कथाः भुन्टीको अवसान


दिनभरीको स्कूले काम सकाएर भर्खरै घर फर्किएकी छे सुनिता । दिमागभरि स्कूलका समस्याहरू सलबलाउँछन् । केटाकेटीका विषयगत कुरा र शिक्षणका कुराहरू त सामान्य भइहाले । अनुशासन र व्यवहारका कुराहरू पटक्कै सन्तोषजनक छैनन् । प्राय बालबालिकाका घरमै समस्या छन् । बाबुआमाको माया एकैसाथ पाउने भाग्यमानी विद्यार्थी बिरलै छन् । घर चलाउन, छोराछोरी पढाउन बाबुआमामध्ये एकले विदेश जानैपर्ने बाध्यता त छँदैछ । बाबुआमा भएकाले पनि राम्रो स्याहारसुसार र संस्कार पाउन सकेका छैनन् । छोराछोरीका अगाडि जथाभावी बोल्नुहुन्न, रक्सी चुरोट पिउनु हुन्न, उनीहरूलाई कुटपिट गर्नुहुन्न भन्ने सामान्य ज्ञानसम्म अभिभावकमा नदेख्दा उसलाई उदेक लाग्छ । यस्तै वातावरण नै हो बालबालिकामा मनोवैज्ञानिक असर पार्ने । त्यसमाथि उनीहरूमा हुने हिंसाले गर्दा धेरै विद्यार्थीहरू पढाइमा खासै रुचि पनि राख्दैनन् । घरमा कुटेर थिलथिलो पारिएका केटाकेटीलाई माया गरेर सुधार्छु भन्दा कताकता आफू एक्लो वृहस्पति झुटो भनैझैं आभास भइरहेको छ उसलाई ।
* * * *
“खुकुरी प्रहार गरी बाबुद्वारा एकैसाथ छोराछोरीको हत्या !”
मोबाइल हातमा लिएर समाचार हेर्न मात्र के लागेकी थिई, हेडलाइनले सुनिताको ध्यानाकर्षण गरिहाल्यो । असंख्य उतारचढाव झेल्दै जीवनका यो कालखण्डमा आइपुग्दा पनि सुनिताले उस्तै समाचार पढ्नु परेको छ । यस्ता घटना उहिले त धेरै नै घट्थे । यो सत्य हो कि रिसको आवेगमा मानिसले आफ्नो वरिपरि केही देख्दैन, कोही चिन्दैन । हिंसा गर्ने बानी बसेपछि मानिस पशुसरी बनिदिन्छ ।
सुनिताले आफू सानै छँदा आफ्नै साथीको मृत्यु प्रत्यक्ष देखेकी हो । बालककालमा देखेको दृश्य उसको मानसपटलमा अझै ताजै छ । झन् आजको समाचार पढेपछि उसका आँखाअघि दशकौं अघि दलिनमा झुन्डिएको भुन्टीको लाश झलझली नाच्न थाल्छ । अनि ऊ अतीतको पोखरीमा पौडी खेल्न पुग्छे ।
* * * *
करीब तीन दशक अघिको काठमाडौं । अहिले जस्तो घरहरूको भीडभाडभन्दा बिलकुल फरक । केही परको दूरीमा फाट्टफुट्ट घरहरू तर मनहरू असाध्यै नजिक । सडक वरपर हरियाली, खुला मैदान र सफा आकाश । सबैको घरकै करेसाबारीले पनि काम गर्ने ऊर्जा दिएजस्तै सबै जाँगरिला । सबै उत्सुक अनि सबको मुहारमा खुशीयाली । सडकको चौडा साँघुरो भए पनि मान्छेहरूको मन फराकिलो । राजधानी वरिपरि पनि टायलको छानो भएका माटाका सानाठूला कच्चा घरहरू तर सम्बन्ध चाहिं पक्का । एक चोटि जोडिएपछि टुट्दै नटुट्ने चाहे रगतको नाता होस् या मनको । सबैलाई सबै चाहिने, जन्तीमा होस् या मलामीमा । हाँसोमा होस् या रोदनमा । यस्तो समाजमा पनि यदाकदा नमीठा घटना घटिदिन्छन् । कति कुरा मानिसका नियन्त्रणमा हुन्नन् भनेको यही कारणले हो कि ?
“सुन्नु भो भन्या, भुन्टी त झुन्डेर मरी रे !” सुनिताकी आमा राधाले कमलाकान्तातिर हेरेर चिच्याइन् ।
“कसरी ? के भो हँ ?” सुनिताका बाबा कमलाकान्ताले आत्तिंदै सोधे । बाबा त्यसरी आत्तिएको सम्भवतः सुनिताले पहिलो पटक देखेकी हो ।
“बुइँगलमा पासो लगाएर झुण्डेकी छ रे । गाउँभरिका मान्छे त्यतै जाँदै छन् । हिंड्नु न, हामी पनि जाऔं हेर्न । कठै बिचरी !” राधा एक्लै बर्बराउँदै अघि लागिन् । कामेको उनको स्वरमा त्रास र विस्मय मिसिएको थियो । कमलाकान्ता पनि लखरलखर पछि लागे । पाइलाहरूले साथ नदिएजस्तो लर्याङबर्याङ थियो उनको हिंडाइ । भर्खर सात वर्ष लागेकी सानी बहिनी सलोनी ओछ्यानमै थिई । निद्राबाट बिउँझिनासाथ यस्तो कुरा सुनेकी थिई जुन कुरा अर्थ्याउन ऊ सक्षम भइसकेकी थिइन । बाह्र वर्षकी सुनिता भने कुरा सुन्ने बित्तिकै घ्वाँघ्वाँ डाँको हालेर रुन थाली । उसले बुझेको कुरा यत्ति थियो कि उसकी साथी जो हिजो साँझसम्म पनि सँगै लुकामारी खेल्दै थिई ऊ त आज यो संसारमै छैन । त्योभन्दा बढी उसले केही बुझ्न सकिन । आँखा आँसुले टालिएर देख्नै नसक्ने भए पनि ऊ आफ्ना बाबाको पदचाप पछ्याउँदै हिंड्न थाली । केही कुरा नबुझे पनि आफू घरमा एक्लै हुने डरले सलोनी पनि दिदीको पछि पछि लागी ।
उनीहरू रस्साकस्सीमै घटनास्थलमा पुगे । त्यहाँ पुगेका सबैका मुटुको धड्कन उत्तिकै ड्वाङड्वाङ गरेको हुँदो हो । सास फुलेको हुँदो हो । उति सारो अप्रिय घटना नघट्ने गाउँ थियो त्यो । सबैले सबैलाई राम्ररी चिनेका हुन्थे । सामाजिक सद्भाव पनि यति बलियो थियो कि सबैलाई उत्तिकै सम्मानले हेर्ने, परेको बेला बलबुताले भ्याएसम्म सहयोग गर्ने प्रचलन थियो । त्यसैले पनि भर्खर तेह्र वर्षकी बालिकाको आत्महत्याले गाउँमा सनसनी मच्चाउनु स्वाभाविक थियो । घटनाको खबर कानमा पर्नासाथ सबै गाउँले हस्याङफस्याङ गर्दै भुन्टीको घरको आँगनमा जम्मा भएका थिए । तीजको छेको, बारीभरी काँक्राका लहराले झाल हालेका थिए । प्रत्येक झालमुनि काँक्राहरूले चियाइरहेका जस्ता देखिन्थे । बोटहरूमा थामिनसक्नु गरेर लटरम्म भटमास फलेका थिए । मकैका ढोडहरू ओखल्ने फुर्सद भुन्टीका बाआमालाई थिएन । सुकेका ढोडहरू यत्रतत्र छरिएर बाटो नै अवरुद्ध पारेजस्तो देखिन्थ्यो । चाडपर्वको रन्कोले एकदिन अघिसम्म घरभरी पाहुनापासाहरूको भीड र रमझम थियो । अघिल्लो दिन बिहान मात्र आफ्ना चेलीबेटीलाई बिदाइ गरेका रे उनीहरूले ।
एक त कहालीलाग्दो घटना, अर्को, एकै पटक गाउँलेहरूको थामिनसक्नुको भीड । त्यसमाथि अघिल्लो रातको मुसलधारे वर्षाले गर्दा उनको आँगन, बारी सब चिप्लो न चिप्लो भएको थियो । अनि त के चाहियो र ? करेसाका तरकारी जथाभावी फाँड्दै सबै भुन्टीका घरअगाडि जम्मा भए ।
त्यसरी एकाबिहानै गाउँले जम्मा हुँदा भुन्टीकी आमा घरी आफ्नो कपाल आफैं लुछ्दै घरी छाती पिट्दै रुँदै थिइन् । कोही उनीसँगै रुन लागे, कोही सम्झाउन । भुन्टीका बा भने पिंढीको एउटा कुनामा गुजुक्क परेर बसेका थिए । आँखामा आँसु थिएन तर अनुहार अँध्यारो थियो । यस्तैमा कामलाकान्ताले सलोनीको हात समातेर माथि बुइँगलमा पुर्याए । सुनिता पनि खुर्र दौडेर माथि पुगी बाबाको छेउ । राधा पनि रुँदै गरेकी भुन्टीकी आमालाई छोडेर लोग्नेको पछि लागिन् जहाँ देखिएको थियो भुन्टी झुन्डिएको बीभत्स दृश्य !
साँघुरो काठको भर्याङबाट माथि उक्लिनासाथ उसको शरीर झुन्डिएको रहेछ । मुन्टो देब्रेतिर लत्रिएको थियो भने मुहार भर्याङतिरै फर्किएको थियो । दलिनको छेउ खामोमा नाइलनको डोरीमा झुन्डिएकी भुन्टीको खुट्टा तुन्द्रुङ्ग झुन्डिएको थिएन जसरी आम मान्छे झुन्डिंदा हुने गर्दछ । बरु घुँडा दोब्रिएर भुइँमा लतारिएझैं भएको थियो । निधार र पाखुरामा नीलडामहरू थिए । अन्तिम सास जाँदा दाह्रा किटेजस्तै लाग्नेगरी तलमाथिकै दाँतहरू जोडिएका र मुख भने खुल्लै थियो । यसैले उसको मुहार भयानक देखिएको थियो । उसले साँझ खेल्दा लगाएको हरियो कुर्ताको देब्रेपट्टिको बाहुला च्यातिएको रहेछ । सुरुवालको इजार पनि लामोगरी झुन्डिएको परैबाट देखिन्थ्यो । अघिल्लो साँझ खेल्दै गर्दा भुन्टीले कपाल रातो रबरब्यान्डले बाँधेकी थिई । त्यो रबरब्यान्ड पनि कपाल भुतालिए जस्तो गरी फुस्किनै आँटेको थियो ।
यो दृश्य देखेपछि कमलाकान्ता केही बोल्नै सकेनन् । राधाका पनि आँखा रसाए । ओंठहरू काम्न थाले । छोरीहरू भने बाबाकै मुखमा टुलुटुलु हेरिरहेका थिए । केही नबोले पनि एक नजर आमालाई पुलुक्क हेरे । एक हूल छिमेकी त्यो दृश्य हेर्न भर्याङमा तँछाडमछाड गर्दै थिए । एकछिनको मुखामुखपछि कमलाकान्ताले छोरीहरूलाई “अब तल जाऔैं हिंड । यहाँ धेरै भीड भयो ।” भनेर सिंढी झर्न लागे ।
न राधाले केही भन्न सकिन् न नै कमलाकान्ताले । ओंठै बन्द हुने गरी पट्टी लगाइदिए जस्तै व्यवहार देखियो उनीहरूको । दुवैले लामो सास फेरेको मात्र सुनियो । एकछिन पिंढीमा बसेर छरछिमेकसँग भलाकुसारी भयो । सबैले आ–आफ्नै तर्क दिंदै थिए । घटना कसरी घट्यो भनेर भुन्टीका दाजुभाइसँग धेरैले केरकार गर्दै थिए । उनीहरूले केही थाहा नै नभएको जवाफ दिए ।
* * * *
भुन्टी दुई दाजु र दुई भाइमाथिकी एक्ली छोरी थिई । एक्ली हँदा अरूले धेरै माया र लाडप्यार पाउँछन् तर ठीक विपरीत भुन्टीको काँधमा चाहिं घरको सारा कामधन्दा आइपर्थ्यो । छोरालाई काम गराउने त्यस घरको संस्कार थिएन । भर्खर तेह्र वर्षमा टेक्दै गरेकी भुन्टीलाई के थाहा घर र जिम्मेवारीका कुरा ? खेल्नेकुद्ने उमेर न हो, घरको काम सकिनासाथ खेल्न भनेर दौडीहाल्थी । आमालाई नसघाएको आरोपमा उसले बाआमा दुवैबाट प्रायः सजाय पाउँथी । प्रशस्त खेतबारी भएकाले उसले घरभित्र र बाहिरका सबै काम गर्नुपर्थ्यो । गाईवस्तुका लागि घाँस काट्नेदेखि दूध दुहुने, भात पकाउने, भाँडा माझ्ने काम उसले होश सम्हालेदेखि नै गरेकी हो । त्यसैले ऊ उमेरभन्दा अलि परिपक्व नै देखिन्थी ।
भुन्टीका बाआमा दुवैजना निरक्षर थिए । छोरीलाई पढाउन हुन्न भन्ने सोच त थियो नै । शिक्षाभन्दा श्रमलाई प्राथमिकता दिने त्यति बेलाको समाजमा छोरीलाई पनि पढाउनु पर्छ भन्ने लहर बल्ल जाग्दै थियो । चारैतिरबाट परेको त्यही दबाब र लहरका बीच छोरीलाई नजिकैको सरकारी विद्यालयमा भर्ना गरियो । छोरीले पढोस् भन्ने उद्देश्यले होइन समाजको आँखामा छारो हाल्न । ताकि छोरीलाई स्कूल किन नहालेको भनेर कसैले प्रश्न उठाउन नसकोस् ।
यसका बाबजुद हुने बिरुवाको चिल्लो पात भनेझैं भुन्टीले पढाइमा तीव्र प्रगति गर्दै गई । ऊ तीक्ष्ण दिमाग भएकी केटी थिई । घरको सब काम भ्याएरै पनि ऊ कक्षामा सबैभन्दा अगाडि थिई । उसका कुनै पनि दाजुभाइलाई भने पढाइमा रुचि थिएन । बाआमाको करकापले उनीहरू विद्यालय जान्थे । भुन्टीका दुई दाजु सरकारी स्कूलमा पढे पनि भाइहरू भर्खरै खुलेको निजी स्कूलमा पढ्थे । फट्याइँ गर्ने, बीचैमा भाग्ने आदिमा नाम कमाएका थिए उनीहरूले ।
सुनिता र सलोनी भने निजी विद्यालयमै पढे । राधा साक्षर मात्र भए पनि कमालाकान्त शिक्षित थिए । भुन्टी घरधन्दा सकेर सुनितासँग खेल्न प्रायः जसो त्यहीं आउँथी । फरक फरक स्कूलमा पढ्ने भएकाले स्कूलमा नबुझेका कुरा सुनितालाई सोध्थी । आफूले जानेका नयाँ कुरा भुन्टीलाई सिकाउँथी । उमेरले सुनिताभन्दा एक वर्ष ठूली भएकीले पढाइबाहेकका धेरै कुरा त उसले नै सुनितालाई सिकाउँथी । सानी बहिनी सलोनीलाई पनि औधी माया गर्थी ।
“आज बाले मलाई गालामा अनि ढाडमा हान्नुभयो । रोएँ भने झन् पिट्नुहुन्छ भनेर नरोई बसें तर अहिलेसम्म कस्तो दुखीरा’छ ।” ऊ सुनितालाई पिटाइका डाम देखाउँथी ।
“आज आमाले स्कूल नजा भन्नुभयो , मैले जान्छु भन्दा उहाँले कपाल भुत्ल्याउनु भयो । अनि म रुँदै स्कूल गएँ । भात पनि खाएकी छैन ।” ऊ निर्दोष भावमा आफ्ना व्यथा सुनितालाई सुनाउँथी ।
कहिले काम नगरेको निहुँ त कहिले तरकारी नमीठो भएको । त्यति मात्र नभई बा र आमाको झगडा पर्दा पनि निशाना भुन्टी नै हुँदी रहिछ । आफमूाथि अत्याचार भएको उसलाई किञ्चित ज्ञान थिएन । सुनिताका आमाबाबा छक्क पर्थे त्यो नाबालिकामाथि भएको हिंसा र अत्याचार देखेर । भुन्टीका बा एक प्रकारले साह्रै जिद्दी, एकोहोरो र कसैलाई नसुन्ने खालका मानिस थिए । एकदिन छोरी कुट्दै गर्दा छिमेकीले रोक्ने प्रयास गरेछन्, उनलाई नै तथानाम गाली गरेर पठाइदिएछन् । त्यस दिनदेखि छिमेकीसँग पानी बाराबार भयो रे !
यसरी भुन्टीको परिवारको नालीबेली थाहा पाएकाले सुनिताका आमाबाबालाई यो घटना आत्महत्या जस्तो पटक्कै लागेन । तर घटनास्थलमै बसेर यो हत्या नै हो भन्ने अवस्था पनि थिएन । मनभरी तुष बोकेर एउटी नाबालिकाको मृत्युको मूक साक्षी बनेर उनीहरू फर्कनु पर्यो । दिनभरी जीउ लुलो भइदियो । रातभरी निद्रा लाग्ने अवस्था रहेन । सुनिता र सलोनी त्यो दृश्यले भयभीत त थिए नै ।
अघिल्लो साँझसम्म रमाईरमाई आफ्नै आँगनमा लुकामारी खेल्दै गरेकी साथीलाई गुमाउनु पर्दा पीडाबोध भएको थियो सुनितालाई । त्रास पनि फैलिएको थियो उसको मनभरी । झुन्डिएको उसको साथीको मृत शरीर आफ्नै आखाँअगाडि देख्नु पर्दा सुनिताको मनमा परेको छाप शब्दमा बयान गर्न सकिने खालको पनि छैन । कहिले खितखित हाँसो त कहिले नचाहिंदो चकचक, कहिले खेल त कहिले पढाइ, उनीहरूले आफ्नो बालापनको भरपूर मनोरञ्जन लिएका थिए एकअर्कासँग । सोच उस्तै, उमेर उस्तै, इच्छा र आकाङ्क्षा पनि उस्तै । मात्र पारिवारिक पृष्ठभूमि फरक भइदिनाले भुन्टीले अल्पायुमै जीवन गुमाउनु पर्यो । जिन्दगीको यात्रा शुरू हुन नपाउँदै टुङ्गिन पुग्यो ।
ऊ धेरैजसो सुनितासँग भन्ने गर्थी, “मेरो बाआमा र तिम्रो बाबाआमामा कति धेरै फरक हगि ? मेरो बाआमालाई म स्कूल गएको मन पर्दैन । तिम्रो बाबाआमा चाहिं तिमीले स्कूल गएको मन पराउनुहुन्छ । तिम्रो आमाबाबा नै मेरो पनि आमाबाबा भइदिए हुने नि है ?” कलिलो मनमस्तिष्कले पनि कति छिटै मानिसहरूबीच तुलना गर्न भ्याउने रहेछ ।
उनीहरूको वार्तालाप टाढैबाट सुनिरहेका कमलाकान्तालाई एकदिन भतभती पोलेको थियो । भुन्टीको नरम मिजास र आनीबानीले उनको मन पहिल्यै पगालिसकेको थियो । झन् भुन्टीको यो मायालाग्दो कुरा सुनेर उनले आफूलाई रोक्न सकेनन् र नजिकै गएर टाउकोमा स्नेहपूर्वक हात राखेर भने,“भुन्टी, तिमी पनि सुनिता र सलोनी जस्तै मेरो छोरी नै हौ नि । आजबाट मेरा तीन वटी छोरी भए । तिमी चाहिं मेरी जेठी छोरी ल ।”
यो कुरा सुनेर भुन्टी फुरुक्क परेकी थिई । पहिले पहिले सुनिताका बाबाआमालाई सम्बोधन गर्न हिचकिचाए पनि त्यस पश्चात् सुनिता र सलोनीले जस्तै उहाँहरूलाई खुलेर आमाबाबा भन्न थालेकी थिई ।
आफैंले नजन्माए पनि छोरी जत्तिकै स्नेह लुटाएका कमलाकान्तालाई भुन्टीका बारेमा जति सोच्यो त्यति ग्लानि हुन्थ्यो । मनले छोरी मान्नु र साँच्चिकै छोरी हुनुमा धेरै फरक हुने रहेछ । आफ्नै छोरीमाथि यस्तो परेको भए उनीहरूले न्यायको लागि आकाशपाताल एक गर्ने थिए तर भुन्टी त मानिएकी छोरी मात्र थिई । त्यसैले उसको न्यायको लागप उनीहरूले चुक्क आवाजसम्म उठाउने अवस्था रहेन ।
धेरै दिनसम्म गाउँमा यो विषयमा बहस चल्यो । कसले मार्यो भने किटेर भन्न नसके पनि भिन्न व्यक्तिबाट भिन्न भिन्न प्रतिक्रिया आउँथे । पुलिसले घरका सबैलाई पक्राउ गरेर बयान नलिएको पनि होइन तर सबै बेकार भए । भुन्टीका बा गिरफ्तार हुँदा पूरै गाउँमा सन्नाटा छाएको थियो । अपराध स्विकार्लान् भन्ने सबको अपेक्षा विपरीत उनी त झन् छिटै रिहा भए ।
घटनाको प्रकृति हेर्दा कुनै पनि दृष्टिकोणबाट त्यो आत्महत्या थिएन, हत्या नै थियो । रहस्यमयी घटना भएकाले गाउँभरिकाले खासखुस कुरा त गरिरहन्थे । बाउले नै मारेर झुन्ड्याएको हो भनेर एकआपसमा ठोकुवा पनि गर्थे । पुलिसलाई पैसा खुवाएकोले बच्न सफल भएको कुरा पनि व्याप्त थियो त्यो समाजमा । खुलेर कुरा गर्न कताकता एकप्रकारको सामाजिक डर सबैलाई थियो । अहिलेजस्तो सामाजिक सञ्जालको जमाना हुँदो हो त त्यो घटनाको न्यायनिसाफ भीडले नै गरिसक्ने थियो । रातारात भिडियो भाइरल गराएर पुलिसप्रशासनलाई पनि दबाब दिइसक्ने थियो । जथाभावी कमेन्ट गरेर मान्छेलाई मर्नु न बाँच्नु बनाउने निश्चित थियो तर तीन दशक अघिको समाज नितान्त फरक थियो । मनको कुरा मुखमा ल्याउन सजिलो थिएन । एक अर्कामाथि औंला उठाउन दश पटक सोच्नुपर्ने अवस्था थियो । प्रमाणसहित कोही गिरफ्तार भयो भने छुट्टै कुरा नत्र त्यसै अरूमाथि आक्षेप लगाउन आज जस्तो सजिलो चाहिं थिएन ।
* * * *
केही वर्ष बिते । बिस्तारै गाउँलेले यो घटना बिर्सिए । भुन्टीका बाआमा पहिले जस्तै ठाडो शिर र चौडा छाती गरेर गर्वकासाथ हिंड्न थालेका थिए । सुनिताको परिवारसँग भने अघोषित रूपमै दुश्मनी पलाएको थियो । जानीजानी दूरी बढाइएकोले कुनै सम्पर्क थिएन । तर यसैबीच घटनाक्रमले अर्कै मोड लिएछ । यताउताका कुरा सुनाउने सेतु बनेकी भुन्टी नै जीवित नरहेपछि उनीहरूले वास्तविकता अलिपछि मात्र थाहा पाए ।
घटनाको तीन वर्षपछि पुरानो फाइल खोलिएको रहेछ । इलाका प्रहरी कार्यालयमा सरुवा भएर आएका नयाँ इन्स्पेक्टरले भुन्टीका बालाई अपराध कबुल गर्न लगाई छाडेछन् । धन्न ! उनी उम्कन पाएनन् । कानूनी राज्यको आभास दिनेगरी उनले छोरीको हत्याको सजाय पाइछाडे । पुलिसमा उनले दिएको घटनाको विवरणका अनुसार उनले तीन वर्षअघि छोरी भुन्टीलाइ यसरी मारेका रहेछन् ।
घटनाको दिन अबेर साँझसम्म छिमेकमा खेलेर घर ढिलो आएकी भुन्टीलाई देखेपछि सधैंझैं उनी रिसले आगो भएछन् । तीज, पञ्चमी सकाएर अघिल्लो दिन मात्र उनका दिदीबहिनीहरू बिदाबारी भएका थिए । पाहुनाहरू फर्किएपछि काम त झन् बढ्ने नै भो । चाडबाडले गर्दा बारीका ढोडहरू ओखल्ने मौका मिलेको थिएन । त्यसैले त्यो साँझ भुन्टीका बाबाआमा बारीमा भटमास र ढोड ओखल्नमै व्यस्त भए । खाना बनाउने कोही नभएपछि निकै बेर जोडले भुन्टीलाई बोलाउँदा पनि उसले सुनिन । बालसुलभ खेलमा मस्त भुन्टीले समय र घरको काम पनि भुलेकी थिई ।
अबेर साँझ घर पुग्दा बाको रिसको पारो तातेको देखेपछि मात्र ऊ झसङ्ग भएकी थिई । हाँसीखुसी घर फर्केकी छोरीलाई उनले झम्टिंदै “कहाँ गएकी थिइस् यतिबेलासम्म ?” भनेर ठाडो प्रश्न गर्दा कुटाई खाने डरले भुन्टी बोल्नै सकिनछे । त्यहि रिसले चुर भएका उनले भुन्टीलाई जोडले गालामा दुई झापड हानेछन् । ऊ रन्थनिएर लडिछ । जति बेला पनि सिंहको जस्तै हुङ्कार गर्ने क्रोधी स्वभावका भुन्टीका बासँग अथाहा पैतृक सम्पत्ति थियो । तर पैसा जोगाउन सकेसम्म खेताला लगाउँदैनथे उनी । लगाउनै परे पनि उनका खेतबारीको काममा खेताला बन्न कमैले मन्जुरी दिन्थे उनको रुष्ट स्वभावले गर्दा । यसको प्रत्यक्ष असर उनका केटाकेटीमा परेको थियो ।
क्रोध अझै नथामिएपछि उनले भुइँमा पछारिएकी भुन्टीको पाखुरामा जुरुक्क तानेछन् । तान्दा उसको बाहुला पनि च्यातिएको थियो रे । कपाल बाँधेको ठाउँमा च्याप्प समातेर झ्याङगलझुंगल पार्दै भित्तामा ठोक्काउँदा कपालको रबर फुस्किनुको साथै निधारमा नीलडामहरू बसेका रहेछन् । त्यसलगत्तै बेहोस भएकी छोरीलाई त्यत्तिकै छोडेर हिंडेका रहेछन् उनी । मार्ने उद्देश्य नभए पनि आफूले रिसको झोंकमा आँखै नदेखेको उनको तर्क रहेछ । बाहिर ठूलो आवाज सहितको मुसलधारे पानी परिरहेकाले भुन्टीको चिच्च्याहट र क्रन्दन आमा र दाजुभाइले पनि सुन्न नसकेका रहेछन् । धेरैबेरसम्म नचलमलाएपछि नाडी छाम्दा चालचुल नै भएनछ । अनि तुरुन्तै छोरीको लाश बोकेर उनले बुइँगलमा पुराएका रहेछन् । आफूबाट जघन्य अपराध भइसकेको बोध हुनासाथ त्यसलाई आत्महत्याको रूप दिन प्रयास गर्दैगर्दा आमाले देखिहालिछन् ।
“कसैलाई भनिस् भने तँलाई पनि मारिदिन्छु” भन्दै समाजसामु आफ्नो अपराध खुल्ने डरले उनले स्वास्नीलाई पनि धम्काएछन् । धेरै पहिलेदेखि लोग्नेको रौद्र रूप देखिसकेकी, त्यसमाथि आफूले पनि बेला बेलामा छोरीलाई कुटपिट गर्ने गरेको र सबैभन्दा महत्त्वपूर्ण चाहिं लोग्ने जेल परेपछि आफू र छोराहरूलाई समाजले हेर्ने दृष्टिकोण सम्झेर पनि चुप लाग्नै पर्ने उनको बाध्यता बन्न पुग्यो ।
धेरै बेरको बहसपछि दुवै मिलेर छोरीको लाशलाई नाइलनको डोरीले बाँधेर छेउखामोमा झुन्ड्याएका रहेछन् । बुइँगलमा भेटिएको नाइलनको डोरी छोटो भएकाले माझको दलिनमा झुन्ड्याउन सम्भव भएन रे । त्यसैले छेउखामोमा झुन्ड्याउँदा घुँडा दोब्रिएर खुट्टा पनि भुइँमा लत्रिएको रहेछ । त्यसपछि डरैडरले तल छिंडीमै छर्लङ्ग रात बिताएछन् उनीहरूले । भोलिपल्ट बिहानै जेठो छोरोले बुइँगल चढ्दा पो बहिनीको लाश देखेर होहल्ला गरेको रहेछ ।
यसरी आफ्नो अपराध स्वीकारेर उनी धेरैबेर रोएछन् । छोरी बाँचुन्जेल आफूले उसको कदर नगरेको तर उसलाई गुमाएपछि भने पलपल पश्चात्ताप भएको अभिव्यक्ति पुलिसमा दिएका रहेछन् । परिवारलाई उसले सानै उमेरमा दिएको योगदान स्मरणयोग्य त थियो नै । अब जति रोईकराई गरे पनि न त उनको इज्जत फिर्ता हुने थियो न त भुन्टी । पाप एकदिन आखिर धुरीबाट कराई छाड्यो । उनले आजीवन काराबासको सजाय पाए । लोग्नेलाई अपराधमा सघाएबापत भुन्टीकी आमाले पनि दुई वर्षको जेल सजाय पाइन् । छोराछोरीले जीवनभर बाबुको वात्सल्य नपाउने भए । आमाबाबुको गलत आचरण र अशिक्षाले गर्दा उनीहरूको भविष्य अन्धकार भयो । एउटी निर्दोष, प्रतिभाशाली छोरी भुन्टीको अवसान चाहिं सबैभन्दा अपूरणीय क्षति बन्न पुग्यो ।
* * * *
यसैले सुनिता चाहन्छे कुनै बालबालिकाले पनि भुन्टी जस्तो हिंसाको शिकार हुनु नपरोस् । तर आज पर्यन्त पनि बालबालिकामाथि हुने शारीरिक उत्पीडनका कुरा सुन्नु पर्दा उसको मनमस्तिष्कमा खाली यही कुराको पुनरावृत्ति भइरहन्छ । -sahityapost








प्रतिकृया दिनुहोस्