June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

एक सताभित्रै मनसुन नेपाल प्रवेश गर्दै, कम बर्षाको संभावना

Advertisement

भैरहवा–एक साता भित्रै नेपालमा मनसुन भित्रिने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

Advertisement

विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्याहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको र उक्त मनसुन नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्ने मौसमविद् रोजन लामिछानेको भनाइ छ ।

मनसुन प्रवेशको सुरुवाती चरणमा नेपालको पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उनले जनाए । नेपालमा वर्षभरिमा पर्ने वर्षाको ८० प्रतिशत वर्षा मनसुनकै समयमा हुने गर्छ । नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिण गोलाद्र्धस्थित दक्षिण अफ्रिकी मुलुक माडागास्कर आसपासमा हुन्छ । त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाब बढ्छ । त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यप्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रने गर्छ ।

जेठको अन्तिमतिर नेपालमा प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ । मौसमविद्हरुका अनुसार, नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ । त्यहाँको जलवाष्पयुक्त वायुले नेपालको मध्य र पश्चिम भू–भागमा मनसुनी वर्षा गराउने गर्छ । नेपालमा भित्रने मनसुनी न्यूनचापीय रेखाको सरदर स्थान भारतको गङ्गा किनार आसपास हो । त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायुसहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा वर्षा बढी हुने गरेको छ ।

केही मौसमविद् भने नेपालमा मनसुन भित्रने एकिन नभएको बताउँछन् । कृषि मौसमविद् रामेश्वर रिमाल नेपालमा मनसुन भित्रिन ढिलाहुन सक्ने बताउँछन् । मनसुन भित्रेपछि पनि पानी चाहिने बेला वर्षा भएन भने धान डढ्ने र अतिवृष्टि हुँदा डुब्ने उनको भनाइ छ । विश्व मौसम सङ्गठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान गरेको छ । दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिँदो प्रवृत्तिसमेत भित्राउन सक्ने संभावना औंल्याउँदै त्यसप्रति सचेत रहन सङ्गठनले आग्रह गरेको छ ।

विश्व मौसम सङ्गठनका अनुसार जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको चक्रले दक्षिण एसियाको धेरैजसो भू–भागको जीवनलाई सिञ्चित गर्छ । यस मनसुनमा पूर्वानुमान गरिएको औसतभन्दा कम मनसुनी वर्षाले कृषी लगायत्का सवै खालका जिवनशैलीमा नकारात्मक असर पार्ने संभावना छ ।