नवनियुक्त तीनजना मन्त्रीको आज शपथ हुँदै


रुपन्देही—मन्त्रिपरिषद्को पुर्नगठनसंगै लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीनजना मन्त्रीलाई मंगलवार दिउँसो पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ः२५ बजे नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भउको र यसकालागि तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीसहित नियुक्त गरेका थिए ।
नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार सञ्चालनका लागि गठबन्धन बनेपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नेकपाबाट तीन जना मन्त्री सरकारमा सहभागी भएसँगै प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै यसअघि जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरूको मन्त्रालयसमेत हेरफेर गरिएको छ । तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा पठाइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी भएको छैन छ ।








प्रतिकृया दिनुहोस्