July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

कथाः मेहंदी

Advertisement

आज बिहान उनलाई बार्दलीमा देखें । मेरो आँखा उनले कपालमा लगाएको मेहंदीमा पर्‍यो ।  साधरणतया उनी बिहान आठ बजे  टिलिक्क पारेर चम्काएको सुन्तला रङको होन्डा याक्टिवा स्कुटरमा हुइँकिसकेकी हुन्थिन् । आज दश बजिसकेको थियो । मेरो मनमा भने अनेकन खुल्दुली मडारिन  थाले ।

Advertisement

आफ्नो समयमा अनलाइन खबर सङ्कलन गरेर वेबसाइटमा अपलोड गर्ने काम घरमै बसेर गर्दा धेरै फुर्सद हुन्छ मलाई । समय कटाउन छत र बार्दलीमा यताउता गरिरहन्छु र कहिले पसलतिर पनि चुरोट खान निस्कन्छु ।

उनको घर हाम्रो घरभन्दा तीन घर पर विपरीत दिशामा छ । हाम्रो घर तीन तल्ले र उनको घर दुई तल्ले भएकोले उनको घरको छतबार्दली अनि घरको मूल ढोका हाम्रो घरको छतबाट प्रष्टै देखिन्छ । घरको बाहिरी चहलपहल र समग्रमा उनी मेरा चाखका विषय नै भए ।

प्राय: झल्याकझुलुक  देखा परिरहन्छिन् उनी । बिहान नियमित सूर्यलाई नमस्कार गर्न अनि तुलसीमा जल चढाउन छतमा आइरहन्छिन् । पूजाकोठामा बेलुकाको आरती गरेर साँझ-बत्ती भर्‍याङ अनि छतमा बाल्छिन् । उनी यी क्रियाकलापमा मस्त भएको दृश्य मलाई मनमोहक लाग्छ । साँझपख दियोको उज्यालोमा उनको अनुहार प्रफुल्लित भएको देख्छु । बिछट्टै राम्री त भन्दिनँ तर एक किसिमको लोभ्याउने आकर्षण छ उनमा । उत्सुकताले टल्किरहने  आँखा र निश्छल हाँसोले उनको व्यक्तित्व अझ सुन्दर बनाएको छ ।  मिलेको शरीरमा टिपिक्क पारेर  सेतो रङको कुर्ता सुरुवाल लगाउँदा अनि घाँटी खुल्ला राख्दै निलो रङको चुन्नी बेरेर कुमसम्म आउने रेशमी सुनौलो कपाललाई  जुरो पारेर बाँध्दा अझ उनको सुन्दरता  निखारिन्छ । पहिले उनलाई कुर्ता सुरुवालमै देखिन्थ्यो धेरै । केही वर्ष भो उनी ब्रान्डेड सामान र वुटिकका पहिरनमा रम्न थालेको । किन नहोस् त – पतिको वैदेशिक रोजगार र आफ्नो पनि एनजिओको जागीर  

म उनलाई उनी नै भन्न रुचाउँछु । ‘उनी’ अर्थात् किरण । करीब एघार वर्ष भो उनलाई हामीले चिनेको – नरेन्द्र दाइले उनलाई बिहे गरेर ल्याएपछि । मेरी बहिनी सरिता र उनी एउटै उमेरका भएर पनि होला शुरूदेखि नै सजिलै उनीहरू घुलमिल भए । अझ एमवियस सँगै पढ्दा उनीहरू घनिष्ठता बढ्यो । उनी आफ्नो अन्तरङ्ग सबै सरितासँग खोल्छिन् । कति कुरा सरितालाई पच्दैन र मलाइ पनि भन्छे । सरिताबाटै हो मैले उनलाई अझ बढी चिन्ने मौका पाएको ।

नरेन्द्र दाइ चार वर्ष भयो दुबई गएका । त्यो भन्दा पहिले काठमाडौंकै एउटा प्राइभेट कम्पनीमा प्रशासन हेर्थे । उनी बोर्डिङ स्कूलमा पढाउने काम गर्थिन् । आफ्नै घर छँदै थियो । सामान्य रूपमा उनीहरूको घर व्यवहार चलेकै थियो । एउटा साथीले सेफको काममा दुबईमा राम्रो आम्दानी छ जाऔं भनेर कर गरेकाले उनले छ महिनाको कुकरी तालिम लिए र दुबईको एउटा तीन तारे होटलमा सेफको सहायक भएर काम गरे । अहिले त्यही होटलमा हेड सेफ भाका छन् । वर्षको दुई पल्ट नबिराई करीब एक महिना नेपाल आइरहन्छन् । गाको दशैंमा घर आउँदा भन्दै थिए, “अबको दुई वर्षमा चालीस पनि लागिन्छ । नेपाल फर्केर घरको तला थप्छु अनि दुई फ्ल्याट भाडामा लगाएर एउटा गाडी किन्छु र यतै एउटा रेस्टुरेन्टको व्यवसाय गर्छु । कति अरूको काम मात्र गर्नु ?”

उनीहरूको एउटा सात वर्षे छोरा छ – केन् । किरण र नरेन्द्रको नाम मिलाएर ‘किन’ नाम राखेकोमा आजकाल ‘केन’ भाको छ । घरको काम सघाउन एउटी ‘कान्छी’ पनि छिन् । कान्छीलाई कामको मात्र चिन्ता छ । कान्छीलाई काम सकेर कहिले घर गई बालबच्चा रेखदेख गरौं भन्ने हतारो नै हुन्छ । कान्छी उनीद्वारा पूर्ण रूपमा तालिमप्राप्त छिन् । उनको घरको कुनै पनि कुरा कोहीसँग गर्दिनन् र कसैले कदंकदाचित सोधिहाले पनि “मलाई थाहा छैन” भनेर तर्किन्छिन् । 

आफूलाई साह्रोगाह्रो पर्दा छोरा केनलाई बानेश्वरको सिडियो टोलमा अवस्थित माइतमा छाड्छिन् । सरकारी सेवाबाट अवकाशप्राप्त हजुरआमा तथा हजुरबुवासँग केन रमाउने नै भयो र वहाँहरूको पनि समय मजाले कट्ने भयो । आजकल केनलाई मामाघरमा छोड्ने क्रम अलि बाक्लिएको छ । 

करीब दुई वर्ष पहिलेको कुरा हो – सरिता केही दिन माइत बस्न हाम्रो घरमा आएकी थिई । उनी पनि सरितालाई भेट्न थइन् र करीब दुई घण्टा ढोका थुनेर उनीहरूले बात मारे । उनी गएपछि सरिताले मलाई सुनाई, “किरणलाई एउटा सँगै पढेको केटाले कागजमा बिहे गरेर अस्ट्रेलिया जाऔं भन्ने प्रस्ताव ल्याको रहेछ । उसले दुई-चार दिनमै जवाफ मागेको छ रे ।” 

सरिताले प्रस्तावबारे सुनाएको पर्सिपल्ट दिउँसो हुनुपर्छ – उनलाई छतमा कपालमा मेहंदी लगाउन कान्छीले सहयोग गरिरहेको देखें । साँझपख: छोरा केनलाई स्कुटरमा राखेर एउटा झोला बोकी कतै गएको देखें । पछि सरिताले भनी – छोरालाई माइत छोडेर अस्ट्रेलिया जान प्रस्ताव गर्ने साथीसँग दुई रात धुलिखेल रिसोर्टमा बिदाइ छुट्टी मनाइछन् । छोरो सानै भएकोले रेखदेख गर्नुपर्ने भएर आकर्षक प्रस्ताव लत्याइदिछिन् ।  त्यो साथीले अर्को साथीलाई सिफारिस गरेर एनजिओमा कार्यक्रम अधिकृतको जागीर पक्का भएको पनि सुनाई । चिनो स्वरूप उसले दिएको आइफोन – ५ को सेतो सेट पनि उनले देखाउन भ्याइछन् । 

एनजिओको जागीर खान थालेपछि कहिले पोखराकहिले चितवन त कहिले नेपालगन्जको यात्रा पनि बाक्लिन थाल्यो । बिस्तारै सूर्यलाई जल चढाउँदै नमस्कार गर्नेतुलसीमा पानी हाल्नेसाँझ – बत्ती बाल्ने क्रम पनि पातलिंदै गयो । 

एक दिन बिहान म चुरोट खान पसलतिर निक्लेको बेला उनी मेहंदी लगाएकै कपाल मै पसलबाट दूध किनेर घरतिर जाँदै थिइन् । त्यही साँझ एउटा साथी विदेशबाट आएको खुशीमा हामी ५,६ जना साथीभाइको जमघट थियो – भेटघाट रेस्टुरेन्ट अनामनगरमा । सबै जना मस्त थियौं – रमाइला गफगाफ र हल्लाखल्लामा ।  कुनाको टेबलमा मधुरो प्रकाशमा एक जोडी वाइनमा रम्दै मधुर स्वरमा कुरा गर्दै एक आपसको दूरी घटाइरहेका थिए । शारीरिक हाउभाउले सामीप्य सम्बन्धको छनक दिइरहेको थियो । कताकता उनी नै हुन् कि भन्ने भान भयो तर मधुरो प्रकाश र दूरीले गर्दा ठम्याउन सकिनँ । एकछिन पछि हेर्दा त्यो टेबलमा एउटा खानदानी देखिने पुरुष मात्र बसेको थियो । म शौचालय गएर बाहिर मात्र निस्केको के थिएँ उनीसँग जम्काभेट भयो । एकदमै डराए जस्तो गर्दै मलाई “प्लिज ! नरेन्द्र दाइलाई नभन्नुस् ल । साथी मुकेसले कर गरेर मात्र डिनरमा आएकी ।”

मैले “भन्दिनँ” भनें । एक छिनपछि त्यो जोडी आँखाबाट ओझेल भयो । म घर फर्कंदा रातको करीब एघार बजेको हुँदो हो – उनको घरको कुनै पनि बत्ती रातभर बलेको देखिनँ । 

एक दिन म आफ्नो पल्सर मोटरसाइकलमा चाबेलबाट भत्केको पुल हुँदै ठमेल जान हिंडेको थिएँ । अगाडी देब्रे बाटोमा एक युवती सुन्तला रङको स्कुटरलाई अप्ठ्यारो गरी असिनपसिन हुँदै ठेल्दै गरेको देखें । नियालेर हेरेको उनी नै रहिछिन् ।  मैले मोटरसाइकल रोकेर के भयो भनी सोधें । उनले अचानक स्टार्ट बन्द भएर वर्कशपतिर जान लागेको बताइन् ।

मैले मोटारसाइकलको स्टायाण्ड लगाई उनको स्कुटर भत्केको पुल पारी वर्कशपसम्म पुर्‍याएँ । वर्कशपको भाइले सबै चेकजाँच गर्‍यो र ठीक पार्न कम्तीमा दुई घण्टा समय लाग्ने बतायो । मैले मौका छोप्दै त्यतिन्जेल कफी पिउने प्रस्ताव राखें । उनले जरूरी कामले हतार भएकोले मलाई अफिस छोडिदिन अनुरोध गरिन् । पहिलो पटक उनी मेरो मोटरसाइकलमा मेरो पछि बसिन् । उनको दाहिने हातले मेरो काँधमा गरेको त्यो स्पर्श अनि सामीप्यले नै गर्दा हो कि अन्य के हो – म एउटा युद्ध जितेको सिपाही सरह फुरुङ्ग थिएँ ।

गत साउन महिनाको पहिलो सोमवार हुनुपर्छ – म एउटा समाचार छाँटकाँट गर्दै थिएँ कि मेरो मोबाइलमा सन्देशको घण्टी बज्यो । खोली हेर्दा उनको रहेछ – “आज मेहंदी लगाउन न्यू रोड जानु छ । तपाईंको फुर्सद भए पुर्‍याइदिन मिल्छ ?”

कस्तो गजब दिन रहेछ भन्दै मैले हुन्छ नि‘ भनेर सन्देश पठाएँ । “टोलसमाजले कुरा काट्छन् त्यसैले दुर्गा मन्दिर छेउ ११ बजे आउनुहोस् है” भनेर सन्देश पठाइन् । मैले “हुन्छ” मात्र भनें । 

उनी मोटरसाइकलको पछाडि बस्दा मेरो मन फुरुङ्ग थियो । मनले मोटरसाइकल सोझै ककनीतिर मोडौं जस्तो नलागेको हैन तर दिमागले त्यस्तो गर्न मानेन । न्यू रोड पुगेपछि विशालबजारको तल्लो तलामा रहेको शालिमार ज्वेलर्समा लिएर गइन् । साहूसँग कुरा गरेपछि साहूले एउटा सुनको सिक्री दियो अनि उनले सिक्री लगाउँदै ऐना हेरिन् । त्यो सिक्रीमा उनी धपक्कै बलेकी देखें । अझ उनको खुशीको त सीमै थिएन । मोबाइल निकालेर कल गरिन् अनि भनिन्, “थ्यान्क्यू मुकेश । आई लाइक दिस सो मच ।”

त्यसपछि खिचापोखरिको छेउमा उनले हातमा मेहंदी लगाइन् । मेहंदी लगाउन्जेल मैले उनलाई नै हेरें । सेतो टी-सर्ट र नीलो जिनको पाइन्ट अनि घाँटीमा सुनको सिक्री । सुनौलो कपाल पछाडि क्लिपले बाँधेकी अनि आफ्नो हातमा उत्सुकतापूर्वक मेहंदी लगाएको हेर्न मस्त उनीलाई देख्दा म रोमाञ्चित थिएँ ।  मेहंदी लगाइसकेपछि मैले कफिको प्रस्ताव गरें । उनले मेहंदी लगाएको आलो हात देखाउँदै, “यो बिग्रन्छ । फेरि अर्को कुनै दिन नि” भनिन् । ‘मेरै हातले पिलाउँला’ नि भन्ने कल्पेको थिएँ तर भन्न सकिनँ । फर्कँदा उनका हात खुला थिए अनि मलाई भने के के खड्किएको महसूस भइरहेको थियो । “आज पोखरा जानु छ । तीन दिनको एउटा वर्कशप छ ।” भनिन् ।

साँझ पाँच बजे एउटा कालो रङको कार उनको घर अगाडि आएर रोकियो । उनी एउटा सामानको झोला राख्दै कारको पछाडि सिटमा बसिन् र कार मोडियो । अघिल्लो सिटमा भेटघाट रेस्टुरेन्टमा देखेको मुकेश थियो ।  उनले प्राय: गोष्ठी वा फिल्ड ट्रीप हुँदा फेसबुक पेजमा कार्यक्रमका सामूहिक तस्वीर राख्थिन् तर ती तीन दिनमा कुनै कार्यक्रमका नयाँ तस्वीर उनको पेजमा देखिएन ।

करीब तीन हप्ता पहिले एउटा साथी भेटेर पुलचोकको बाटो फर्कंदै थिएँ । दिउँसो १ बजेको समय थियो । एक्कासि उनको याद आयो अनि मोटरसाइकल छेउमा रोकेर मुटु दह्रो पार्दै उनलाई एउटा मेसेज पठाएँ – “म कामले पुल्चोकतिरै छु । आज त हातमा आलो मेहंदी पनि नहोला । कफी पिउन छेक्ने अरू कुनै कुरा छ र ?”

उनले तुरुन्तै जवाफ फर्काइन्, “साझाको अघिल्तिरको भ्याली क्याफे रेस्टुरेन्टमै पाँच मिनेटमै आइपुग्छु ।”

भित्र सेतो सर्ट बाहिर नीलो सुट अनि कालो जुत्तामा टक टक आवाज दिंदै उनी रेस्टुरेन्ट छिर्दा छिर्दै मोबाईलमा “कति फोन गरिराको ? श्रीमती माइत जाँदा मात्र सम्झने मतलबीसँग मलाई कुनै सम्बन्ध राख्नु छैन । मुकेश शट अप !  अब आइन्दा फोन गर्ने हैन नत्र पुलिसकोमा केस गर्दिन्छु ।” भनेको उनको आवाज सुनें ।

म नजिक आइपुग्दा फोन कटिसकेको थियो । मोबाइलमा गरेको कुरा मैले सुनेको छैन होला भन्ने भान पार्न अनि अलि मुस्कुराउँदै कोट खोलेर कुर्सीमा राख्दै उनले भनिन्, “म यता काम गर्छु भन्ने कसरी थाहा पाउनुभयो ?”

मैले भनें, “सरिताले भनेर ।”

“यहाँको पिज्जा कस्तो मीठो छ अर्डर गर्नु न ।”

मैले हाँस्दै भने – “अनि कफी नि ?”

उनले मुसुक्क हाँस्दै भनिन्, “अँ कफी पनि ।”

मार्गेरिटा पिज्जा अनि कफी अर्डर गरेर मैले सोधें, “काम कस्तो भैइरहेको छ नि ?”

उनले भनिन्, “काम अनि पैसा दुवै गज्जब छ । एउटा आईएनजिओमा बालबालिका को न्युट्रीशन सम्बन्धित  ट्रेनिङ सकेको पन्ध्र दिन जति भयो । । ट्रेनिङ गरेका मध्यमबाट एक हप्ता दुई जनाको लागि बैङ्कक जाने भन्ने कुरा छ । मैले पनि आश गरेको छु । हेरौं ।”

मलाई केही कुराहरू थप जान्ने मन थियो । सोधूँ कि नसोधूँ भन्ने दोसाँधमा उभिंदै सोधें, “नरेन्द्र दाइसँग सम्बन्ध त राम्रै छ नि ?”

अलि मलिन हुँदै उनले भनिन्, “ठीकै छ । उसले धेरै दु:ख गरेको छ परिवारको खुशीको लागी । म ऊ प्रति इम्प्याथेटिक त छु तर प्यासनेट छैन । विदेशमा बसे पनि उसको सोच साँघुरै छ । तपाईं र म यसरी सँगै कफी खाएको थाहा पायो भने घरै उचाल्छ । सबै भन्छन् म धेरै स्मार्ट छु र बेटर डिजर्भ गर्छु ।”

गफ गर्दागर्दै कफी, पिज्जा आइपुग्यो । कफीको चुस्की लिंदै फेरि भनिन्, “म खुलेर जिउन चाहन्छु । लाइफमा आफ्नै खुट्टामा उभिएर केही गर्न चाहन्छु तर उसलाई म घरको चूह्लाचौकाबाट निस्केर काम गरेको फिटिक्कै मन परेको छैन । ”

पिज्जाको एक स्लाइस के खाँदै थिइन् उनी कि उनको फोनको घण्टी बज्यो । फोन उठाएर ‘यस पिटर’ भनिन् । उताको कुरा अलि सुनेपछि “यु एन्ड मी ? द्याट्स अ गुड न्युज । वाउ आई एम सो ह्याप्पी, थ्यान्क यु सो मच” भनेर फोन राखिन् ।

पिटर नाम सुन्नासाथ सरिताले भनेको याद आयो, “आजकल किरण एउटा आइएनजिओमा काम गर्ने साउथ अफ्रिकाको पिटर भन्नेसँग हिमचिम छ रे ।”

उनले  कफी कप एक हातमा राखेर “म बैङ्कक जान छानिएछु” भनिन् । कुर्सीमा झुन्ड्याएको कोट लगाएर “थ्यान्क यु फर दिस” भन्दै एक हातमा कफी बोकेर मलाई हल्का अँगालो मार्दै “यु आर सो लकी फर मी, आई एम सो ह्याप्पी टुडे” भन्दै आफ्नो कार्यस्थल फर्किइन् । उनको खुशी भरिएको सुवास नै गजब । म अवाक् हुँदै उनी हिंडेको हेरेको हेर्यै भएँ ।

०००

केही बेर अघि साग केलाइरहेकी मेरी आमा टुप्लुक्क छतमा आइपुग्दै भन्नुभयो “कति टोलाएर बस्छस् ? तेरी माइजूले एक जना पढेलेखेकी, घरव्यवहारमा पनि सिपालु, राम्री केटीको कुरा ल्याकी छिन् । अब बिहे गर्न केटी हेर्न जाने हो । यसरी हुन्न अब । ढिला भैइसक्यो । आघुम त तेत्तिस पो लाग्छस् त ।”

“अहिले पख्नु न । आफ्नो खुट्टामा त उभिन दिनू । अहिले बिहे गर्दिनँ के आमा” भन्दै यसो सोच्छु – “उनीले मेरो निम्ति कहिले मेहंदी लगाउलिन् ?” sahityapost