June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

कथा : झिल्को

Advertisement

एउटा नयाँ अनुहार— दाह्री-जुँगावाला ! उसको नजिक–नजिक आउँछ । सबिना परपर भाग्छे ।  अन्त्यमा च्याप्प समाउँछ । ऊ लाजले रातोपिरो, खलखलती पसिना, शरीर झमझम, रमरम… अपरिचित हात उसका कम्मरमा डुल्दै, एकाएक हिमशिखरमा पुग्छन् । सबिना अत्तालिन्छे, चिच्याउँछे— “आमा !”

Advertisement

0000

अनन्त समय नियालिरहेका हिमालहरू हाँसिरहेछन् यहाँ । कसैको याद बोकेको हावाले आफ्नो बेग घटाएर हेरिरहेको होला यो दृश्य । वरपरका रुखहरू मुस्कुराइरहेका होलान्—
पातहरूले छरिरहेका छन् प्रेमको चिसो बतास ।

वरपीपलको अध्यक्षतामा समीर र सबिना साटिरहेछन् प्रेम, सपना र जिन्दगी !

“उ हेर त त्यहाँ— त्यो चिलाउनेको रूख कस्तो हाँसिरहे जस्तो ।”

सबिनाले अगाडिको चिलाउनेको रुखमा बनेको आकृति देखाउँदै समीरको ध्यानाकर्षण गराउँछे । “अँ, कस्तो ठ्याक्कै है!”

प्रकृतिको अनुपम दृश्य । मौवाको रूखको हाँगामा एक जोडी ढुकुर बसेका छन् । भाले ढुकुरले आफ्नो गर्दन पोथी ढुकुरको शरीरमा डुलाइरहेको छ । शायद ऊ फकाउन चाहन्छ । पोथी ढुकुरलाई उसको प्रस्ताव स्वीकार्य छैन, त्यसैले त ऊ घुर्क्याएर उता फर्कन्छे । केही बेरसम्म यो क्रिया चलिरहन्छ ।

एक छिनपछि दुवै ढुकुर एक अर्काको अँगालोमा बाँधिन्छन् र साट्छन् आफ्नो प्रेम । सायद अब उनीहरू केही दिनमै गुँड बनाउने तरखरमा लाग्नेछन्— जहाँ शुरू हुनेछ ढुकुरको नयाँ पुस्ता ।

यसरी नै चलिरहन्छ प्रकृति । नयाँ पुस्ताको आगमन भइरहनु प्रकृतिको आवश्यकता हो । पुराना रुखहरू एकदिन बुढा हुन्छन् । बुढ्यौलीले कहाँ थाम्न सक्छ र उसको उत्तेजनाको आहट ? कहाँ भर्न सक्छ र उसका आवश्यकताले खारिएको रित्तो मन ? जसरी हरेक वसन्तपछि वर्षा हुन्छ, हरेक मृत्यु सँगै कतै एउटा नयाँ जन्म हुन्छ । त्यसरी नै चलिरहन्छ प्रकृतिको चक्र—एउटा जीवनचक्र ।

* * * *

सबिना भर्खर ब्याचलर प्रथम वर्षमा भर्ना भएकी थिई । उन्नाइसौं वसन्तको आगमनले उसको अन्तरमन कताकता काउकुती लागिरहेको थियो । शिरदेखि पाउसम्म आकर्षणले भरिएको उसको व्यक्तित्व किशोरावस्थाका मुख्य पाटाहरू झल्काइरहेको थियो । ती कुनै हिमशृङ्खला भन्दा कम थिएनन् ।

उसको मुस्कान पनि औधी सुन्दर— पुक्क फुलेका गालामा डिम्पलको उपस्थितिले झन् अनेकौँ भमराहरू कति मोहित हुँदै होलान्  अहो ! कुनै बगैंचामा फुलेका राता गुलाबजस्ता उसका ओठहरू । तर उसलाई के थाहा आफ्नो माहात्म्य ।

कति चिन्ता छ उसलाई— बाख्रा–पाठा पनि उसलाई नदेखेसम्म कराइरहन्छन् । सबिनालाई पनि औधी माया छ उनीहरूको । बिहान–बेलुकी गोठ र चुह्लो–चौका । प्रचण्ड गर्मी होस् या कठ्याङ्ग्रिने चिसो— नारिनु र जोतिनु बाहेक केही छैन उसको जीवन । धन्न कलेज जान पाएकी छे । कलेज जान थालेपछि बिहानको धन्दा गर्नुपर्दैन । त्यसैले पनि ऊ पढाइलाई अति चासो दिन्छे ।

कलेज गएपछि देश–दुनियाँका कुरा जान्न पाइन्छ— विश्वयुद्धदेखि माओको क्रान्तिसम्म । ‍कति वीर थिए नेपाली महिलाहरू पनि— नालापानीमा देखाएथे आफ्नो वीरता । आजका नारी त भो, के कुरा गर्नु ? फ्लोरेन्स नाइटिङ्गेल, क्विन एलिजाबेथ, भृकुटी…कति हो कति ! नारीहरू कहाँ पुगेनन् ? केसम्म गरेनन् ?

‘लक्ष्मीबाइ फुले’को बारेमा पनि सुनेकी थिई— भारतको पहिलो महिला शिक्षिका थिइन् उनी । त्यसपछि सबिनामा पनि शिक्षिका बन्ने रहर जाग्यो । केही थान सपनाहरू उम्रिन लागे उसको मनमा ।

घरमा दुई दाजु छन्— केही गर्दैनन् । दुवैले बीचमै पढाइ छाडेका । ठूलो दाजु त एक पटक मुम्बई पुगेर आएको । मुम्बईका अनेकन किस्सा सुनाउँथ्यो बेला–बेला । उसका कुरा सुन्दा सबिनालाई पनि त्यहाँ पुगिदिऊँ जस्तो लाग्थ्यो ।

‘कस्तो होला मुम्बई ?’ राती बिछ्यौनामा पल्टिएर कल्पना गर्थी— ऊ मुम्बईलाई पनि आफ्नै हिसाबले सोच्थी— उहीँ डाँडापाखा, उहीँ बनजंगल । तल्लाघरे कान्छी, सुस्मिता, सबिता, बिनिता सबैलाई उहीँ कल्पनामै पुर्याइदिन्थी ।

उसले देखेको संसार यही आफ्नै गाउँ । गाउँबाट पारि देखिने दुई–चार अरू गाउँ पुगेकी पनि छैन । त्यही सल्लेरी, त्यही खर्यान, कलेज, अक्करे भीर, बजार… यिनै हुन् उसले देखेका ठाउँहरू । वर्षदिनमा एक पटक नयाँ कुर्ता–सुरुवाल लगाउन पाउँदा उसलाई दुनियाँ जितेजस्तो लाग्थ्यो । दाजुले मुम्बईबाट ल्याएका मिठाई त उसलाई सुन बराबर ! सानो दुनियाँ । सानै सपना । घरमा सबैले उसलाई ‘साने’ भनेर बोलाउँथे ।

* * * *

मंसिरको महिना ! परपरका डाँडाहरूमा अलिअलि चिसोको आगमन भएको प्रमाण देखिन्थ्यो । अक्करेको भीरमा खर काट्ने खेतालाहरूले गाएको भाका सुन्न सकिन्थ्यो ।

“चरी है जीवन, सरि है जीवन,
गैगयो जोबान भीर पाखामा ।
कस्तो है जीवन छोरीको आमा,
बस्न नपाइने तिम्रो काखमा ।”

सबिना कलेजबाट फर्कँदै थिई । गाउँतिरबाट छ–सात जना नयाँ अनुहारहरू झरिरहेका थिए । स्वामिको रूखमुनि टक्क अडिएर उनीहरूलाई नियाल्न भ्याई । उनीहरू नजिक आए । एकैछिन उसैलाई हेरिरहे ।

गलामा गलबन्दी भिरेको अलि बूढो मान्छेले भन्यो— “बुहारी नानी त औधी सुन्दर !”

केही दुई–चार सामान्य प्रश्न सोधे । उसले पनि सामान्य उत्तर दिई ।

“ल, छिट्टै भेटौंला” भन्दै उनीहरू ओरालो लागे ।

सबिना अवाक ! केही बुझ्नै सकिन । हतार–हतार घर पुग्यो । घर पुगेपछि आफ्नै घरधन्दामा व्यस्त भई । तर उसको मनमा एउटा प्रश्न भने जरो गाडेर बसेको थियो—

बुहारी नानी ? म कसकी बुहारी ? किन बुहारी भने ?

जवाफ पाउन समय लागेन । रातिको भान्सा बनाउँदा–बनाउँदै ‘बा’ ले भन्नुभयो— “अब कान्छीको हातको खाना धेरै दिन खान नपाइने भो । हुन त यो टुहुरीको टुङ्गो लगाइदिएपछि मेरो जिम्मेवारी सकिन्छ । काँध हलुका हुन्छ ।”

‘बा’ का कुरा सुनेर सबिना झनै अचम्ममा परी । उसको अनुहारको भाव देखेर ठूला दाइले भने— “कान्छी, आज तँलाई माग्न भनेर पारी गाउँबाट मान्छे आएका थिए । राम्रो खानदान रहेछ । बाले ‘हुन्छ’ भन्दिनुभयो ।”

बल्ल उसले जवाफ पाई । ऊ मौन भई । त्यो रात एक गाँस भात पनि निल्न गाह्रो भयो ।

बिहेको बारेमा सुनेकी थिई, बुझेकी पनि थिई— तर अहिल्यै बिहे हुन्छ भनेर सोचेकै थिइन । रातभर उसकै आँखामा बिहेको दृश्य नाचिरह्यो— मुम्बई, बिहेको मण्डप, उहीँ डाँडाकाँडा, उहीँ वनजंगल…

तर साथीसँगिनी छैनन् । एउटा नयाँ अनुहार— दाह्री-जुँगावाला । उसको नजिक–नजिक आउँछ । सबिना परपर भाग्छे । ऊ झन् नजिक आउँछ । अन्त्यमा च्याप्प समाउँछ । केश सुमसुम्याउँछ । गालामा चुम्बन गर्न खोज्छ । ऊ लाजले रातोपिरो, खलखलती पसिना, शरीर झमझम, रमरम… अपरिचित हात उसका कम्मरमा डुल्दै, पिठ्युँमा पुग्दै, एकाएक हिमशिखरमा पुग्छन् । सबिना अत्तालिन्छे, चिच्याउँछे— “आमा !”

* * * *

कति छोटो छ समय ! कति छिटो छ । सबिनाको बिहे भइसकेको छ । तर बिदाइका आँसुका धर्सा अझै मेटिएका छैनन् । माइतीका यादहरू छरपष्ट छन् । एउटा कुरा फेरिएको छैन— चुह्लो–चौको । गोठ–धन्दा ।

बाँकी सबै नयाँ— ठाउँ नयाँ, घर नयाँ, मान्छे नयाँ, सम्बन्ध नयाँ । घरीघरी आँगनमा उभिएर नियाल्छे— सल्लेरी, अक्करेको भीर, बगिरहेको खोला… श्रीमान पनि औधी गुणी, साना–साना गल्तीमा कराउँदैनन् । सम्झाउँछन् । हौसला दिन्छन् । माया देखाउँछन् ।

बिस्तारै त्यो अन्जान ठाउँ नै आफ्नै घर जस्तो लाग्न थाल्यो । ती मान्छे आफ्नै जस्ता लाग्न थाले । एक–दुई सङ्गिनी पनि भेटिइन् । घरको कुनै कुनो अब नौलो रहेन । एउटा देवर, नन्द, सासू अनि श्रीमान । गोठमा लैनो भैंसी, हलगोरु । अलिकति बारी, गैँराको खेत, डाँडाको खर्याङ— सबै ठाउँ पुगिसकेकी थिई ।

बिहे भएको चार महिना हुन लाग्दा–नलाग्दै खबर आयो— श्रीमान विदेश जाने—मुम्बई । सबिनाको मन चम्कियो— “जान पाए त हुन्थ्यो !”

उहीँ मुम्बई । ऊ र उसको श्रीमान । उहीँ डाँडापाखा । सडकभरि मान्छे–मान्छे । गाडीका ताँती । रेल कुदिरहेको दृश्य । र अन्तिम डिब्बामा— ऊ र उसको श्रीमान ।

बल्लतल्ल नजिकको मान्छेको आभास हुँदै थियो । प्रेम बस्दै थियो । नजिकिँदै थिए । तर— मानिसलाई नजिकिएर मात्र हुँदैन रहेछ । कहिलेकाहीँ टाढिनु पनि परेछ । बाँडिनु पर्ने रहेछ ।

उड्यो एउटा ढुकुर— पोथी ढुकुर एक्लै ! सबिनाले जीवनमा दोस्रो पटक एक्लिएको महसूस गरिन् । बिरामी हुँदा “कस्तो छ ?” भनेर सोध्ने कोही छैन । निद्रा नलाग्दा अँगालोमा बाँधेर थपथपाउने पतिदेव छैनन् । मनको विरह सुनिदिने कोही छैन ।

नजिक हुँदा केही थाहा नहुने, टाढिँदा भने मरनसरह पीडा । “समुद्रको छालजस्तो रहेछ जिन्दगी । जीर्ण पर्खालजस्तै रहेछ जिन्दगी ।” किनार पनि त भोग्दो हो विरह—
जब पानीको सतह घटेर तल–तल पुग्छ ।

पँधेरोमा आइमाईहरू जम्मा थिए— कोही सारी, कोही धोती । कलिला देखि वृद्धसम्म । सबिना पनि डोकोमा गाग्री बोकेर पँधेरोतिर आउँदै थिई । आइमाईहरूको कुरा सुनेर टक्क अडिई ।

एउटी भन्दै थिई— “बिचरी सबिना ! भर्खर बिहे भएको, पोइ गइहाल्यो । वर्ष दिन भयो, आउने टुङ्गो छैन । डढेरै मर्छे कि क्या हो !”

अर्कीले थप्दै भनी— “हो त! एक पटक कोरेर झट्का दिएपछि छाडिदिएको सलाई कहाँ त्यतिकै सेलाउँछ र ? फेरि काटी खोजिरहन्छ । आगो बालिरहन्छ ।”

त्यतिञ्जेल अर्कै आइमाई खित्का छोड्दै भनी— “एउटा काटी छैन भन्दैमा सलाईलाई के चिन्ता ! आफ्नै देवरसँग सल्केकी छे भन्छन् । कुरो के हो ?”

अघिका आइमाईहरू ट्वाल्ल परेर सुनिरहे ।

एउटी बुढीले भनी— “हो, मैले पनि सुनेकी ।”

पछिल्लोले अझै थपे— “सुनेको मात्र हो र ! अस्ति माथि चौपारीमा आफ्नै आँखाले देखेँ—
खुब अँगालोमा बेरिएर लडिबुडी गर्दै रहेछन् ।”

अर्कीले हाँस्दै— “ह्या, के भयो त ! एक्लो जीवन त गाह्रो पर्छ हौ । मानिसलाई खाएर मात्र पुग्दैन— निदाउनु पर्छ । खुशी, शान्ति, आनन्द, प्रेम—सबै चाहिन्छ । उमेर त्यस्तै हो, आगो बल्छ भने बल्न देउ न! के को रडाको ?”

अर्कीले भनी— “आगो बले त ठिकै हो, गाउँभरि नै डढेलो लाग्यो भने ? त्यो त आपत पर्छ ।”

सबै गलललल हाँसे ।

सबिना भने चुपचाप पानी नलिई फर्की ।

त्यस दिनदेखि सबिना गाउँमा देखिएकी छैन । घरमा पनि छैन । माइत पनि पुगेकी छैन ।

कसैले भन्छ— खोलामा हाम फालेर भेलले बगायो ।

कसैले भन्छ— पोइलै गई ।

अक्करेको भीरतिर गएको देख्यौँ भन्ने पनि भेटिए ।

सबैका अनेकथरी कथाले सबिनालाई अनेक रूपमा उभ्याए तर उसको अत्तोपत्तो कहीं पाएनन् । मृत्यु भए पनि— उसको आत्मा भने शायद मुम्बई पुग्यो होला । किनकि उसको जीवनको पहिलो ठूलो सपना— मुम्बई एक पटक पुग्ने, त्यही त थियो । –sahityapost