लुम्बिनीमा साउनमा दुर्घटना उच्च, गयो ३५ जनाको ज्यान


भैरहवा– लुम्बिनी प्रदेशमा साउन महिनामा सवारी दुर्घटनाको संख्या उच्च देखिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार साउनमा प्रदेशका विभिन्न जिल्लामा ४१८ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु र ७१० जना घाइते भएका छन् ।
दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ । कार्यालयको तथ्यांकअनुसार तीव्र गतिका कारण मात्रै २८७ वटा दुर्घटना भएका छन् । त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७३, चालकको असावधानी तथा लापरबाहीका कारण ३९ र अन्य लापरबाहीका कारण ६ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
अनावश्यक ओभरटेक, ब्रेक फेल, हतारमा बाटो काट्ने तथा छाडा चौपायाका कारण पनि दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनका लागि प्रहरीले साउनमा १० हजार ४५७ सवारीसाधन माथि कारबाही गरेको छ ।
कारबाहीबाट १ करोड ३२ लाख ६९ हजार ५०० रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । प्रदेशभर ट्राफिक प्रहरीले १ हजार १७१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६३ हजार ११० जनालाई सहभागी गराएको थियो ।
यस्तै, ओभरलोड नियन्त्रणमा मात्रै १ हजार ८५९ वटा सवारीसाधनमाथि कारबाही गरी १ करोड ८५ लाख ९० हजार रुपैयाँ बराबरको जरिवाना गरिएको विवरणमा उल्लेख छ । जिल्लागत रूपमा रुपन्देहीमा सबैभन्दा धेरै १४९ दुर्घटना भएका छन् । त्यसपछि कपिलवस्तुमा ७१, बाँकेमा ८४, नवलपरासीमा ३५, दाङमा २४ र पाल्पामा १५ दुर्घटना भएका छन् ।








प्रतिकृया दिनुहोस्