तीन दिनदेखि वालिकाको शव अस्पतालको मर्चरीमा


भैरहवा–लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमाघाटस्थित दानव नदी किनारमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी बालिकाको शव विगत तीन दिनदेखि भैरहवास्थित भीम अस्पतालको मर्चरीमा राखिएको छ ।
गत शनिबार साँझ मृत अवस्थामा फेला परेकी ती बालिका को हुन् र कहाँकी हुन् ? भन्ने विषयमा सोमबारसम्म कुनै जानकारी खुल्न सकेको छैन । बालिकाको पहिचान खुल्न नसकेपछि शव अस्पतालको मर्चरीमा राखिएको हो । गत शनिबार साँझ ६ः४५ बजे नदी किनारमा बालिकाको शव फेला परेको थियो । प्रहरीले शव पोस्टमार्टमका लागि भीम अस्पतालमा राखेको हो । नियमअनुसार सामान्यतया शव पोस्टमार्टम गर्न अभिभावक वा आफन्तले जाहेरी दिनुपर्ने हुन्छ ।
बालिकाको पहिचान खुलाउन रुपन्देही प्रहरीले विगत तीन दिनदेखि खोजतलास तथा अनुसन्धान गरिरहेको छ । घटनास्थल आसपासका क्षेत्र, छिमेकी जिल्ला तथा सीमावर्ती भारतका जिल्लासमेतमा बालिकाको हुलियासहितको परिपत्र गरी खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी कृष्णकुमार चन्दले घटनास्थल आसपासका क्षेत्र, छिमेकी जिल्ला र सीमावर्ती भारतमा समेत बालिकाको हुलियासहितको परिपत्र गरिएको जानकारी दिए । ‘छिमेकी जिल्ला र सीमावर्ती भारतका जिल्लामा समेत परिपत्रसहित खोजतलास जारी राखेका छौँ’ उनले भने ।
लामो समयसम्म पोस्टमार्टम नगरी शव राख्न नहुने भएकाले थप प्रक्रिया पूरा गरी प्रहरीले मंगलबार बालिकाको शव पोस्टमार्टम गर्ने तयारी गरेको छ । मृत बालिकाको सनाखत नभएको र कसैबाट जाहेरीसमेत नपरेको अवस्थामा प्रहरी प्रतिवेदनका आधारमा भए पनि डीएनए परीक्षणसहित पोस्टमार्टम गरिने चन्दले बताए ।
पछि कसैले बालिकालाई आफ्नो सन्तान भएको दाबी गरेमा डीएनए परीक्षणका आधारमा उनी आफ्नो सन्तान हुन् वा होइनन् भन्ने यकिन गर्न सकिने उनले बताए । बालिकाको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि पोस्टमार्टमपछि शरीरको भित्री अवस्थाबारे जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्