राममणिमा अन्तर्राष्ट्रिय शैक्षिक बहस, ४ देशका ३० वटा कार्यपत्र प्रस्तुत


मणिग्राम– रुपन्देहीको मणिग्राममा सञ्चालित २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ४ देशका ३० वटा कार्यपत्र प्रस्तुत भएका छन् । नेपालसहित अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा अनुसन्धान व्यवस्थापन समिति राममणि बहुमुखी क्याम्पस, मणिग्राम रूपन्देहीले आयोजना गरेको सम्मेलनमा प्रस्तुत ३० वटा कार्यपत्रमाथि विवेचना भएका थिए ।
‘सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू’ ‘उत्कृष्टताको खोजीमा’ भन्ने मूल विषयमा केन्द्रित रही सम्मेलन सञ्चालन गरिएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बताए ।
अन्तर्राष्ट्रिय सम्मेलन अन्तर्गत आइतबार अर्थशास्त्र तथा व्यवस्थापन क्षेत्र, शिक्षा तथा शिक्षण विधि क्षेत्र र कला, साहित्य तथा सामाजिक विज्ञान क्षेत्र गरी ३ वटा फरक फरक क्षेत्रका सम्बन्धित कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । तीनवटै विधाका कार्यपत्र प्रस्तुतीसँगै सहभागी एवम् विज्ञहरूका जिज्ञासा, टिप्पणीकर्ताका सुझाव र सम्बन्धित सत्रका सभाध्यक्षले निर्देशन दिने कार्य सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा. अशोक भण्डारीले बताए ।
अर्थशास्त्र तथा व्यवस्थापन क्षेत्रमा आयोजित कार्यपत्र प्रस्तुति प्रा.डा. प्रकाश श्रेष्ठको अध्यक्षता तथा प्रा.डा. बाबुराम ज्ञवाली र प्रा.डा.गणेशप्रसाद पाठकको टिप्पणीमा सञ्चालन गरिएको थियो । यो क्षेत्रमा १३ वटा कार्यपत्र प्रस्तुत गरिएको सो सत्रका सञ्चालक कृष्णकुमार रेग्मीले जानकारी दिए ।
यस्तैः समाजशास्त्र, कला र साहित्य क्षेत्रमा आयोजित कार्यपत्र प्रस्तुति भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा.डा. अनुराग द्विवेदीको अध्यक्षता एवम् उप–प्राध्यापक डा. शालिकराम पौडेलको टिप्पणीमा सञ्चालन गरिएको थियो । त्यो सत्रमा विभिन्न विश्वविद्यालय तथा क्याम्पसका तर्फबाट ८ वटा कार्यपत्र प्रस्तुति र छलफल भएको उपप्राध्यापक नोवराज तिवारीले जानकारी दिए ।
त्यसैगरी, शिक्षा तथा शिक्षण विधि क्षेत्रमा आयोजित कार्यपत्र प्रस्तुति सह–प्राध्यापक डा खुमप्रसाद शर्माको अध्यक्षता र उपप्राध्यापक लक्ष्मणप्रसाद भण्डारीको टिप्पणीमा सञ्चालन भएको थियो । यो क्षेत्रमा विभिन्न देशका विश्वविद्यालय एवम् क्याम्पसका तर्फबाट ९ वटा कार्यपत्र प्रस्तुत गरिएको सो सत्रका कार्यक्रम सञ्चालक जीवनकुमार पौडेलले जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालको सभापतित्वमा सञ्चालित सम्मेलन समापनका अवसरमा त्रिभुवन विश्वविद्यालयका सहायक डीन प्रा.डा. दिलीप पराजुलीले अनुसन्धानका कार्यमा सघाउन आफूहरू सदैव तयार रहेको बताए ।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको समापन सत्रमा यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद पौडेल, प्राध्यापक संघका सभापति राजेन्द्र थापा, कार्यपत्र प्रस्तोता भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपप्राध्यापक डा. विनयकुमार गुप्ता, उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्का उपप्राध्यापक विष्णु मगर लगायतले बोल्दै सम्मेलनले प्राज्ञिक उन्नयनमा नयाँ अध्याय थपेको बताए ।
यसअघि अस्ति शनिबार सम्मेलन उद्घाटनलगत्तै ३ देशका ३ वटा मुख्यवक्ताका अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति र २ वटा विशेषज्ञ समूह छलफल आयोजना गरिएको थियो । सम्मेलनका क्रममा क्याम्पसका विद्यार्थीहरूले साँस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेको क्याम्पसका लेखाप्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्