै जानु यस क्षेत्रका विद्यार्थी र अभिभावकका लागि अर्को सकारात्मक पक्ष हो’, निर्देशक भट्टले भने, ‘आफ्नै घरमा बसेर तुलनात्मक रूपमा कम खर्चमा गुणस्तरीय व्यवस्थापन शिक्षा लिन पाउँदा विद्यार्थीमाथि कोठाभाडा, खाना तथा अन्य अतिरिक्त खर्चको आर्थिक भारसमेत कम हुने गरेको छ ।’
नयाँ शैक्षिक सत्रको तयारी
क्याम्पसमा एमबीए र एमबीएमको नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भइरहेको छ । यी कार्यक्रममा भर्नाका लागि त्रिभुवन विश्वविद्यालयको निर्धारित प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ । प्रवेश परीक्षामा सफल विद्यार्थीले मात्र भर्नाको अवसर प्राप्त गर्नेछन् । एमबीए कार्यक्रमका निर्देशक उपप्राध्यापक भट्टका अनुसार नयाँ सत्रका लागि विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । प्रवेश परीक्षाका लागि ६० भन्दा बढी विद्यार्थीले आवेदन दिएको उनले जानकारी दिए ।

व्यवस्थापन शिक्षामा एकपछि अर्को नयाँ कार्यक्रम थपिनु, विद्यार्थीको आकर्षण बढ्नु र उद्योग तथा व्यावसायिक क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुँदै जानुले भैरहवा बहुमुखी क्याम्पसलाई लुम्बिनी प्रदेशको व्यवस्थापन शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ । क्याम्पसले एकातर्फ बैंकिङ, वित्त, उद्योग, पर्यटन तथा आधुनिक व्यवसायका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको छ भने अर्कोतर्फ व्यावसायिक कार्यक्रममार्फत् संस्थाको शैक्षिक तथा आर्थिक दिगोपनामा समेत योगदान पुर्याइरहेको छ ।








लेखकको सम्वन्धमा