July 6, 2026, Monday
२०८३ असार २२ सोमबार

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

Advertisement

गुल्मी– सफारी जिप दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–८, गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा सोमबार बिहान पिज दुर्घटना भएको हो ।

Advertisement

जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका–२, बाघमारे घर भई हाल बसपार्क बस्ने १६ वर्षीय सुदिप नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास, पाल्पा रेफर गरिएको थियो । उनको त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए ।

दुर्घटनामा प्युठानको नौबहिनी गाउँपालिका–१ घर भई हाल बसपार्क बस्ने १७ वर्षीय अर्जुन बुढाथोकीको बाँया हातमा सामान्य चोट लागेको छ । त्यसैगरी बागलुङ भिमगिठ्ठे घर भई हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियारको कोखा र बाँया खुट्टामा चोट लागेको छ भने रेसुङ्गा नगरपालिका–९, चारीखोला निवासी १८ वर्षीय आयुष गैरेको बाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप दुर्घटना भएको हो । जिपमा ६ जना सवार थिए । तीमध्ये दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।