उत्प्रेरणा : चेतनाको जागरण र जीवनको गति


मानव जीवन केवल श्वासको निरन्तरता होइन । यो अन्धकारबाट उज्यालोतर्फ, निराशाबाट आशातर्फको चेतनाको यात्रा हो ।जीवनका कठिन क्षणहरूमा पनि जब भित्र कतै एउटा आवाज उठ्छ, “अझ अघि बढ, तिमी सक्छौ ।” त्यो आवाज, त्यो ऊर्जा, त्यो अदृश्य कम्पन नै उत्प्रेरणा हो ।
स्वामी विवेकानन्दले भनेका छन्, “उठ, जाग र तबसम्म नथाम, जबसम्म लक्ष्य प्राप्त नहोस् ।” यो केवल प्रेरणादायी वाक्य होइन, यो मानव चेतनाको दर्शन हो ।
उत्प्रेरणा जीवनको केन्द्र हो, जसले मानिसलाई जड्ताबाट उठाएर गतिशीलता, लक्ष्य र आत्मविश्वासतर्फ धकेल्छ । जहाँ उत्प्रेरणा हुन्छ, त्यहाँ जीवनमा प्रकाश हुन्छ, जहाँ यो हराउँछ, त्यहाँ चेतना अन्धकारमा बिलाउँछ ।
उत्प्रेरणाको अर्थ र स्वरूप
‘उत्प्रेरणा’ शब्द संस्कृतका ‘उत्’ (माथि) र ‘प्रेरणा’ (चलाउने शक्ति) बाट बनेको हो ।
अर्थात्, मानिसलाई माथि उठाउने, चेतनालाई गतिशील बनाउने आन्तरिक शक्ति नै उत्प्रेरणा हो ।
दार्शनिक दृष्टिले, उत्प्रेरणा आत्म–विकासको गति हो । अरस्तुले भनेका छन्,
“प्रत्येक अस्तित्वको अन्तिम उद्देश्य आफ्नो पूर्णता प्राप्त गर्नु हो ।”
त्यसैले उत्प्रेरणा आत्म–पूर्णताको यात्रा हो ।
मनोविज्ञानका संस्थापक विलियम जेम्सले लेखेका छन्, “मानिसको महान् शक्ति यही हो कि ऊ आफैँलाई परिवर्तन गर्न सक्छ ।”
त्यो परिवर्तनलाई चलाउने अदृश्य शक्ति नै उत्प्रेरणा हो ।
मास्लोले आफ्नो ‘अ थ्योरी अफ ह्युमन मोटिभेसन’मा उत्प्रेरणाको चरम अवस्था ‘सेल्फ एक्चुअलाइजेसन’ अर्थात् आत्म–साकारको रूपमा वर्णन गरेका छन्, “जब व्यक्ति आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी आफूलाई पूर्ण रूपमा व्यक्त गर्न सक्षम हुन्छ, त्यही क्षण उसले उत्प्रेरणाको सर्वोच्च अनुभव गर्छ ।”
यसरी उत्प्रेरणा केवल भावना होइन, यो जीवनलाई अर्थ र दिशा दिने मनोवैज्ञानिक प्रक्रिया हो ।
सैद्धान्तिक पृष्ठभूमि : दर्शन र मनोविज्ञान
उत्प्रेरणाको सैद्धान्तिक आधार दर्शन र मनोविज्ञान दुवैसँग गहिरो रूपमा जोडिएको छ ।
कार्ल रोजर्सले व्यक्तिको स्वाभाविक प्रवृत्ति आत्म–साकारतर्फ हुने बताएका छन् । उनले ‘अन बिकमिङ अ पर्सन’मा लेखेका छन्, “मानव आत्माको स्वभाव नै निरन्तर वृद्धि र आत्म–अभिव्यक्तिको यात्रा हो ।”
डेसी र रयानले आफ्नो ‘सेल्फ डिटरमिनेसन थ्योरी’ मार्फत उत्प्रेरणालाई दुई प्रकारमा व्याख्या गरेका छन्—
१. बाह्य उत्प्रेरणा — इनाम वा दण्डको कारणले काम गर्ने प्रवृत्ति ।
२. आन्तरिक उत्प्रेरणा — आत्मसन्तुष्टि र मूल्यबोधका कारण हुने क्रिया ।
उनले निष्कर्ष दिएका छन्, “स्थायी उत्प्रेरणा बाह्य स्रोतबाट होइन, भित्री चेतनाबाट जन्मिन्छ ।”
यसैले उत्प्रेरणा आत्म–अन्वेषण, उद्देश्य–बोध र चेतनाको स्वतन्त्रताको परिणाम हो ।
उत्प्रेरणा जगाउने उपायहरू : आत्म–अन्वेषणको प्रक्रिया
उत्प्रेरणा कुनै बाह्य उपदेश होइन, यो आत्मबोधको जागरण हो । तर, यसलाई सक्रिय राख्न केही आधारहरू आवश्यक छन्—
(क) उद्देश्यको स्पष्टता
विक्टर फ्रेंकलले ‘मनुज सर्च फर मिनिङ’मा लेखेका छन्, “जसले किन बाँच्ने कारण भेट्छ, उसले कसरी बाँच्ने सामना गर्न सक्छ ।”
जीवनको अर्थ र लक्ष्य बुझ्न सकेको व्यक्ति कहिल्यै दिशाहीन हुँदैन ।
(ख) आत्मविश्वास र आत्म–प्रभावकारिता
अल्बर्ट बान्डुराको विचारमा, “आफूले गर्न सक्छु भन्ने विश्वास नै उत्प्रेरणाको बीउ हो ।”
विश्वासविहीन चेतना कमजोर हुन्छ, विश्वासपूर्ण चेतनाले असम्भवलाई सम्भव बनाउँछ ।
(ग) सकारात्मक वातावरण
जिम रोनका शब्दमा, “तपाईं ती पाँचजना मानिसहरूको औसत हुनुहुन्छ, जससँग तपाईं सबैभन्दा धेरै समय बिताउनुहुन्छ ।”
सकारात्मक संगतले उत्प्रेरणाको ज्वाला बलाउँछ, नकारात्मकताले त्यसलाई निभाउँछ ।
(घ) ज्ञान र अध्ययनको निरन्तरता
ट्यागोरले ‘गीताञ्जली’मा लेखेका छन्, “ज्ञानले उज्यालो ल्याउँछ, अज्ञानले अन्धकार ।”
सीप, अध्ययन र आत्मचिन्तन नै उत्प्रेरणाको इन्धन हुन् ।
उत्प्रेरक व्यक्तित्व
उत्प्रेरक व्यक्ति त्यो हो, जसको जीवन नै प्रेरणा हुन्छ ।
गान्धीले भनेका छन्, “तिमी आफैँ त्यो परिवर्तन बन्न सक, जुन तिमी संसारमा देख्न चाहन्छौ ।”
बुद्धले पनि सन्देश दिएका छन्, “स्वयं आफ्नो दीपक बन ।”
यी वचनहरूले स्पष्ट पार्छन्— साँचो उत्प्रेरक अरू होइन, आफ्नै आचरणद्वारा उत्प्रेरणा दिन्छ ।
इतिहासका विवेकानन्द, मदर टेरेसा, बुद्ध, नेल्सन मण्डेला आदि केवल व्यक्तिहरू होइनन्, मानव चेतनाका उज्याला स्रोत हुन्, जसले संसारलाई नै नैतिक ऊर्जा प्रदान गरे ।
व्यवहारिक प्रयोग : शिक्षा, कार्य र समाज
शिक्षा क्षेत्रमा
जोन ड्यूवीले भने, æEducation is not preparation for life; education is life itselfÆ उत्प्रेरणाविहीन शिक्षा ज्ञान होइन, केवल सूचना हो । उत्प्रेरित विद्यार्थीमा जिज्ञासा, सिर्जनशीलता र अनुसन्धानशीलता बढ्छ ।
(ख) कार्यक्षेत्रमा
स्टीभ जोब्स भन्छन्, æThe only way to do great work is to love what you do.Æ प्रेम र लगन नै कार्य–उत्प्रेरणाको आत्मा हो । उत्प्रेरित कर्मचारी संगठनको मेरुदण्ड हुन्छ ।
(ग) सामाजिक जीवनमा
टोल्सटायले लेखेका छन्, “साँचो जीवन तब सुरु हुन्छ, जब हामी अरूका लागि बाँच्न थाल्छौँ ।” उत्प्रेरित नागरिकले समाजमा सहकार्य, करुणा र प्रगतिशील सोच फैलाउँछ ।
विश्व साहित्यमा उत्प्रेरणा
साहित्य चेतनाको दर्पण हो र उत्प्रेरणा त्यस दर्पणको उज्यालो । होमरको ‘ओडिसी’मा ओडिसियसको साहस, दोस्तोएभ्स्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’मा आत्म–शुद्धि, ट्यागोरको ‘गीताञ्जली’मा मुक्ति र पाउलो कोएल्योको ‘द अल्केमिस्ट’मा स्वप्न–साक्षात्कार– यी सबै उत्प्रेरणाका शाश्वत रूप हुन् ।
नेपाली साहित्यमा पनि यसको सुगन्ध गहिरो छ, लेखनाथ पौड्यालको ‘पागल’ आत्मसत्यको खोज हो, भवानी भिक्षुको ‘कृतघ्न’ आत्म–सुधारको स्वर हो र भीमनिधि तिवारीको कवितामा ‘म हिम्मत हार्दिनँ’ भन्ने आवाज जीवनप्रतिको दृढ आस्था हो ।
आत्म–उत्प्रेरणा र बाह्य उत्प्रेरणा
उत्प्रेरणा अन्ततः आत्म–जागरण हो, तर ग्रहणशील चेतना अरूको उज्यालोबाट पनि प्रज्वलित हुनसक्छ ।
डेल कार्नेगीले भने, “मानिसलाई अरूले भन्दा बढी, आफूको अस्तित्वको मूल्य महसुस गर्न चाहिन्छ ।”
त्यसैले साँचो उत्प्रेरणा तब हुन्छ, जब व्यक्ति भित्रबाट मूल्यबोध र अर्थको अनुभूति गर्छ ।
अरूका सकारात्मक उदाहरण र आदर्शहरूले पनि त्यो आन्तरिक दीप प्रज्वलित गर्न सक्छन् ।
व्यक्तिगत र सामाजिक महत्त्व
व्यक्तिगतस्तरमा उत्प्रेरणाले आत्मविश्वास, धैर्य र आत्मविश्वास बढाउँछ । विलियम अर्नेस्ट हेनलीको कवितामा भनिएझैँ, æI am the master of my fate, I am the captain of my soul=Æ
सामाजिक रूपमा उत्प्रेरणा चेतनाको सामूहिक उन्नति हो । बुद्धले भने, “हजार दीप जलाउँदा आफ्नो दीप निभ्दैन ।”
उत्प्रेरणा बाँड्दा घट्दैन, बरु समाज उज्यालो बन्छ ।
निष्कर्ष
अन्ततः उत्प्रेरणा नै जीवनको आत्मा हो, जसले अन्धकारलाई उज्यालोमा रूपान्तरण गर्छ, निराशालाई सम्भावनामा बदल्छ ।
विवेकानन्दका शब्दमा, “असफलता भन्ने कुरा छैन, हरेक असफलता सफलतातर्फको अर्को पाइला हो ।”
उत्प्रेरणा त्यो शक्ति हो, जसले मानिसलाई नकारात्मकताबाट उठाएर स्व–साक्षात्कार, कर्म र सृष्टितर्फ लग्छ ।
“उत्प्रेरणा भित्रबाट सुरु हुन्छ, तर यसको उज्यालो सम्पूर्ण मानवता भर फैलिन्छ ।” -baahrakhari








प्रतिकृया दिनुहोस्