September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

नेपालगन्जका तीनवटा स्पाका सञ्चालक पक्राउ

Advertisement

नेपालगन्ज–नेपालगन्जमा सञ्चालनमा रहेका विभिन्न स्पा सेन्टरमा कानुनविपरीत नाबालिग बालिकालाई काममा लगाइएको भेटिएपछि प्रहरीले तीन जना सञ्चालकलाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेले प्राप्त सूचनाका आधारमा सोमबार साँझ नेपालगन्जका विभिन्न स्पा सेन्टरमा अनुगमन तथा अनुसन्धान गरेको थियो । अनुगमनका क्रममा विभिन्न उमेर समूहका बालिकालाई कानुनविपरीत काममा लगाइएको भेटिएपछि प्रहरीले उनीहरूको उद्धार गर्दै सम्बन्धित स्पा सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–१० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका गुडिया खान, सोही वडाको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारू र नेपालगन्ज–२ न्युरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् । जसमध्ये, गुडिया खान भारतीय नागरिक हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले नाबालिगलाई कानुनविपरीत काममा लगाइएको पाइएपछि उनीहरूको उद्धार गरी सञ्चालकलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाइएको छ । उनीहरूलाई जिल्ला अदालत बाँकेबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीले नेपालगन्जमा सञ्चालनमा रहेका स्पा सेन्टरको व्यवस्थित लगत तयार गर्ने र त्यहाँ कार्यरत सबै व्यक्तिको विवरण नियमित रूपमा अद्यावधिक गर्ने तयारी थालेको जनाएको छ ।

प्रहरीका अनुसार नेपालगन्जका क्यासिनो तथा स्पा सेन्टरमा सीमावर्ती भारत र स्वदेशबाट समेत दैनिक ठूलो संख्यामा मानिस आउने गरेका छन् ।