July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

नेपाल र भारतका पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, ९ रनले नेपाली टिम पराजित

Advertisement

भैरहवा–सञ्चारका माध्यामबाट नेपाल र भारतका पत्रकारहरुबिचको आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आइतवार भैरहवामा आयोजित दोस्रो नेपाल-भारत क्रिकेट प्रतियोगिताको उपाधी भारतीय भिडियाले हात पारेको छ ।

Advertisement

लुम्बिनी प्रेस क्लवको आयोजना र रुपन्देहीको क्रिकेट संघको सह-आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा लुम्बिनी प्रेस क्लव र भारतको महाराजगञ्ज प्रेस क्लवबीच प्रतिस्पर्धा भएको थियो । महाराजगञ्ज प्रेस क्लवले लुम्बिनी प्रेस क्लवलाई ९ रनले पराजित गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनी प्रेस क्लवले १४५ रनको लक्ष्य पछ्याउने क्रममा १३६ रन बनाउन सक्यो । नेपालका लागि सचिन चौधरीले अविजित ब्याटिङ गर्दै उत्कृष्ट खेल प्रदर्शन गरे पनि नेपाली टोली लक्ष्य हासील गर्न सकेन ।

प्रतियोगितामा विजेता महाराजगञ्ज प्रेस क्लव टोलीले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गर्यो। उपविजेता नेपाली टोलीले नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गर्यो।

बिजयी तथा उपबिजयी टिमलाई पुरष्कार तथा प्रमाणपत्र बितरण गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले खेलकुद दुई देशका जनतालाई जोड्ने सबैभन्दा सशक्त र सकारात्मक माध्यम भएको बताए । नेपाल र भारतबीचको सम्बन्ध केवल भौगोलिक वा कूटनीतिक मात्र नभई भाइचाराको सम्बन्ध रहेको भनाइ उनको थियो ।

यस अघि प्रतियोगीताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सीमावर्ती क्षेत्रमा आयोजना हुने यस्ता सकारात्मक गतिविधिले दुवै देशका नगर र नागरिकबीच आपसी सद्भाव बढाउने बताए । सिद्धार्थनगरमा दुई देशका सञ्चारकर्मीहरू भेला भई खेलमार्फत आपसी ऐक्यबद्धता जनाउनु खुसीको कुरा रहेकोउनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंका केन्द्रिय सदस्य तथा स्थानीय उद्यमी राजेशकुमार अग्रवालले यो मैत्रीपूर्ण खेलले खेलकूदको क्षेत्रमा मात्र नभएर नेपाल र भारत दुई देश बिचको आपसी सम्बन्धमा पनि नयाँ उचाइ थपेको बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले मिडिया कपको मुख्य मर्म नै नेपाल र भारतका कलमजीवीहरूलाई एउटै मञ्चमा ल्याएर मित्रताको पुल निर्माण गर्नु रहेको बताए । उनले खेलको उद्देश्य कुन टोलीले जित्यो भन्ने नभइ दुई देशका मिडियाकर्मीहरूबीच कसरी आपसी समझदारी, सद्भाव र सहकार्य अभिवृद्धि होस भन्ने रहेको बताए ।

महाराजगञ्ज प्रेस क्लवका अनुज कनोजिया ‘म्यान अफ द सिरिज’ घोषित भए । लुम्बिनी प्रेस क्लवका सचिन चौधरी उत्कृष्ट ब्याट्सम्यान, प्रकाश न्यौपाने उत्कृष्ट बलर र दीपेन्द्र बडुवाल उत्कृष्ट फिल्डरको रूपमा पुरस्कृत भए ।

प्रतियोगितामा जित–हारभन्दा माथि उठेर दुवै टोलीका खेलाडीहरूले मैदानमा देखाएको सद्भावले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ र खुला सिमानाको आत्मीय सम्बन्धलाई खेल क्षेत्रमार्फत अझ उचाइमा पुर्याएको अनुभूति गराएको महाराजगञ्ज प्रेस क्लवका अध्यक्ष अमित त्रिपाठीले बताए ।